बोलाएको आइजीपी, पुगे एआईजी
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि हिरासतमा दुव्र्यवहार भएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकबहादुर तामाङसँग सोधपुछ गरेको छ । घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा एआईजी तामाङसहित प्रहरी उच्च अधिकारीसँग आज थप जानकारी लिएको आयोगले बताएको छ ।
आयोगका सदस्य मनोज दुवाडीले कानूनी शासनको प्रत्याभूतिसहित स्वच्छ पूर्पक्षको अधिकार र बन्दीका आधारभूत मानव अधिकारलाई सम्मान तथा संरक्षण गर्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुुनुपर्नेमा आयोगको चासो रहेको बताए ।
गतसाता चितवनबाट पोखरा लैजाँदा लामिछानेमाथि अमानवीय व्यवहार भएको भन्दै रास्वपाले आयोगमा उजुरी दिएको थियो । त्यस सम्बन्धमा आयोगले प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरलाई सोधपुछका लागि बोलाएको थियो । तर, कुँवर उपत्यका बाहिर भएकाले एआईजी गएका हुन् ।
घटनाबारे निष्कर्षमा पुग्न आईजीपीसँग थप बुझ्नुपर्ने भएकाले अनुसन्धान जारी रहेको आयोगले जनाएको छ । विज्ञप्तिमा उल्लेख छ, ‘घटनाबारे आयोगको केन्द्रीय कार्यालयमा प्रहरी अतिरिक्त महानिरीक्षक टेकबहादुर तामाङ सहितको प्रहरी उच्च अधिकारीहरुसँग आज आयोगले थप जानकारी लिएको छ । तर, यस सम्बन्धमा निष्कर्षमा पुग्न प्रहरी महानिरीक्षकसँग समेत थप बुझ्नुपर्ने भएकाले आयोगले अनुसन्धानलाई निरन्तर जारी राखेको छ ।’
टिप्पणीहरू