अवकाशपछि असईविरुद्ध मुद्दा
नेपाल प्रहरीका अवकाश प्राप्त एक सहायक निरीक्षक (असई) विरुद्ध मुद्दा दर्ता भएको छ । नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा काठमाडौंको रामशाहपथस्थित महानगरीय ट्राफिक प्रहरी महाशाखाका तत्कालिन असई चक्रदेव भट्टउपर मुद्दा दर्ता भएको हो ।
उनले प्रहरी सेवामा नियुक्ति र बढुवाका क्रममा पेश गरेका शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली पुष्टि भएको अख्तियारको दाबी छ । भट्ट २०५० चैत २० गते जवान पदबाट प्रहरी सेवामा प्रवेश गरेका थिए । नियुक्तिका क्रममा उनले भारतको दिल्लीस्थित केन्द्रीय माध्यमिक शिक्षा बोर्डबाट जारी भएको माध्यमिक तह (एसएलसी) को सर्टिफिकेट पेश गरेका थिए ।
तर, छानबिनका क्रममा सो सर्टिफिकेट नक्कली पुष्टि भएको अख्तियारको भनाइ छ । सोही झुट्टो प्रमाणपत्रका आधारमा प्रहरी जवानमा नियुक्ति लिई बढुवा हुँदै असईसम्म बनेको र हाल अवकाश भई निवृत्तभरणको सुविधा लिइरहेको ठहरसहित अख्तियारले उनीउपर मुद्दा चलाएको छ । भट्टलाई भ्रष्टाचार निवारण ऐन, २०१७ र ०५९ बमोजिम सजाय हुन अख्तियारको माग छ ।
टिप्पणीहरू