शिथिल अर्थतन्त्रसँगै वित्तीय जोखिम बढेको छ । पुँजी बजारमा हरियोको सट्टा जताततै रातो रंग देखिएको धेरै भइसक्यो । विदेशी अनुदान ठप्प छ भने आन्तरिक र बाह्य ऋण निरन्तर बढ्दो छ । बैंक तथा वित्तीय संस्थाको बद्मासीसँगै सो क्षेत्रको नियमनकारी निकाय केन्द्रीय बैंकको भूमिका र क्षमतामाथि समेत प्रश्न चिह्न उठ्न थालेको छ।
सहकारी, लघुवित्त संस्थामा एकपछि अर्को समस्या थपिएका छन् । हिमालयन बैंकको अगुवाइमा तीन वटा बैंकले बुद्ध एअरलाई प्रचलित कानुन मिचेर दिएको साढे पाँच अर्बको ऋणजस्तै अन्य कम्पनीमा पनि त्यो प्रवृत्ति नभएको ठोकुवा गर्ने विश्वासिलो आधार नदेखिएपछि अनेकौँ आशंका गर्न थालिएको छ ।
बुद्ध एअरका अंशियार तत्कालीन अध्यक्ष सुरेन्द्र बस्नेतका दुर्ई भाइ छोरा छन् । जेठो वीरेन्द्रका आफू, श्रीमती र दुर्ई छोरीसँगै कान्छो शिवेन्द्रका श्रीमती, दुर्ई छोरी र छोरा उक्त कम्पनीको मालिक हुन् । वीरेन्द्रको परिवारलाई ६० र शिवेन्द्रको परिवार ४० प्रतिशत अंशियार रहेको कम्पनीले अर्बौैं ऋण लिँदा कानुनी प्रक्रिया मिचिएकोबारे राष्ट्र बैंकको सुपरीवेक्षण विभागले अन साइट तथा अफ साइट इन्स्पेक्सनमा आँखा चिम्लिएको पुष्टि भएको छ । विभागले तोकिएको जिम्मेवारी निर्वाह नगरेको भन्दै लिखित उजुरी गभर्नरको कार्यालयअन्तर्गत वित्तीय साक्षरता तथा ग्राहक संरक्षण महाशाखामा पुगेको छ ।
बुद्धका लगानीकर्तामध्ये आदर्श बस्नेत, अर्चना बस्नेत र शिवानी बस्नेतले हिमालयन बैंकले कम्पनी ऐन २०६३ को दफा १०५ मा भएको व्यवस्था उल्लंघन गर्दा वित्तीय क्षेत्रमा उच्च जोखिम बढेको दाबी गरेका छन् । उक्त दफाबमोजिम बुद्ध एअरलाई विमान खरिदको निम्ति हिमालयन बैंकको नेतृत्वमा अन्य तीन बैंकले साढे पाँच अर्ब रूपैयाँ प्रदान गर्नुअघि कम्पनीको साधारण सभाबाट विशेष प्रस्ताव पारित गर्नुपर्नेमा सो गरेको देखिएन । नियमित व्यावसायिक कारोबारको निम्ति कम्पनीले बैंक वा वित्तीय संस्थाबाट छ महिनाभन्दा कम अवधिका लागि लिएको ऋण सुविधाबाहेक आफ्नो चुक्ता पुँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढि हुनेगरी ऋण लिन नपाइने कानुनको उल्लंघन हुनेतर्फ हिमालयन बैंकले कर्जा प्रवाहअघि कुनै मतलब नगरेको ४० प्रतिशत लगानीकर्ताको दाबी छ ।

उनीहरूका अनुसार बुद्ध एअरको आर्थिक वर्ष २०८०–८१, २०७९–८० र २०७८–८९ मा कुल पुँजी र रिजर्भ गरेर चुक्ता पुँजी क्रमशः २ अर्ब ७८ करोड ६३ लाख, १ अर्ब ९९ करोड ८० लाख र १ अर्ब ७४ करोड ७२ लाख थियो । तीन वर्षमा कूल कर्जा क्रमशः ४ अर्ब १८ करोड २ लाख, ३ अर्ब ३ करोड ४१ लाख र ३ अर्ब १९ करोड २० लाख लिएकाले यसबाट कम्पनीको चुक्ता पुँजी र सञ्चित मुनाफा रकमभन्दा बढी हुनेगरी छ महिनाभन्दा बढीका लागि कर्जा लिएको स्वतः पुष्टि हुन्छ । आर्थिक वर्ष २०८०–८१, २०७९–८० र २०७८–७९ मा चुक्ता पुँजी र सञ्चित मुनाफाभन्दा बढी लिएको कूल कर्जा रकम क्रमशः १ अर्ब ३९ करोड ३९ लाख, १ अर्ब ३ करोड ६१ लाख र १ अर्ब ४४ करोड ४८ लाख भएकाले ऋण र इक्विटी अनुपात क्रमशः १ः५०, १ः५२ र १ः८३ हुन आएको छ ।
यसरी विद्यमान कम्पनी ऐनको व्यवस्था बर्खिलाप हुनेगरी दिइएको कर्जाले वित्तीय जोखिम बढाएको प्रष्ट छ । एकातिर हवाई उद्योग निकै जोखिमपूर्ण व्यवसाय भएको र अर्कोतर्फ कम्पनीमा अल्पमत सेयरधनीहरूसँग सल्लाह र सहमति नै नगरी तोकिएको कानुन उल्लंघन गर्दा कर्जाको जोखिम बढ्न गएको हो । यस्तो अवस्थामा हिमालयन बैंकलगायतले बुद्ध एअरलाई दिएको साढे पाँच अर्ब रूपैयाँको कर्जालाई सतप्रतिशत प्रोभिजन गर्नुपर्ने थियो ।
यता, हिमालयन बैंकको पाटन शाखा प्रबन्धक राजेश्वरनन्दन सिंहले राष्ट्र बैंकलाई माघ ४ गते पठाएको पत्रमा पनि वीरेन्द्र बस्नेत, उनकी श्रीमती सुनिता, छोरीहरू आरजू र आस्था बस्नेतको मात्र व्यक्तिगत जमानी लिएर कर्जा प्रवाह गरेको स्वीकारिएको छ । कर्जाको निम्ति कम्पनी ऐनबमोजिमका सेयरधनीहरूको तर्फबाट साधारण सभामा लिनुपर्ने मञ्जुरीनामा नलिएकोबारे भने बैंकले मौनता साँधेको छ । त्यस्तै भोलि कम्पनीको अवस्था खराब भएमा ऐनबमोजिम ४० प्रतिशत सेयर होल्डरको जिम्मेवारीमा रहेकाहरूको स्वामित्वमाथि बैंकले दाबी नगर्ने कुनै आधार देखिँदैन ।
यता, शिवेन्द्रको परिवारले बुद्धका अध्यक्ष तथा दाजु वीरेन्द्रले अनर्गल प्रचार गरेको भन्दै चित्त दुखाएको छ । उनीहरूको भनाइ छ, ‘ऊ बेला पिताजीले लगाइदिनुभएको भागलाई अहिले कानुनबमोजिम गरिदिए लम्बेतान गर्नै पर्दैन । उल्टै आफ्ना गल्ती कमजोरी ढाकछोप गर्न हामीविरुद्ध गलत प्रचारमा लागेकोमा मन कुँडिएको छ ।’
-उत्तम कार्की