परीक्षाको उत्तरपुस्तिका बाँधेको कपडा च्यातचुत

परीक्षाको उत्तरपुस्तिका बाँधेको कपडा च्यातचुत

रोल्पामा परीक्षाको उत्तरपुस्तिका बाँधेको कपडा कैँचीले काटेर स्टिचिङ गरेको अवस्थामा फेला परेको छ । लुङ्ग्री गाउँपालिकाले लिएको ८ कक्षाको परीक्षाको उत्तरपुस्तिका पोको पारेको कपडा काटेको भेटिएपछि स्थानीयले विरोध गरेका छन् । बद्नियत राखेर कपडा काटिएको स्थानीयको आरोप छ ।

वडा नम्बर–२, सिर्पस्थित गोकुल माध्यमिक विद्यालयमा दुईटा विद्यालयको परीक्षा केन्द्र तोकिएको थियो । गत फागुन २६ गतेदेखि शुरु भएको परीक्षामा तल्लो सिर्पको हिक्मतेश्वर आधारभूत विद्यालय र वडा नम्बर–३ स्थित जुतुङखोलाको सामाजिक माध्यमिक विद्यालयको १८४ जना परीक्षार्थी सहभागी थिए । 

परीक्षापछि शिक्षा शाखाका कर्मचारीलाई उत्तरपुस्तिका हस्तान्तरण गरिएको थियो । सिल्ड गरेर दराजभित्र राखिएको उत्तरपुस्तिकाको पोको काटेको पाइएको घटनाले सामाजिक सञ्जालमा खैलाबैला मच्चाएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ताले छानबिनको माग गरिरहेका छन् । कपिल आले मगरले विद्यार्थीको भविष्यसँग खेलबाँड गर्नेलाई कडा कारबाही गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका छन् । 

उनी लेख्छन्,‘यी सब के नियतले गरियो, कुन उद्देश्यले गरियो ? यत्रो दिन मेहिनेत गरेर पढेका विद्यार्थीको जीवनमाथि खेलबाँड किन गरियो ? श्री गोकुल माध्यमिक विद्यालय, लुङ्ग्री–२, सिर्प, रोल्पाको प्रशासन कस्तो खाले प्रशासन हो ? यो कार्य कसले गर्यो किन गर्यो छिटोभन्दा छिटो अनुसन्धान गरी सोही कार्य गर्ने शिक्षक लागि कडा कारबाही हुन जरुरी छ ।’

त्यसैगरी, उमन घर्तीमगरले सो घटनालाई लज्जास्पद र गैरजिम्मेवारीपनको पराकाष्ठाको नाम दिएका छन् । ‘लज्जास्पद तथा गैरजिम्मेवारी घटना, १८४ जना परीक्षार्थी बालबालिकाको उत्तरपुस्तिकासमेत कैँचीले काटिदिने जोकोही शिक्षकलाई सामाजिक बहिष्कार हुनुपर्छ । विद्यार्थीको भविष्य र विद्यालयको धज्जी उडाउन प्रयास गर्ने चेष्टा पाखण्डी मुर्खलाई नाङ्गो पारी कालोमोसोसहित समाजवाट बहिष्कार हुन आवश्यक छ । यद्यपि, यस घटनामा कुनैपनि राजनीतिक दलले आफ्नो पावर पहुँचको आडमा संरक्षण गर्नतर्फ लागेमा कोही कसैलाई बाँकी राखिने छैन् भन्ने हेक्का होस्’,उनले लेखेका छन् । 

यता, विद्यालयका प्रधानाध्यापक युवराज केसीले घटनाबारे छानबिन गर्न पाँच सदस्यीय समिति गठन गरिएको बताए । गाउँपालिकाले शिक्षा शाखाका प्रमुख, प्रहरी, वडाध्यक्ष राखेर समिति गठन गरेको उनको भनाइ छ । सो समितिलाई छानबिनका लागि पाँच दिनको समय दिइएको उनले जानकारी दिए । ‘म त्यतिबेला बाहिर थिए । उत्तरपुस्तिका प्याक गरेको कपडा च्यातिएको भेटियो । त्यसपछि विवाद भयो । गाउँपालिकाले छानबिनका लागि समिति गठन गरेको छ’,उनले भने ।
 

टिप्पणीहरू