जेल हाल्छु भन्ने गुरुङ ठूलो जोखिममा

जेल हाल्छु भन्ने गुरुङ ठूलो जोखिममा
सुन्नुहोस्

विमल गुरुङलाई बीचमै हटाउँदा दूधकोशी जलविद्युत आयोजनाको हालत के होला ? मन्त्री, प्रधानमन्त्रीले प्रशंसामात्रै खोज्ने, कर्मचारीको आलोचना सुन्न नपर्ने ? काम गर्ने मान्छेलाई हटाएर के गर्ने ? प्रधानमन्त्रीकै निर्देशनमा यसअघि विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङलाई हटाउन उद्यत भएका उर्जामन्त्री दीपक खड्का अहिले विमल गुरुङको पछाडि हात धोएर लागेका छन् ।

४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना अगाडि बढाउन र निर्माण सक्न महत्वपूर्ण भूमिका खेलेका विमललाई अलपत्र अवस्थामा रहेको ६७० मेगावाटको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना जिम्मा दिइएपछि किफायती ढंगबाट कामले गति लिइरहेको बताइन्छ । आयोजनाको प्रवद्र्धक दूधकोशी जलविद्युत कम्पनी लि.को सञ्चालक समिति बैठकले गुरुङलाई २०८० साउनमा प्रमुख कार्यकारी अधिकृत (सिइओ)को पनि जिम्मेवारी दिएको थियो । एशियाली विकास बैंक नेतृत्वको आयोजनामा लगानी जुटाउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ । आयोजनाको मुख्य निर्माण शुरु हुनुअघि पूर्वका पहुँचमार्ग, कार्यालय तथा कर्मचारी आवासगृह निर्माण शुरु भइसकेको छ । प्राधिकरणको १० तह (प्रबन्ध) का गुरुङ विषयगत क्षेत्रमा पोख्त, निडर र हक्की स्वभावका मानिन्छन् ।

उनले कुनै एक अनलाइनमा झण्डै चार महिनाअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई सोधिएको स्पष्टीकरणबारे छापिएको ‘ऊर्जामन्त्रीको १५ बुँदे स्पष्टीकरण : तोरीको गेडामा प्वाल’ शीर्षक समाचार आफ्नो फेसबुक पेजमा सेयर गरेका थिए । उक्त समाचारको बायाँतर्फ प्रधानमन्त्री केपीशर्मा ओली, दायाँतर्फ ऊर्जा, जलस्रोत तथा सिञ्चाइमन्त्री दीपक खड्का र बीचमा कुलमान घिसिङको फोटो राखिएको थियो । गुरुङले उक्त समाचार सेयर गर्दै ‘हो नि, यिनीहरूलाई प्राधिकरण सबल र सक्षम बनेको देख्नु नै छैन, दैनिक १० घण्टाकै कालो युगमा लग्नु छ तर अफसोस, यिनलाई कालकोठरीमा कसले र कहिले पुर्‍याउने हो ? यी कुपात्रलाई इतिहासको कठघरामा नउत्राइ हुन्न । कुपात्रहरूको हात र साथ सुप्पियौं भने यस्तै हाल हुन्छ, सबैलाई चेतना भया’ लेखेका थिए ।

त्यसपछि मन्त्री खड्काको सचिवालयले गुरुङविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा विद्युतीय कारोबारसम्बन्धी अपराध (साइबर क्राइम) अन्तर्गत कारबाही गर्न निवेदन दियो । लगत्तै उक्त स्टाटस हटाएर माफीसमेत मागे र आफ्नो एकाउन्ट नै बन्द गरिदिए ।

त्यसलगत्तै ‘निजलाई किन नहटाएको ? तुरुन्त हटाइहाल्नू !’ किसिमको व्यहोरा लेख्दै प्राधिकरणलाई पत्राचार भएको छ । जिम्मेवारीबाट हटाउनेबारे मन्त्रालयले यही फागुन ८ गते लेखेको गोप्यपत्रमा ‘दूधकोशी जलविद्युत आयोजनाको प्रमुख कार्यकारी अधिकृत, श्री विमल गुरुङले यस मन्त्रालय र मा. मन्त्रीज्यूबारे सामाजिक सञ्जालमा गैरजिम्मेवार ढंगले समाचार सम्प्रेषण गरेको हुँदा निजलाई सो जिम्मेवारीबाट तत्काल हटाउने सम्बन्धमा प्राधिकरण सञ्चालक समितिको बैठकमा समेत छलफल भई निर्देशनसमेत भइसकेकोमा निजलाई हालसम्म पनि नहटाएको भन्ने बुझिन आएको हुँदा तत्काल हटाई सो को जानकारी गराउनु’ भनिएको छ ।

मौखिक रुपमा भन्नु सामान्य भए पनि यस्तो कुरामा मन्त्रालयबाट पत्र नै लेखिनुलाई अस्वभाविक मानिएको छ ।

दूधकोशी जलाशययुक्त जलविद्युत आयोजना एक मेगा प्रोजेक्ट र सार्क क्षेत्रको अहिलेसम्मकै सबैभन्दा ठूलो बाँध आयोजना हो । गुरुङ प्रमुख भएपछि यस आयोजनामा पहिले भएका अनुपयुक्त डिजाइनहरूसमेत परिवर्तन गरिएको छ । मुख्य सुरुङ ड्रिलिङ र ब्लास्टिङ विधिबाट खन्ने गरी डिजाइन गरिएकोमा अब टिबीएम विधिबाट खन्ने भएपछि करिब ४ किमि सुरुङ र ८ किमि पहुँच सडक खन्न नपर्ने तथा सुरुङको ३ लाख ३० हजार घनमिटर खनाइ घट्ने बुझिन्छ । १८ किमि लामो १३२ केभी प्रसारण लाइनको सट्टा १.५ किमि, ४०० प्रसारण लाइन डिजाइन गरिएको छ । यसबाट भविष्यमा निर्माण गरिने अर्को नयाँ २०० मेगावाटको ड्याम टोइ पावरहाउसको समेत बिजुली प्रवाह गर्न पुग्ने र करिब ४५ वटा धेरै महँगो मल्टी भोल्टेज मल्टी लेभल टावरको सट्टा सिम्पल टावरको डिजाइन गरिएको हुँदा करिब रु. ७५ करोड बचत हुने भएको छ ।

करिब १०० किमि पहुँच मार्गहरूको विस्तृत डिजाइन भइसकेको छ । १५० मिटर लामो भोजे मोटरेबल पुल र लामिडाँडामा कार्यालय र आवासीय भवनहरूको ठेक्का सम्झौता गरिएको छ । इमर्जेन्सी स्पिलवेमा कुनै कम्पनीको प्याटेन्ट राइट भएको करिब पौने तीन अर्ब पर्ने स्टिल फ्युज गेटको सट्टा कस्ट इभेक्टिभ सिम्पल स्ट्रक्चर्स (ल्याबिरिन्थ स्पिलवे र अर्थन इम्ब्यांकमेन्टको कम्बिनेसन) को डिजाइन गर्न लगाइएको सिईओ गुरुङ बताउँछन् ।

दोस्रो चरणमा थप अर्को २०० मेगावाटको स्टान्ड अलोन ड्याम टोइ पावरहाउस निर्माण गर्नका लागि पहिलो चरणमा नै निर्माण गर्नुपर्ने संरचनाहरूको डिजाइन गरिएको छ ।

यसरी लागतसमेत घट्नेगरी एउटा ठूलो अलपत्र आयोजनालाई गति दिइरहेका प्रमुख कार्यकारी अधिकृतलाई उर्जामन्त्रीको समाचार शेयर गरेकैले जिम्मेवारीबाट बर्खास्त गर्न खोज्नु आपत्तिजनक भएको त्यहींका कर्मचारी बताउँछन् । दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनामा अहिले प्रारम्भिक चरणका कामहरू भइरहँदा मन्त्रीको उक्त हठले अप्ठेरो पर्ने देखिएको छ । उक्त आयोजनामा सबै प्राधिकरणबाटै खटिएर गएका कर्मचारी छन् ।

टिप्पणीहरू