नकारात्मक भावनाबाट ग्रसित नेपाली समाज, नयाँ पुस्ता झन् गाँजिदै
अनमोल केसीको फिल्म फ्लप भयो, नेता र प्रधानमन्त्रीलाई गाली !, सन्दीप लामिछानेले विकेट लिन सकेनन् उनीहरुलाई नै गाली ! सवारी दुर्घटना भएको बेलामा वा बाढी पहिरो जाँदा सामाजिक सञ्जालमा आक्रमणको तारो शासकहरु नै परिरहेका हुन्छन् ।
यसरी हरेक प्रसंगमा शासकलाई जोडेर नागरिकले असन्तुष्टि पोख्नु के को संकेत होला ? यसलाई अस्थिर राजनीतिले पैदा गरेको बेरोजगारी, महंगीजस्ता कारण युवाहरुमा बढिरहेको फ्रस्टेसनको प्रतिबिम्बका रुपमा धेरैले बुझ्ने गरेका छन् ।
यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीप्रति जेन–जी पुस्ता कति आक्रोशित रहेछ भन्ने एउटा उदाहरण भक्तपुरमा देखिएको छ । सूर्यविनायक नगरपालिका–३ स्थित हनुमन्ते करिडोरमा आयोजित कृषि, व्यापार तथा सांस्कृतिक महोत्सवको हिजो अन्तिम दिन थियो । राष्ट्रिय लोक सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको महोत्सवमा स्थानीय जनप्रतिनिधिसहित हजारौँ दर्शक खचाखच थिए ।
साँझ करिब ७ बजेतिर स्टेजमा उक्लिएका गायक सुगम पोखरेलले आधा दर्जन गीत सुनाउँदै साढे ८ बजेतिर प्रस्तुति सके । त्यसपछि कार्यक्रम सञ्चालकले प्रमाणपत्र तथा सम्मानपत्र ग्रहणको लागि विभिन्न व्यक्तिहरुको नाम बोलाउन थाले । तर, एकाएक दर्शकदीर्घाबाट प्रधानमन्त्री ओलीविरुद्ध चर्को नाराबाजी चर्कियो । ‘केपी ओली मूर्दावाद, दुईवटा किड्नी जिन्दावाद !’ को नारा लागिरह्यो ।
महोत्सवमा एक दर्जन सुरक्षाकर्मी खटाइएको भए पनि युवाहरुको भीड र नाराबाजी नियन्त्रणमा आउन सकेन । अन्ततः कार्यक्रम सञ्चालकले हतारहतार महोत्सव समापन भएको घोषणा गरे ।
ती युवाले कुन प्रसंगमा किन नाराबाजी गरे ? प्रहरीले समेत ठम्याउन सकेन । तर, कार्यक्रमस्थलबाट बाहिरिएर चारदोबाटो पुग्दासम्म उनीहरुले नाराबाजी गरिरहेका थिए ।
टिप्पणीहरू