चितवनको भरतपुर महानगरपालिकाका पूर्व वरिष्ठ इन्जिनियर भरतकुमार आचार्य भ्रष्टाचारमा तानिएका छन् । गैरकानूनी रुपमा अकुत सम्पत्ति जोडेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज विशेष अदालत काठमाडौंमा उनीविरुद्ध मुद्दा चलाएको हो ।
आचार्य २०४८ माघ ६ गते सरकारी सेवामा प्रवेश गरेका थिए । उनको ०८० असोज ६ गतेसम्मको सम्पत्ति जाँचबुझ गर्ने क्रममा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ स्रोत नखुलेको पाइएको अख्तियारको ठहर छ ।
अख्तियारका अनुसार आचार्यले गैरकानूनी रुपमा आर्जन गरेको सम्पत्तिले पत्नी लिली सुवेदीको नाममा जग्गा खरिद, घर निर्माण, गाडी खरिद तथा बैंक खातामा रकम मौज्दात राखेको पाइएको छ ।
अख्तियारले भ्रष्टाचार निवारण ऐन, २०५९ र २०१७ बमोजिम लिलीलाई समेत प्रतिवादी कायम गरी उक्त रकम जफत गर्न मागदाबी गरेको छ ।