राजधानीका अधिकांश मःमः पसल दुर्गन्धित
राजधानीमा सञ्चालित मःमः पसलको भान्छा र व्यक्तिगत सरसफाई तथा स्वच्छतामा समस्या देखिएको छ । काठमाडौं महानगरपालिकाले गरेको अनुगमनमा अधिकांश मःमः पसल दुर्गन्धित पाइएको हो ।
महानगर क्षेत्रभित्र सञ्चालनमा रहेका ती पसलमा सरसफाईको कमी रहेको बताइन्छ । महानगरको फुड टेक्नोलोजिष्ट, माइक्रोबायोलोजिष्टसहितको टोलीले कात्तिक २९ गतेदेखि हालसम्म ८५ वटा मःमः पसल तथा रेस्टुरेन्टको अनुगमन गरेकोमा ७५ वटा अर्थात् ८८ दशमलब २४ प्रतिशतमा सरसफाई मुख्य समस्या पाइएको छ ।
यस्तै, ६६ वटामा भान्छा र कार्यस्थलको सरसफाईमा कमजोरी र १८ वटा व्यवसाय दर्ता नगरिएको भेटिएको हो । सुन्धारा, न्युरोड, मखन, त्यौड, कलमपोखरी, महाराजगञ्ज, पुरानो बानेश्वर, टंगाल, हाँडीगाउँ, त्रिपुरेश्वर, कोटेश्वर, कलंकी, ठमेल क्षेत्रका मःमः पसल, होटल तथा रेस्टुरेन्टको अनुगमन गरिएको थियो ।
उनीहरुले दैनिक रुपमा प्रयोग गर्ने एप्रोनसमेत फोहोर भेटिएको छ । त्यस्तै, मसला राख्ने भाँडा पनि फोहोर पाइयो भने भान्छाको भुँईमा पानी जमेर फोहोर भएको तथा डस्टबिनको उचित प्रयोग नभएको अनुगमनको क्रममा पाइएको छ ।
पकाएका खानेकुरा खुला राख्ने, मांशाहारी र शाकाहारीका भोजन सँगसँगै भण्डारण गर्ने, पकाएको र नपकाएका खानेकुरा पनि सँगै राख्ने, किराको समस्या समाधान गर्न आफैंले रसायनको प्रयोग गर्ने गरेको महानगरले जनाएको छ ।
मःमः राख्ने फ्रिजको पनि लामो समयदेखि सफाई नगर्रिको, सबै सामान कोचेर राख्ने र त्यहाँ राखिएको अचार र मसलामा लेबल नराखिएको अनुगमनको क्रममा पाइएको छ । महानगरका अनुसार मसला राख्ने भाँडा, मःमः बनाउने टेबल र मेशिन निकै फोहोर पाययो ।
भाँडा माझ्ने ठाउँ झन् दूषित र व्यक्तिगत सामान भान्छामा राखिने गरेको महानगरको भनाइ छ । यस्तै, अधिकांश मःमः पसलमा मूल्यसूची पाइएन । अनुगमनकै क्रममा मःम पसल तथा व्यवसायीलाई देखिएका समस्या समाधानका लागि निर्देशन तथा सुझाव दिइएको महानगरले जनाएको छ ।
सुझावका आधारमा आठ वटा होटल, रेस्टुरेन्टले सुधार गरेका छन् । अन्य पसलहरुलाई पनि सुधारका लागि निर्देशन दिइएको महानगरको भनाई छ । यस्तै, दर्ता नभएका व्यवसायलाई दर्ताका लागि समय दिइएको छ ।
टिप्पणीहरू