ड्राइभरहरुको हानाहानपछि लखेटिएकाहरु पुगे बसपार्क
चितवनको भरतपुरमा गाडीवालाहरु आफू–आफूमै झगडा गर्न थालेपछि चौबीसकोठीबाट लखेटिएका छन् । आज बिहान पश्चिम चितवन रुटमा चल्ने सिटी बस र म्याजिक गाडीका स्टाफबीच पार्किङको विषयमा विवाद भई झडपकै स्थिति निम्तिएपछि उनीहरुलाई बसपार्कमै पठाइएको छ ।
यसअघि सँधै १२ देखि १५ वटा म्याजिक र ५–७ वटा सिटी तथा मिनी बसहरु बाटो छेउमा राखेर क्यान्सर अस्पताल, कैलाशनगर, रामपुर, चनौली, मेघौली, गोलाघाट, गीतानगर, पटिहानी, जगतपुर, भुवनबस्तीलगायतका विभिन्न रुटका यात्रुहरु भरेर लैजाने गरिन्थ्यो । माडी र ठोरीसम्मका मिनीबसहरुले पनि सोही स्थानमा रोकेर यात्रु भर्थे ।
चौबीसकोठी चोकको मुखमै म्याजिक रहँदा अलि पर राखिने ठूलो बसमा यात्रुहरु कम भएपछि आज सिटीबसले पनि म्याजिकसँगै यात्रु भरेको थियो । म्याजिकहरु रहँदै आएको ठाउँमा गीतानगर रुटमा चल्ने सिटीबस राखेर मान्छे भरिएपछि हिँडाउनै लाग्दा एकाएक लफडा भएको बताइन्छ । एकथरीले म्याजिक गाडीहरु बाटोमा तेस्र्याएर सिटी बसलाई अवरोध गरेको आरोप लगाएका छन् ।

त्यसपछि दुई पक्षबीच हानाहानसमेत भई विवादले उग्ररुप लिएपछि कुरा सिडिओ कार्यालयसम्म पुग्यो । प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेलबाट तत्काल उक्त स्थानका सबै गाडी हटाउन प्रहरीलाई निर्देशन भएबमोजिम बिहानैदेखि उनीहरुलाई भरतपुर बसपार्कमा पठाइएको हो ।
माथिको निर्देशनपछि अहिले त्यहाँ खटिएका ट्राफिक प्रहरीले एकैछिन मान्छे चढाउन बाहेक धेरैबेर कुनैपनि गाडीलाई रोक्न दिएका छैनन । यसपछि चौबीसकोठीबाट त्रिचोकतर्फ जाने बाटो केही खुलासमेत भएको छ ।
यसबारे जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक गायत्रीराज शर्माले ट्राफिक व्यवस्थापनको निम्ति त्यहाँबाट हटाएर बसपार्क पठाइएको बताए । अब गाडीहरु भरतपुर बसपार्कमै राख्ने र चौबीसकोठीमा पिक एण्ड ड्रप मात्रै गर्ने सहमति भएको चितवनका प्रहरी प्रमुख एसपी राजन लिम्बुले जानकारी गराएका छन् ।
टिप्पणीहरू