मानवीय ‘उद्धार’का नाममा करोडौँको कमाउने खेल ! हिमालमा मान्छे बचाएको नाटक गरेर बीमा कम्पनी र पर्यटक ठग्ने गिरोहको पोल !
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले फेक रेस्क्यू काण्डमा संलग्न रहेको आरोपमा ट्राभल तथा रेस्क्यु व्यवसायमा आबद्ध आधा दर्जनलाई समातेर सार्वजनिक गरेको छ।
हिजो पत्रकार सम्मेलनमार्फत दोषी देखाइएका पात्रमा जयराम रिमाल, विवेक पाण्डे,रविन्द्र अधिकारी, विवेकराज थपलिया,मुक्ति पाण्डे र सुभाष केसी छन् ।
तीमध्ये मुक्ति पाण्डे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता रहेको खुल्न आएको छ । गोरखाको भीमसेन थापा गाउँपालिकाका बासिन्दा पाण्डेमाथि राजनीतिक आवरणमा ‘उद्धार उद्योग’ सञ्चालन गर्दै आएको आरोप छ ।
अनुसन्धानमा उनीहरूले हिमाली क्षेत्रमा नक्कली उद्धार गरिएको देखाएर बीमा रकम असुलेको भनिएको छ । कागजमा उद्धार,आकाशमा हेलिकप्टर र भित्रभित्रै करोडौंको चलखेल रहेको बताइन्छ ।
पक्राउ परेका जयराम रिमाल र विवेक पाण्डे माउन्टेन रेस्क्यु सर्भिसका सञ्चालक हुन् । रविन्द्र अधिकारी र विवेकराज थपलिया नेपाल चार्टर सर्भिस प्रालिसँग सम्बन्धित छन्। एभरेस्ट एक्सपिडिसन्स एण्ड एसिस्टेन्स प्रालिमार्फत मुक्ति पाण्डे र सुभाष केसीले कारोबार गरेको खुलेको छ ।
उनीहरूमाथि राष्ट्रहितविरुद्धको कसुर, संगठित अपराध,आपराधिक लाभ तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी गम्भीर मुद्दामा अनुसन्धान भइरहेको छ । यसमा अरु थप प्रतिष्ठित भनिएकाहरु पनि तानिने सम्भावना छ ।