प्रधानसेनापति श्रीमती र छोरासहित भारत भ्रमणमा

प्रधानसेनापति श्रीमती र छोरासहित भारत भ्रमणमा
सुन्नुहोस्

प्रधान सेनापति अशोकराज सिग्देल भारत भ्रमणमा गएका छन् । भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीको औपचारिक निमन्त्रणामा चार दिने भ्रमणका लागि आज अपरान्ह भारतको राजधानी नयाँ दिल्लीतर्फ गएका हुन् ।

भ्रमणको क्रममा भारतीय राष्ट्रपतिले भारतीय सेनाको मानार्थ महारथी दर्जाबाट सुशोभित गर्ने कार्यक्रम छ । भारतीय उच्चपदस्थ पदाधिकारीहरुसँग भेटघाट र त्यहाँको सैन्य एकेडेमीमा तालिमरत अधिकृत क्याडेटहरुको अन्तिम कवाजमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ । 

प्रधानमन्त्री चीनको औपचारिक भ्रमणमा जानुअघि मंसिर ५ गते भारतीय स्थल सेनाध्यक्ष द्विवेदी नेपाल आएका थिए । सो क्रममा सिग्देललाई भारत भ्रमणको निम्तो दिएका द्विवेदीलाई राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जाबाट सम्मान गर्नुभएको थियो ।

सेनापतिको १० सदस्यीय टोली आज नेपाल एअरलाइन्सको उडान नम्बर आरए २१७ मा दिउँसो त्यता गएको हो । टोलीमा उहाँकी धर्मपत्नी नीता क्षेत्री सिग्देल, उपरथी अनुप जंग थापा, सहायक रथीहरु डा. नम्रता महरा रावल र पूर्णबहादुर खत्री, प्रमुख सेनानी सुरज रावत र सेनानी राजेश श्रेष्ठ छन् ।

त्यसैगरी छोरा आशुतोष सिग्देल, भावना थापा र रेन्कु रेग्मी पनि भ्रमण टोलीमा रहेको बताइन्छ ।

टिप्पणीहरू