सरकारलाई ब्युँझाउन शिक्षकहरु सिठ्ठी फुक्दै सडकमा

चैत २० गतेदेखि शुरु भएको शिक्षकहरुको काठमाडौँ केन्द्रित अन्दोलन आज चौंथो दिन पनि जारी छ । नेपाल शिक्षक महासंघको अगुवाइमा उनीहरुले आज दिउँसो माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सिठ्ठी जुलुस निकालेका छन् ।   

विद्यालय शिक्षा ऐन जारी गर्न सरकारलाई दबाब दिने उद्धेश्यले देशभरबाट काठमाडौँ आएका शिक्षकहरु उधारो सहमति गर्ने पक्षमा छैनन् । सरकारले यसअघि गरेका पटक-पटकको सहमति र सम्झौता तोडेको उनीहरुको गुनासो छ । अध्यादेश ल्याएर भने पनि माग सम्बोधन गर्न शिक्षकहरुले सरकारको ध्यानाकर्षण गराएका छन् । 

तर, जतिसुकै आन्दोलन गर्दा पनि सरकारमा बस्नेहरुको कानमा बतास नपसेको भन्दै उनीहरुले सांकेतिक विरोधस्वरूप सिट्ठी बझाएर विरोध प्रदर्शन गरेका हुन् । उपत्यकाको विभिन्न स्थानबाट नाराबाजी गर्दै माइतीघरमा भेला भएर त्यहाँबाट निस्किएको र्‍यालि बबरमहल, बिजुलीबजार पुल हुँदै बानेश्वर पुगेर कोणसभामा परिणत हुने बताइएको छ । 

विरोध प्रदर्शनमा हजारौँ शिक्षक सहभागी छन् । बिहान र्‍यालिको अग्रभाग बबरमहल चोक पुग्दा छ हजार हाराहारीमा आन्दोलनकारी सडकमा लामबद्ध देखिए । त्यसबाहेक मूल र्‍यालिमा जोडिन बिशेष अदालत अगाडिबाट करिब ३ सय जनाको समूह मिसिएको थियो । 

जुलुसको नेतृत्व नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले गरेका छन् । त्यस्तै, आन्दोलन परिचालन समितिका केन्द्रीय अध्यक्ष नानुमाया पराजुली, महासचिव तुलबहादुर थापा,नेपाल शिक्षक संघ संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरी, राहत शिक्षक संघका अध्यक्ष खेमराज अधिकारी,  विभिन्न जिल्ला शिक्षक संगठनका अध्यक्ष तथा पदाधिकारीको पनि सहभागिता छ ।

टिप्पणीहरू