पूर्व राष्ट्रपति डा. रावलको राजनीतिक पुनरागमन परिकल्पना !

पूर्व राष्ट्रपति डा. रावलको राजनीतिक पुनरागमन परिकल्पना !

 “हिजो जो थिए ती ‘म-हामी’भन्दा खराब थिए,आज जो ‘म-हामी’ वरिपरि छन् ती पनि सबै खराब नै छन् । भोलि जो हुन्छन् ति पनि ‘म-हामी’भन्दा खराब वा कमजोर हुन्छन् । तर आज ‘म-हामी’ जे छौं,हामी मात्र सर्वश्रेष्ठ र योग्य छौं । ” यो भ्रमबाट कहिले मुक्त हुने ? यो अहम् र भ्रमका लागि समर्पित छ यो आलेख । लेख र आलेखमा के फरक पर्छ अर्को कुनै सन्दर्भमा चर्चा गरौंला । नेपालको सत्ता केन्द्रित राजनीतिमा नदेखिएको र नभोगिएको एउटा भागको चर्चा हो यो -

सन्दर्भ - १

नेपालको दोस्रो राष्ट्रपतिकोरुपमा तेस्रो कार्यकाल पुरा गरेर नेकपा एमालेका पूर्व नेता तथा पूर्व राष्ट्रपति डाक्टर भिम रावल आजभोलि आफ्नै निवासमा फुर्सदको समय बिताइ रहनु भएको छ । नेकपा एमालेका पूर्व उपाध्यक्षसमेत रहनु भएका रावल पार्टी राजनीतिमा फर्किने कि नफर्किने भनेर द्विविधामा हुनुहुन्छ वा पर्ख र हेरको रणनीतिमा पार्टी अध्यक्ष कमरेड केपी वलीको ‘लाइन’ वा निमन्त्रणा पर्खिरहनु भएको छ । पार्टीका नेता र कार्यकर्ताहरू डाक्टर रावललाई सकृय राजनीतिमा आएर पूर्वबाट उदाएको पार्टीको पश्चिमबाट नेतृत्व दिन सल्लाह दिरहेका छन् । 

पार्टीको सदस्यता र सबै जिम्मेवारी निस्कृय बनाउनु भएका पूर्व राष्ट्रपति डा. रावलले पार्टी सदस्यता नविकरणका लागि सङ्गठन विभागमा केही महिना पहिले दिएको निवेदनको सम्बन्धमा नेकपा एमालेले आधिकारिक जानकारी अहिलेसम्म सार्वजनिक गरेको छैन । पूर्व राष्ट्रपति डा. रावलले यसैहप्ता एक विशेष कार्यक्रमबीच नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलकृत संस्मरण संग्रह ‘आमा, सपना र ताराहरु’ लोकार्पण गर्नु भयो । प्रमुख आतिथिकारुपमा कार्यक्रमस्थलमा पुग्नु भएका पूर्व राष्ट्रपति डा. रावलललाई वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले पुष्प गुच्छाले स्वागत गर्नुभएको थियो । नेकपा एमाले भित्र यस दृश्यलाई आगामी दिनमा पूर्वराष्ट्रपति रावललाई राजनीतिमा भित्र्याउने अभ्यासकारुपमा बुझ्न थालिएको छ । पूर्व राष्ट्रपति रावलकै कार्यकालमा उपराष्ट्रपति रहनु भएका नेकपा माओवादीका नेता नन्दकिशोर पुनले भने पार्टीको केन्द्रीय समितिको बैठकमा उपाध्यक्षकारुपमा औपचारिक सहाभागिता जनाउन थाल्नु भएको छ । यध्यपी पार्टीका महासचिव देव गरुङ्ले भने पार्टी अध्यक्ष कमरेड प्रचण्डसँगै एउटै लहरमा ‘उपाध्यक्ष’ लेखिएको नेमप्लेटको अगाडि बसेका पुनलाई पूर्व उपराष्ट्रपति भनेर आसन ग्रहण गराउनु भएको थियो जबकि त्यहाँ पूर्व उपराष्ट्रपतिको ‘नेमप्लेट’ भने थिएन !

सन्दर्भ- २

नेकपा एमालेको दशौं महाधिवेशनमा  तत्कालिन पार्टी अध्यक्ष केपी वलीका बिरुध्द अध्यक्षको उमेदवारी दिएर पार्टीमा गुटबन्दी गरेको र अनुशासनमा नबसेको तथा  पार्टीले दिएको उपाध्यक्ष पद वा सल्लाहकार समितिको सदस्यकोसमेत भूमिका निर्वाह नगरेको आरोप खेप्दै आउनु भएकी पार्टी नेता विद्या भण्डारी फेरि अर्को विवादमा पर्नु भएको छ । नेता भण्डारीले पार्टीले आफ्नै कार्यकर्ताको सहयोगमा पार्टीको केन्द्रीय भवन निर्माण गर्ने पूर्व निर्णय विपरित भ्रष्टाचारलागयतका आरोपमा अदालतबाट दोषी ठहरिएर सजाँय तोकिएका र ललिता निवासको सरकारी जग्गा हिनामिनाको मुध्दामा मुछिएका व्यापारी मिनबहादुर गुरुङ्ले ‘दान’दिएको जग्गामा उनैको सहयोगमा अरब आसपासको पार्टी भवन बनाउने निर्णयको बिरोध गर्दै आउनु भएको छ । 

पार्टीको निर्णयका बिरुध्द सार्वजनिक टिप्पणी गरेको र सन्तोषजनक स्पष्टिकरण नदिएको वा गल्ति स्विकार गरेर माफी नमागेको कारण पार्टीका नेताद्वय विन्दा पाण्डे र उषाकिरण तिमिल्सिनालाई पार्टीले ६ महिनाका लागि निलम्बन गरेको छ । तर नेता भण्डारीलाई भने सोही आरोपमा नेकपा एमालेको साधारण सदस्यताबाटसमेत निस्कासन गर्ने निर्णय गरिएको पार्टीको बैठकपछि उपमहासचिव प्रदीप ज्ञवालीले सञ्चारकर्मीहरूलाई जानकारी गराउनु भएको थियो ।

पार्टीको कारबाहीमा परेपछि नेता भण्डारी नेपालको सुदुर पश्चिमका जिल्लाहरूमा आफ्ना कार्यकर्ताहरूसँगको भेटघाटमा निस्कनु भएको छ ।  ‘मातृभूमि जागरण अभियान’का नाममा कार्यकर्ताहरूसँग भेटघाट थाल्नु भएकी नेता नेता भण्डारीले केही राजावादीहरूसँग पनि वार्ता गर्नु भएको छ । उहाँको राजावादीहरूसँगको वार्ताको विस्तृत विवरण सार्वजनिक नगरिएको भएपनि नेता भण्डारीले २०६२-०६३ को जनआन्दोलनको एजेण्डा ‘गणतन्त्र’ नभएको तर ‘अदृश्य शक्ति केन्द्रहरूको दबाबमा गणतन्त्र घुसाइएको’ र आगामी दिनमा ‘राष्ट्रवादी शक्तिहरू’ एक भएर अगाडि बढ्नु पर्ने कुरामा जोड दिनु भएको उहाँका निकटका नेताहरूले बताएका छन् । नेता भण्डारीले भोलिका दिनमा देश र जनताले चाहेमा नयाँ पार्टी खोल्न सकिने सङ्केत पनि गर्नु भएको छ ।

सन्दर्भ- ३

नेपालको वर्तमान राजनीति र सत्ता केन्द्रीत राजनीतिको वरपरको यो एउटा परिदृश्यको परिकल्पना मात्र हो | सत्य के छ वा के छैन, त्यो फरक पक्ष छ । यस्तो पनि हुनसक्थ्यो,भएको भए वा नभएको भए चैं के हुन्थ्यो ? यसमा प्रकारान्तरले पूर्व राष्ट्रपति विद्या भण्डारी र नेकपा एमालेका पूर्व उपाध्यक्ष भिम रावलसँगको ‘रिभर्स मोड ?’ फरक अर्थात् विपरित भूमिकाको कल्पना-अनुमान गरिएको हो । यसमा जोडिएका अन्य पात्र-व्यक्तिलाई भने सामान्य अवस्थामा राख्न-बुझ्न प्रयास गरिएको छ । हाम्रो अवस्था यस्तो छ- सत्य के हो नेता स्वयँले चिन्न सकेको देखिंदैन । स्वार्थ समुह वा बिचौलियाहरू र आसापासेहरूले कान फुकेको कुरा चैं सत्य भएको छ । एक अर्काप्रति घृणा र अविश्वास केन्द्रित गाली र आरोप,दिनहुँ मौसमअनुसार फेरिने बोली र मौनताको भुमरीले बनाएको ‘धमिलो पानी’मा नेताहरू रमाउनु हुँदैन | प्रश्न र आलोचना बिरोध होइनन् भनेर कमजोरी सच्याउने र नदोहोर्याउने उदारता कसैमा देखिंदैन ! पूर्व राष्ट्रपति भण्डारीको मौनता र पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका लोकपृय नेता (पार्टी निर्वाचनमा प्राप्त मतको मात्रा) रावलको सकृयता नेपाली राजनीतिमा मडारिएको कालो बादलमाथिको “चाँदीको घेरा” हो कि चट्यांग पर्नका लागि देखापरेको “आगोको झिल्का” ? 

यसै हप्ताको पहिलो बिहानको एउटा अर्को समाचार हो,पूर्व प्रहरी महानिरिक्षक (आइजीपी) सर्वेन्द्र खनालले नेकपा एमाले त्यागे-परित्याग गरे  । खनालको एमाले बहिर्गमनको बारेमा विद्यार्थी राजनीति, पार्टी राजनीति,पत्रकारिता हुँदै लेखक र राजनीतिक विश्लेषकको भूमिकामा रहनु भएका झलक सुबेदीले आफ्नो सामाजिक सञ्जालमा ‘रावलका पछिपछि खनाल ?’ प्रश्न गर्नु भएको छ | यसभन्दा पहिले उहाँको नै ‘भीम रावलले फालेको कम्युनिज्मको खोल’ शिर्षकको निक्कै लामो विवरणहरू समावेश भएको संस्मरणात्मक,विश्लेषणात्मक वा कटाक्षात्मक लेख प्रकाशित भएको थियो ।देश र जनताको हितका लागि राज्यको सुरक्षाको सर्बोच्च पदमा पुगेर पौरख सकेको देखाइसक्नु भएका राजकीय पदबाट सेवानिवृत्त पूर्व आइजीपी खनालले बाँकि पौरख पार्टी कार्यकर्ता बनेर पनि पुरा गर्न नसकेपछि अबको कर्तव्यबोध यसरी गरेको देखिन्छ ‘राष्ट्रघाती दोषीहरुलाई कानूनी कठघरामा पुर्‍याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ,सधैँ लडिरहनेछु ।’ अबको उहाँको यो लडाईं कसरी र कोसँग होला र खै ? यसै सम्बन्धमा विद्यार्थी सङ्गठन अखिल क्रान्तिकारी (माओवादी) का नेता रन्जित तामाङ्ले सामाजिक सञ्जालमा ८ घण्टाको अन्तरमा २ वटा ‘स्टाटस’ यसरी लेख्नु भएको छ – 

- ‘सर्बेन्द्र खनाल कुन रहरले एमालेमा पसे, अनि डेढदुई बर्षमै कुन बैरागले एमाले छोडे ? थाहा पाउन सकिएन । अझ अनौठो त पञ्चायतकालदेखि पार्टीमा लागिपरेका कार्यकर्तालाई पन्छ्याएर एमालेले खनाललाई संघीय निर्वाचनमा दुई ठाउँको टिकट किन दियो ? यस्तो ‘स्वाँठ’ पाराले पनि पार्टी चल्दैछ, ट्वाँ पर्छु !’

- ‘माओवादी राजनीतिमा नन्दकिशोर पुन फर्किए । एमाले राजनीतिमा विद्या भण्डारी फर्किने चर्चा छ । गणतन्त्रको हत्या कसैले गर्छ भने यी गणतन्त्रवादी भनिएकाहरूको यस्तै कु-कर्मले गर्न सक्छ । राप्रपा त गणतन्त्रको इमान्दार शत्रु हो, जो टाढैबाट कराएर खुकुरी उज्याउँदै आउँछ । छल्न सकिन्छ ।’

सन्दर्भ- ४ 

सङ्केतमा धेरै कुरा बुझ्न सकिन्छ | भनिन्छ,बुझ्न पर्ने कुरा मानिसले नबोलेर पनि बुझ्छ तर बुझ्न मन नलागेको कुरा सिकाए त के औषधी बनाएर खुवाए पनि बुझ्दैन | स्मरणिय यो संस्कृत श्लोक पनि छ-

विद्या विवादाय धनं मदाय
शक्तिः परेषां परिपीडनाय ।
खलस्य साधोर्विपरीतमेतत्
ज्ञानाय दानाय च रक्षणाय ॥

विद्या विवादका लागि,धन घमण्डका लागि,शक्ति अरुलाई दुःख दिनका लागि नभएर विद्या ज्ञानका लागि,धन दानका लागि र शक्ति अरुको रक्षाका लागि हुनुपर्छ । त्यसैले तर्कमा बुझाउन सकिन्न तर इशारामा बुझ्न सजिलो हुन्छ |

अब फेरि फर्कौं नेपालको राजनीति तर्फ,हाम्रा अगुवा वा आदर्श भनेका  नेताहरू को हुन् ? ती कहाँ कहाँ छन् र के के गरिरहेका छन् ? यस्तो लाग्छ, अग्रजहरू महान रहेनछन् त्यसैले उनीहरूले छोडेर गएको विरासत हामीले जोगाएका छौं । म- हामी नभएको भए डुब्नेरहेछ ! हामी धेरैलाई यस्तो लागेको छ, "हामीले छोडेमा आजका वा भोलिका कसैले यो विरासत जोगाउँदैनन् ।" तर हामी यो भ्रम पनि नपालौं र अहम् पनि नबोकौं । अग्रज जो थिए, ती गए जस्लाई सोध्न सकिंदैन । कवि भूपी शेरचनलाई पनि अब सोध्न सकिन्न- 

मैले पिएकोमा रिसाएका साथीहरू पिएर त हेर पिउन झन गाह्रो छ ।
मरेर शहीद हुनेहरू 
जिएर त हेर जिउन झन् गाह्रो छ ।

 
समकालिन राजनीतिक पार्टी नेताहरूकोका वरपर बसेर उहाँहरूकै समकालिन झलक सुबेदीहरूले लेखिरहनु भएको छ, त्यो पनि पढौं-गुनौं । अनुजहरूले भन्न पर्ने भए – रन्जितहरूले भनेको सुन्नु पर्यो | डा. रावलले ५० वर्षको राजनीतिक जिवनमा नभाँचेको सिन्को ‘बा’ को बिरोधका पुलिन्दाले भाँचिंदैन भनेर बुझेको राम्रो हुन्छ । भाग्यमा भए गधालाई धोइपखाली गरेर गाई हुँदैन भनेर गगन,गुरू,विश्वप्रकाशले कतिपटक भनिसके । हिजो कति बल लगाएर गिरिजाप्रसाद कोइरालको काँध फेरेको हो तर चमत्कार नै गरेको भए गगनहरू किन गनगन गर्छन् ? शेरबहादुरहरूले ‘पुच्छर लुकाएर’ ज्योतिषीको भर नपरे हुने ! पूर्णबहादुरहरूले बोल्न सकेनन् त के भयो ? गिरिजाप्रसादलाई पनि भान्जा भान्जी वा छोरीहरूको दबाब त कम्ता थिएन होला नि ?

सन्दर्भ- ४

अपृय लाग्नसक्छ नमागेको सल्लाह कसैलाई दिनु हुँदैन | तर के हाम्रा आजका ‘धुरी-मुली’हरू महाभारतका कृष्णका अवतार नै हुन् त ? सकेको शीखरमा पुग्ने आफ्नै बलबुताले नै होला तर शीखरमा पुग्नभन्दा त्यहाँ टिक्न चैं धेरै कठिन हुन्छ भन्ने कसैले किन नबुझेको ? आँफैले आँफैलाई कसैले भगवान श्री कृष्णको अवतार नसम्झेको भए,यी श्लोक चैं सम्झे पुग्छ, प्रभूको लीला अपरम्पार !
यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम्‌ ॥
      ...      ...      ...
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम्‌ ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ॥

टिप्पणीहरू