सुनसरीको कोशी गाउँपालिका–१, लौकहीस्थित पुरी टोलमा पुस १७ गते बिहान सशस्त्र प्रहरीको गोली लागेर सिटी सफारी चालक विजय साह (५०) को मृत्यु भयो । प्रारम्भिक अनुसन्धान र मानव अधिकार अनुगमन टोली इन्सेकको स्थलगत प्रतिवेदन अनुसार घटना दोहोरो भिडन्तमा नभएर पाँच सय रुपैयाँ तस्करी शुल्क नदिँदा भएको विवादका कारण उत्पन्न भएको निश्कर्ष छ ।
विजय साह दैनिक उपभोग्य वस्तु ओसारपसार गर्दै भारत–नेपाल सीमाबाट फर्किँदै गर्दा सशस्त्र प्रहरी हवल्दार नवराज खतिवडासँग विवाद भएको थियो । साहले मागेको रकम नदिँदा हवल्दारले नजिकबाट गोली प्रहार गरी चालकको हत्या गरेको प्रतिवेदनमा उल्लेख छ। घटनास्थलमा पूर्णतः निशस्त्र साह आफ्नो सवारी साधनको सिटमै मृत फेला परेका थिए।
घटनापछि स्थानीयवासी र मृतक परिवार आक्रोशित बन्नु स्वाभाविक थियो । शव महेन्द्र राजमार्गमा राखेर विरोध प्रदर्शन गरे, टायर बालेर राजमार्ग अवरुद्ध गरे, र केही समयपछि अस्थायी सशस्त्र प्रहरी पोस्टमा तोडफोड तथा आगजनीसमेत भयो। सुरक्षाकर्मीले भीड तितरबितर पार्न ४ वटा ग्यास ग्रेनेड र ११८ राउण्ड हवाई फायर प्रहार गर्यो । झडपमा १३ जना प्रहरी घाइते भए, तीनवटा सुरक्षागाडीमा क्षति पुगेको थियो।
प्रशासनिक रूपमा पुस १७ गते तीन सदस्यीय छानबिन समिति गठन गर्ने, दोषी सुरक्षाकर्मीलाई कानुनी कारबाहीमा ल्याउने र पीडित परिवारलाई तत्काल १ लाख रुपैयाँ किरियाखर्च उपलब्ध गराउने निर्णय भएको थियो। तर, पीडित परिवारले अझै जाहेरी दर्ता गर्न नसकेको गुनासो गरेका छन्।
इन्सेकको निष्कर्षमा सीमा क्षेत्रमा हुने अपारदर्शी लेनदेन र अवैध सेटिङले हिंसात्मक घटना निम्त्याउने, नागरिकको सुरक्षामा खटिएका सुरक्षाकर्मी नै हत्यामा संलग्न हुनु कानूनी शासनको उपहास भएको उल्लेख छ ।
दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, पीडित परिवारलाई दीर्घकालीन सामाजिक सुरक्षा र उचित क्षतिपूर्ति दिन, छानबिन प्रतिवेदन सार्वजनिक गर्न सरकारलाई सुझाव दिइएको छ । त्यसैगरी सीमा सुरक्षा बलमा भौतिक उपस्थितिसँगै प्रविधिको प्रयोग र भन्सार प्रशासनलाई थप सुदृढ बनाउन सिफारिस गरिएको छ ।
सुरक्षा बल र नागरिकबीचको विस्वासको संकट उजागर भएको यस घटनाले सीमा क्षेत्रको सुरक्षा व्यवस्थापनमा गम्भीर प्रश्न खडा भने गरेको छ।