श्रीमती छुटेको भोलिपल्ट ऋषिकेशका पिए पक्राउ
संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका निलम्बित स्वकीय सचिव (पिए) अनिलकुमार पोखरेल समातिएका छन् ।
नेकपा (एमाले) मोरङ जिल्ला कमिटी सदस्यसमेत रहेका ठगी मुद्दाका आरोपित उनलाई आज बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरी कार्यालय नजिकैबाट पोखरेललाई समातेको कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक (डिएसपी) वेदप्रकाश जोशीले जानकारी दिए ।
म्याद थपका लागि अनिललाई अदालत उपस्थित गराउन लागिएको उनले बताएका छन् । ‘उनी आज बिहान प्रहरी कार्यालय नजिकैबाट समातिएका छन् । म्याद थपका लागि आजै अदालत उपस्थित गराउँछौं’,उनले भने ।
पोखरेलविरुद्ध बौआलाल चौधरीले उच्च अदालत, विराटनगरमा ठगी मुद्दा दायर गरेका थिए । छोरीको नाम एमबीबीएसको इन्ट्रान्समा निकालिदिन्छु र होस्टेलमा बस्ने व्यवस्था मिलाइदिन्छु भन्दै पटकपटक गरेर ३८ लाख ८० हजार रुपैयाँ लिएको तर एमबीबीएसमा नाम ननिस्किएपछि पैसा फिर्ता माग्दा धम्की दिएको बौआलालले अदालतमा दायर गरेको निवेदनमा उल्लेख छ ।
उच्चका न्यायाधीशद्वय राज्यलक्ष्मी बज्राचार्य र सूर्यनाथप्रकाश अधिकारीको संयुक्त इजलासले उनीमाथि अनुसन्धान गर्न परमादेश जारी गरेको थियो । त्यसपछि गत शुक्रबार सभापति ऋषिकेशले अनिललाई स्वकीय सचिवको जिम्मेवारीबाट हटाएका हुन् ।
मोरङ जिल्ला अदालतले उनीविरुद्ध सोमबार पक्राउ पूर्जी जारी गरेको हो । यता, सहकारी ठगी प्रकरणमा मुछिएकी ऋषिकेशकी श्रीमती अञ्जला कोइराला अदालतमा हाजिर भएकै दिन छुटेकी छन् । पक्राउ पुर्जी जारी भएलगत्तै 'फरार' उनी हिजो जिल्ला अदालतमा उपस्थित भएकी थिइन् । हिजै थुनछेक बहस सकेर अदालतले धरौटीमा छोडन आदेश गरेपछि एक दिन पनि हिरासत नबसी छुटेकी हुन् ।
टिप्पणीहरू