कागजात नबुझाएपछि अख्तियारमा बयान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरण नेपालका महानिर्देशक प्रदीप अधिकारीसँग बयान लिएको छ । आयोगले मगाएको कागजात तोकिएको समयमा उपलब्ध नगराएपछि बयानका लागि अधिकारीलाई आज बिहान १० बजे बयानको निम्ति आयोगको मुख्यालय टंगालमा बोलाएको बताइन्छ ।
अधिकारीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको अनियमितता सम्बन्धमा अख्तियारले पटक पटक पत्राचार गर्दै मागेका कागजात तथा फाइल उपलब्ध नगराएपछि बयान लिएको स्रोतको दाबी छ । यसअघि अस्ति प्राधिकरणको सिनामंगलस्थित नयाँ प्रधान कार्यालयबाट आयोगको टोलीले उक्त विमानस्थल निर्माणसँग सम्बन्धित कागजात लिएर गएको थियो ।
शुक्रबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको परामर्श सेवा र ओएलएसमा परेको छिन्ने डाँडा कटानसँग सम्बन्धित फाइल अख्तियारमा लगिएको बुझिएको छ । त्यसपछि हालका महानिर्देशक एवम् पोखरा विमानस्थल निर्माणका तत्कालीन आयोजना प्रमुख अधिकारीलाई बयानका लागि आज बिहान बोलाइएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा १० अर्ब रुपैयाँभन्दा बढी भ्रष्टाचार भएको आरोप लाग्दै आएको छ । विशेष अदालतले वायुसेवा निगमको वाइडबडी विमान खरिदमा भ्रष्टाचार भएको ठहर गरेपछि प्राधिकरणमा भएको निर्माण सम्बन्धी उक्त भ्रष्टाचारलाई हालसम्मकै ठूलो भन्न थालिएको छ ।
अधिकारीले २०६४ सालमा सिभिल इन्जिनियरबाट नागरिक उडड्यन प्राधिकरणको सातौं तहमा सेवा थालेका हुन् । अर्बौंको सम्पत्ति जोडेको आरोप लाग्दै आएका उनी तत्कालीन समयमा आधा दर्जन १२ तहका वरिष्ठ कर्मचारीहरु हुँदाहुँदै महानिर्देशक बन्न सफल भएका थिए । उनी तत्कालीन पर्यटनमन्त्री प्रेम आलेमगरको पालामा महानिर्देशक नियुक्त भएका हुन् ।
अधिकारीले पोखरा विमानस्थलका साथै भैरहवास्थित गौतम बुद्ध, भक्तपुरको नलिन्चोक हेलिप्याड, सिनामंगलमा बनेको प्राधिकरणको नयाँ भवन, नेपालगञ्ज र विराटनगर विमानस्थलमा बन्दै गरको नयाँ टर्मिनल भवनलगायत आयोजनामा भ्रष्टाचार गरेको आरोप खेप्दै आएका छन् । तीमध्ये केही आरोपको प्रमाणसहित अख्तियारमा उजुरी हालेपछि आवश्यक अनुसन्धान भइरहेको छ । अधिकारीसँग गत चैत र बैशाखमा नियमित रुपमा बयान लिइएको थियो ।
टिप्पणीहरू