अर्बाैं ठग्नलाई आउँछ कताबाट आँट ?
ललिता निवास, गिरिबन्धु, बाँसबारी हुँदै टिकापुर जग्गा काण्ड सेलाउन नपाउँदै नुवाकोटको विदुर नगरपालिका– २ शेराबेसींस्थित शेरा दरबार र त्यसले चर्चेको १६४ रोपनी जग्गा व्यक्तिको नाममा लैजान खोजिएको अर्को प्रकरण यतिबेला चर्चामा छ । उच्च राजनीतिक नेतृत्व र कर्मचारीसँग सेटिङ मिलाएर सरकारी जग्गा हडप्ने ठूला भूमाफियाको ‘रजगज चलिरहँदा’ अघिल्लो साता यो प्रकरण बाहिर आएको हो ।
पृथ्वीनारायण शाहको पालामा बनेको शेरा दरबार ऐतिहासिक तथा पुरातात्विक महत्वको पुरानो दरबार हो । नुवाकोटको साततले दरबारभन्दा केही किलोमिटर तल तादी खोला किनारमा अवस्थित यो दरबार जीर्ण अवस्थामा छ । पृथ्वीनारायणले शीतकालीन दरबारको रूपमा १८२२ सालमा निर्माण गराएको दरबार वरपर ठूलो बगैँचासहित हरियाली समथर फाँटमा फैलिएको छ । गणतन्त्र स्थापनापछि तत्कालीन राजा र राजपरिवारको नाममा रहेको सारा सम्पत्ति नेपाल ट्रष्टका नाममा ल्याइए पनि ऐतिहासिक महत्वको दरबारले चर्चेको जग्गा भने रहस्यमय ढंगले निजी कम्पनीको नाममा दर्ता कायम रहेको भेटिएको हो ।
२०२१ मा नयाँ भूमिसुधार ऐन लागू भएसँगै हदबन्दी कायम भएपछि ०३५ सालमा राजपरिवारले कृषि फार्मिङका नाममा दर्ता गरेर निजीकरण गरेको जग्गा विभिन्न कम्पनीको स्वामित्व परिवर्तन हुँदै नाटकीय रूपमा ०७३ सालदेखि पूर्वमाओवादी नेता विकेश श्रेष्ठको नाममा आएको देखिन्छ । हदबन्दी लागेपछि जग्गा लुकाउन तत्कालीन राजदरबारका सदस्यले दरवारसहितको जमिन गौरीशंकर फार्मिङको नाममा दर्ता गरेका थिए । पछि नामसारी गरी विकेश र उनका छोरा मनोबल श्रेष्ठको स्वामित्व रहेको अन्नपूर्ण फार्मिङको नाममा दर्ता भएको मालपोतको रेकर्डमा देखिन्छ ।
मालपोत र नापीसम्म सेटिङ मिलाएर चलाखीपूर्ण ढंगले ऐतिहासिक महत्वको यत्रो जग्गा वर्षौंअघि नै व्यक्तिको स्वामित्वमा पुग्दासमेत सरकारी निकायहरू किन बेखबर रहे ? यो आफैँमा रहस्यमय छ । जानकार स्रोतका अनुसार सरकारी निकायमा उजुरी परेर वा राज्यको चासोले नभई विकेशले प्लटिङ गरेर बेच्न खोजेपछि आफैँ सतहमा आएको हो । उनले केही व्यक्तिसँग बैनासमेत गरिसकेको अवस्थामा दिपक थापा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख भएर आएपछि गत भदौमा उजुरी परेको थियो । यस प्रकरणको प्रारम्भिक अनुसन्धान पूरा गरी जग्गा जफत गर्न सिआइबीले सरकारलाई सिफारिस गरेको छ ।
सिआइबी स्रोतका अनुसार विकेशले योजनाबद्ध ढंगले जग्गा कब्जा गर्न खोजेको घटनाक्रमले देखाएको छ । शुरुमा कृषि फार्म चलाउने प्रयोजनका लागि दर्ता गरेको अन्नपूर्णमा विकेश र अजयकुमार सूर्यवंशी शेयर सदस्य थिए । गत वर्ष मङ्सिर १० गते दुई जना यथावत् रहेर मनोवल श्रेष्ठ पनि थपिए । ध्रुवलाल श्रेष्ठ र सुमन नामका एक व्यक्तिका नाममा रहेको ४५ हजार कित्ता शेयर कूल ४५ लाख मूल्यमा किनेर मनोवललाई नयाँ शेयर सदस्य बनाइएकोमा अहिले बाबुछोराको एकलौटी छ । यसमा मालपोत, नापी र कम्पनी रजिष्ट्रारको कार्यालयका कर्मचारीको पनि मिलेमतो हुन सक्ने सिआइबीको आशंका छ ।
यता, श्रेष्ठले भने उक्त जग्गा आफूले कानुनअनुसार नै खरिद गरेको दावी गरेका छन् । सिआइबीको सोधपुछका क्रममा उनले आफू पुष्पकमल दाहाल प्रचण्डको पूर्वस्वकीय सचिव भएका कारण विवाद झिकिएको जिकिर गर्दै कानुनी प्रक्रिया पूरा गरेर जग्गा आफ्नो नाममा ल्याएको दाबी गरेका हुन् । तर, शेयर पुँजी देखाउन नसकेको र कम्पनीको अडिट रिपोर्टसमेत नभएकाले उनको दावी शंकास्पद रहेको यस प्रकरणको अनुसन्धान गरिरहेका एक प्रहरी अधिकारीले बताए ।
त्यसैका आधारमा सिआइबीले ‘जुन प्रयोजनका लागि भनिएको हो त्यसअनुसार गरेको नपाइएको र यौटै परिवारभित्रका व्यक्तिको नाममा हदबन्दी भन्दा बढी जग्गा लगिएको हुँदा मालपोत ऐनअनुसार गर्न’ भनी अनुसन्धान प्रतिवेदनसहित भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई सिफारिस गरिएको जनाएको छ ।
‘हदबन्दीभन्दा बाहिरको जग्गा नेपाल सरकारको नाममा हुनुपर्नेमा निजी कम्पनीको नाममा दर्ता गरिनु आफैँमा शंकास्पद छँदै छ । यसबाहेक कृषि फर्म चलाउनका लागि भनिए पनि फार्मिङ गरेको देखिंदैन । शेयरको पैसा पनि कागजमा मात्र देखिन्छ । अडिट रिपोर्ट पनि छैन’, उनै प्रहरी अधिकारीले भने, ‘त्यसकारण शंकास्पद छ । अहिले बयान भन्दा पनि सोधपुछ गराएको हो, मुद्दा चल्ने भएपछि थप बयान गराउँछौँ ।’
प्रश्न उठ्छ– यदि कानुनअनुसार नै लिएको भए पनि अर्बौंको जग्गा किन्ने हैसियत भएका मान्छे हुन् विकेश ? उनको सम्पत्तिको स्रोत के हो ? विगत हेर्दा त्यो हैसियतमा देखिंदैनन् । २०४६ अघि नै कम्युनिष्ट आन्दोलनमा लागेका उनी मशालकालकै पुराना नेता हुन् । शुरुबाटै जनयुद्धमा लागेका उनी माओवादीको केन्द्रीय सदस्यसम्म भएका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि केही समय अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयमा रहेर काम गरेका उनी पछि कार्यक्षेत्र सारेर हेटौँडा पुगे । त्यहाँ आफ्नै प्रेस सञ्चालन गरेका विकेशले केही समय पत्रिका पनि चलाएका थिए । हेटौंडामा चुनाव उठ्ने तयारीका साथ घडेरी किनेका उनी स्थानीय नेता–कार्यकर्ताले अस्वीकार गरेपछि चितवन झरे ।
माओवादी नेताहरूका अनुसार सिन्धुली पुख्र्यौली घर भएका विकेश कैलालीको जोशीपुरका बासिन्दा हुन् । माओवादी जनयुद्धमा मिलन नेपालीसँगै बेपत्ता बनाइएका दिपेन्द्र शर्माको गाउँ चितवनको गीतानगरमा पनि उनको घर छ । माओवादीमा रहँदासम्म यस्ता काण्डमा मुछिएका थिएनन् । राजनीति छाडेर व्यापार–व्यवसायमा लागेपछि एकाएक हैसियत बदलेका उनले दुई–तीन वर्षअघि छोराको विवाह गोकर्ण रिसोर्टमा गरेका थिए ।
‘पहिला इमान्दार मान्छे नै हो । पछि कता–कता के व्यवहार बिग्रियो र यस्तो कर्ममा लागे थाहा छैन’, माओवादी केन्द्रका एक जना उपाध्यक्षले भने, ‘तर, यसमा अध्यक्षलाई जोड्नु चैँ बेकार हो । जुलुसमा खिचेको फोटो देखाएर ठग्दै हिँड्नेहरू पनि छन् । सबै कुरा थाहा पनि हुँदैन । तर, गलत गरेको छ भने राज्यले कारवाही गर्नुपर्छ ।’
टिप्पणीहरू