चोरीका तीन दर्जन सवारीसाधन फेला

चोरीका तीन दर्जन सवारीसाधन फेला

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले झण्डै तीन दर्जन चोरीका सवारीसाधन फेला पारेको छ । विभिन्न मितिमा हराएका र चोरी भएका ३३ वटा सवारीसाधन फेला पारी कार्यालयले सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ । 

कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विनोद घिमिरेले आज आयोजित एक कार्यक्रमका बीच २५ वटा मोटरसाइकल र आठ वटा स्कुटर सम्बन्धित धनीलाई बुझाएका हुन् । उपत्यकाका विभिन्न स्थानबाट हराएका तथा चोरी भएका ती सवारी साधन खोजतलासको क्रममा गठ्ठाघर, काँडाघारी, नेपालटार, कालिमाटी, पद्मोदयमोड, लैनचौर, गौशाला, बानियाँटार, धर्मस्थली, नयाँ बसपार्क, बौद्धलगायतका ठाउँमा भेटिएको कार्यालयले जनाएको छ ।

कार्यालयले गत साउनदेखि हालसम्म २७३ वटा सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई बुझाइसकेको छ । ती सवारी साधन चोरीमा संलग्न ४० जनालाई कारबाहीका लागि कार्यालयले विभिन्न प्रहरी परिसर पठाएको छ । सवारीसाधन चोरी तथा हराउनबाट रोक्न आफ्नो सवारी सुरक्षित स्थानमा पार्किङ गर्न, ह्वील, चेन, ह्याण्डिल, डिस्कलक लगाउन तथा सुरक्षा साइरन जडान गर्न, मानिसको आवतजावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न ट्राफिक प्रहरीले अनुरोध गरेको छ । 

सवारीसाधन हराएमा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा कल गर्न वा नजिकको प्रहरी कार्यालयमा निवेदन दिन पनि आग्रह गरिएको छ ।

टिप्पणीहरू