प्रेममा आँखा चिम्लेर सीमा नाघेकी नानी, फर्केर आइनन् अनि

प्रेममा आँखा चिम्लेर सीमा नाघेकी नानी, फर्केर आइनन् अनि

केटाकेटीमा कल्पना गरेजस्तो पवित्र नहुने रहेछ मायापिरतीका सम्बन्धहरु । सम्बन्ध न त सुरुवातमा जस्तै सँधै मीठो हुन्छ !  न त प्रेम, यौन र विवाह एउटैमा समाहित भएर सदैव रमाउन सक्छ ! तैपनि केटाकेटीहरु ट्रु र डिप लभ भन्दै प्रेममा एकोहोरो भएर लाग्ने गरेको धेरै पाइन्छ । हुन त बाल्यकालको प्रेम गाढा र पवित्र हुन्छ भन्ने पनि छ । तर, आफ्नो पढाइ, करिअर र परिवार भुलेर मायामा आँखा चिम्लेर हामफाल्नेहरु कालान्तरमा बिछोड होस् या मिलनमै पनि सोचेजस्तो नभएर पश्चातापमा जल्दै, घुटघुटिँदै बाँच्नुपरेका अवस्था अनगिन्ती छन् । 

मान्छेको गति र मतिका कति कुरा भाग्य वा नियति पनि होला ! जेहोस्, भरतपुरकी एउटी १५ वर्षीया बालिका यही प्रेमको चक्करमा बारम्बार हराइरहेकी छिन् । आफ्नो घरपरिवार, आमाबाबु, विद्यालय–साथीसंगी सबै त्यागेर उनी भारतीय युवकसँग देशै नाघेर गएकी छिन् । दुई-दुई पटकसम्म खोजेर ल्याउँदा पनि उनी फेरि त्यही केटासँग भागिन् । तर, अहिले यतिबेला कहाँ र कस्तो हालतमा छिन् भन्नेचाहिँ अत्तोपत्तो लागिरहेको छैन । 

विद्यालय पढ्दै गरेकी छात्रा हुन् उनी । खै कसरी ! बेलचोकतिर बसेर मजदूरी गर्ने भारतीय युवकको प्रेममा परिछन् । एक दिन स्कूल जानेक्रममा साईकलसमेत विद्यालयमै छोडेर युनिफर्ममै उनी उनै युवकसँग भागेर गइन् । घटना गत वर्ष फागुनतिरको  हो । विद्यालय गएकी छोरी घर नआएपछि बाबुले जिल्ला प्रहरीमा उजुरी गरे । प्रहरीले अदालतबाट कल डिटेलको अनुमति लिएर खोजतलास गर्दा उनी बोर्डरछेउ पुगिसकेको थाहा भयो ।

शुरुमा नेपालगञ्जबाट प्रहरीले केटासहित फर्काएर ल्याई बालिकालाई परिवारको जिम्मा लगाइदिएको थियो । मान्छे फेला परेपछि परिवारले पनि ‘ठिकै छ एकपटकलाई गल्ती भयो, किन मुद्दामामिला गर्ने !’ भनेर १९-२० वर्षको युवकलाई केही नगरी छोडिदिए ।

तर, त्यसको केही दिनपछि युवती फेरि हराइन् । र, पहिलाजस्तै खोजतलास गर्न थालियो । यतिखेर त उनी त्यही केटासँग इण्डिया पुगिसकेकी थिइन् । प्रहरीले आफन्त नेपालको सहयोग लिएर भारतको बाल कल्याण समितिसँग पनि समन्वय गरी दोस्रोपटक बैंग्लोर सिटीबाट उनलाई फर्काएर ल्यायो ।

‘पुग्न त म बैंगलोर पुगेर लिएर आएँ नि यसलाई । एक्सप्रेस ट्रेनमा जाँदा पनि ३६ घन्टा लाग्दो रहेछ’, युवतीका बाबुले भने, ‘अहिले त सोधखोज गर्नै छोडिदिएँ ।’  मन–मुटु गाँठो पार्दै यी पिता अगाडि भन्छन्, ‘हामीलाई मात्र चिटिङ गरिन, ऊ आफूले आफैंलाई घात गरेर गएकी हुँदा त्यसको परिणाम आफैंले भोग्ने छे ।’ 

त्यतिबेला केटीलाई भारतमा रेस्क्यु गर्दा केटाचाहिँ भागेको बताइयो । बालिकालाई फर्काएर केही समय आफन्त नेपालमा पनि राखी सम्झाइ-बुझाइ नगरिएको होइन । घर गएर उनी फेरि गत कात्तिकमा त्यही केटाको पछि लागेर गएकी हुन् । केटाले मोबाइल दिएको रहेछ, त्यही मोबाइलबाट लुकीचोरी फोन सम्पर्क गरी उनी फेरि उसैसँग गएकी बुझिएको छ ।

प्रहरीले पनि राम्रै सम्झाएको थियो । ‘केटाकेटी उमेरमा त्यसरी हिँड्नु हुँदैन, पछि दुःख पाइन्छ । अब घरमै बसेर राम्ररी पढ्नु, केही परे मलाई फोन गर्नू’ भनेर चितवन प्रहरीको महिला तथा बालबालिका सेल प्रमुख इन्स्पेक्टर निलम तामाङले उनलाई आफ्नो फोन नम्बर पनि दिएकी थिइन् । दोस्रोचोटि भागेर गएपछि उक्त नम्बरमा कन्ट्याक्ट गरेर केटाले ‘म आउँदिन, केटीको बुबाले मुद्दा हाल्नुभाछ’ भनेको बताइन्छ । तर, अहिले ठ्याक्कै कहाँ छन् भन्नेचाहिँ थाहा नभएको प्रहरी र परिवारजन बताउँछन् । 

केहीअघि ह्वाट्सअपमा दुवैले सँगै खिचेको (केटीले सिन्दूर लाएको, घुँघट ओढेको) फोटो राखी प्रोफाइल पिक्चर बनाएको पाइएकोसम्म जिल्ला प्रहरी कार्यालयबाट बुझिएको छ । उतिबेलै जबरजस्ती करणी र मानव बेचविखनमा केटालाई मुद्दा हाल्न मिल्ने भएपनि केटीका परिवारजनले त्यस्तो नगरेको प्रहरीको भनाइ छ । 

युवतीका बाबु शिक्षक हुन् । पटक–पटक फर्काएर ल्याउँदा पनि फेरि भागेर जानु छोरीकै गल्ती मानी जसोतसो मन थामेर बसेका छन् । तर छोरी त्यसरी हिँडेदेखि उनको मनमा सन्तोष भने रत्ति छैन, मानसिक रुपमा विक्षिप्त छन् ।  

केटाको आमा इण्डियन, बाबु वीरगञ्जतिरको भन्ने छ । जेहोस्, केटीका बाबुले प्रहरीमा आफ्नो जाहेरी रहेको र केटा फरार प्रतिवादी भएको हामीलाई बताएका छन् । पछिल्लोपटक केटा फेला नपरेको अवस्थामा प्रहरीमा जबरजस्ती करणी मुद्दा दर्ता भएको बताइएको छ । 

यता, नेपालमा मामाघर रौतहटबाट भागेर आई भरतपुरमा कुनै पुरुषसित पति–पत्नीसरह बसिरहेकी भारतकी मुस्लिम केटीलाई केही समय माइती नेपालमा राखी अहिले भारतकै संस्थासँग समन्वय गरेर आफ्नै देश फर्काइएको अवस्थामा भारतको केटासँग गएकी यी बालिका भने यता नफर्किंदा परिवारजन अत्यन्त पीडामा छन् । अझै पनि बालिका छोरी फर्की आए हुन्थ्यो भन्ने झिनो आशामा आँसु पिउँदै जिउँदै छन् । 

ख्यालरहोस्, किशोरावस्थामा प्रेममा आँखा चिम्लेर हामफाल्दा पछि अनेक ठक्कर हण्डर खानेहरु कोही बेचिएका पनि छन् । कोही लुटिएका, कुटिएका र अलपत्र पारी छोडिएका छन् । अन्धो प्रेमले धेरैलाई घर न घाटको, मर्नु न बाँच्नुको हालतमा पुर्याउने गरेको धेरै घटना हाम्रै अगाडि छन् । 

टिप्पणीहरू