जिबी र रविका मान्छेबीच क्रिप्टोसम्बन्धी च्याट
सहकारी ठगीमा फरार गितेन्द्रबाबु उर्फ जिबी राई र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको दाहिने हात मानिने मोहनबहादुर थापाबीच भएको भनिएको गोप्य कुराकानीका स्क्रिनसटहरू फेला परेको छ । नेपालबाट जिबीका मान्छे र लामो समयदेखि अमेरिका बस्दै आएका मोहनबीच सन् २०२३ डिसेम्बरमा भएका च्याटहरू हात लागेको हो ।
उनीहरूले क्रिप्टोको विषयमा कुरा गरेको देखिन्छ । उताबाट मोहनले ‘भाइ, हाऊ आर यु, कल पाम है’ भनेका छन् । यताबाट जिबीका मान्छेले क्रिप्टोबाट कसैलाई सबै रकम किन्न भनिदिन आग्रह गरेका छन् । डिसेम्बर २९ मा पठाइएको म्यासेजमा भनिएको छ, ‘तपाईंले बिटकोइनबाट गर्नुभयो त ? दाइ, नेपालबाट भनेको त्यो कनैयाजीले त मलाई थाहा छैन भन्नुभयो । अरू मान्छे कसैलाई पठाउने, क्रिप्टोबाट दुई मिनेटमा हुन्छ दाइ, कसैलाई किनिदिने भनिदिनु होला ।’
जिबीले धोका महसुस गरेको प्रसंग निकाल्दै ती व्यक्तिले नेपालमा कोही भेट्ने माहोल मिलाइदिन भन्दै टेक्स्ट गरेका छन् । ‘जिबीजीले सबै मिल्छ भनेर बसियो । धोका भएको फिल गर्नुभएको छ । मिल्छ भने नेपालबाट कोही भेट्नेगरी माहोल बनाउनुपर्यो । भोलि कल गरौंला’, जिबीको मान्छेले गरेको म्यासेज हो यो ।
मोहनसँगै रविको पैसा व्यवस्थापनमा पोखराकी विष्णु एकता गुरुङ पनि संलग्न छिन् भनिन्छ । अमेरिकामा पहिलो नेपाली महिला क्याब ड्राइभरको रूपमा चर्चा कमाएकी उनले पनि क्रिप्टोमार्फत रविको पैसा ओसारेको हुन सक्ने स्रोतको भनाइ छ ।
झण्डै दुई दशक अमेरिकामा बिताएर फर्किएकी उनी रास्वपाको केन्द्रीय सदस्य छिन् । पोखरामा होटल चलाएर बसेकी उनी एनआरएनएको सदस्य पनि हुन् । रास्वपाको रेजिडेन्स् इन् नेपाली डिपार्टमेण्टको मेम्बरसमेत रहेकी उनले अमेरिकामा हुँदा क्रिप्टोको कारोबार गर्थिन् । वुमन ग्लोबल नेटवर्क अफ नर्दर्न क्यालिफोर्निया, तमु समाजमा पनि आबद्ध थिइन् ।
नेपालमा भएको सबै सम्पत्ति दान गर्ने घोषणा गरेकी उनका छोराबुहारी अमेरिकामै छन् । रास्वपाको सम्पूर्ण सेमिनार, गोष्ठी उनकै होटलमा आयोजना गरिन्थ्यो । रवि पक्राउ परेपछि भएका आन्दोलनका कार्यक्रमबारे ‘होटल दिदी’मै छलफल हुने गथ्र्यो । विष्णुमाथि पनि छानबिन हुनुपर्ने स्रोत बताउँछ । उनको बैंक ट्रान्जेक्सनहरू खोतल्ने हो भने पत्ता लाग्न सक्छ स्रोतले भन्यो ।
टिप्पणीहरू