ख्रीष्टियन महासंघमा चिमोरिया चयन, प्रतिवादमा उत्रने तयारी
राष्ट्रिय ख्रीष्टियन महासंघ नेपालको अध्यक्षमा उद्धवप्रसाद चिमोरिया सर्वसम्मत छानिएका छन् ।
गत मंगलबार सम्पन्न महासंघको विशेष महाधिवेशनले उनको नेतृत्वमा ५१ सदस्यीय केन्द्रीय समिति गठन गरेको हो । अध्यक्ष चिमोरियाले लामो समयदेखिको संगठानिक निष्क्रियतालाई महाधिवेशनले अन्त्य गरेको बताए ।
तत्कालीन अध्यक्ष सिबी गहतराज कानुनी हिसाबले अयोग्य भएपछि विशेष महाधिवेशन गर्नुपरेको बताउँदै उनले भने,‘गहतराजजीलाई सम्मानित काठमाडौं जिल्ला अदालतले लिखत किर्ते कसूरमा एक वर्ष कैद फैसला सुनाएपछि नयाँ कमिटी चयन गर्नुपर्ने बाध्यता भयो ।’
संगठन अनिर्णयको बन्दी बन्दा मुलुकभरका ख्रीष्टियन समुदायमाथि राज्य पक्षबाट ज्यादती बढेको पनि उनले सुनाए । अब भने तयसविरुद्ध कडा प्रतिवादमा उत्रिने उनको चेतावनी छ ।
‘जब महासंघ निष्क्रिय थियो, तब राज्य पक्षकै संरक्षणमा ख्रीष्टियन समुदायमाथि ज्यादती भयो', चिमोरियाले भने, 'महासंघले पनि केही गर्न सकेन् । अब त्यसको कडा प्रतिवाद गर्छ ।’
हिजो संवाद डबलीमा भएको पत्रकार सम्मेलनमा महासंघका केन्द्रीय उपाध्यक्ष तथा लुम्बिनी प्रदेश प्रमुख विष्णु परियारलगायत अन्य प्रतिनिधिको उपस्थिति थियो । मंगलबार सम्पन्न विशेष महाधिवेशन तथा साधारण सभाबारे त्यहाँ जानकारी गराइयो ।
टिप्पणीहरू