अदालतका कर्मचारीले बुझेका थिए चिया पसलमा घुस
घुससहित समातिएका जिल्ला अदालत कपिलवस्तुका तहसिलदार सन्तोषकुमार मिश्र र कम्प्युटर अपरेटर विकाश पाण्डेयविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालत काठमाडौंमा उनीहरुविरुद्ध आज मुद्दा दर्ता गरेको जनाएको छ । आयोगको बुटवलबाट खटिएको टोलीले गत कात्तिक २७ गते तौलिहवा गौढीचोकस्थित एक चिया पसलबाट उनीहरुलाई २० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको क्रममा बेरितको बण्डा मुचुल्का बदर गरी पुनः बण्डा मुचुल्का गरिदिने तथा तारेख दिने भन्दै सेवाग्राहीसँग घुस लिएको पाइएको अख्तियारको ठहर छ । मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम २० हजार रुपैयाँ बिगो कायम गरी कैद र जरिवाना मागदाबी गरिएको छ ।
टिप्पणीहरू