बागीश्वरीको जंगलमा चन्दनको सुवास
मानव भन्छौं हामी तर के हो मानवता ? आफू बाचौं र अरुलाई पनि बचाऔं भन्ने भावना खै सबैमा ? आखिर प्राण त सबैको एकै हो । भोक, प्यास, गतिलो बास अनि सुरक्षित र प्रेमपूर्ण वातावरणमा स्वतन्त्र भएर जिउने आश सबैलाई उस्तै होइन र ? तर अधिकांश मान्छे जीवन भनेको आफ्नोमात्र हो जसरी अरुलाई मारेर स्वाद, सन्तुष्टि मानिरहेछन् । शाकाहारी मान्छे त भेटिनै मुस्किल छ । तर केही यस्ता मानिस पनि छन्, जो अरुको सेवा गरेर, अरु प्राणीलाई पनि बाँच्न सहयोग गरेर जीवनको उच्चतम् सुखानुभूति सँगालिरहेछन् ।
गत शनिबार बिहान ८ बज्नै लाग्दा बागीश्वरीको गाई संरक्षण केन्द्र अगाडि एउटा सेतो कार आएर रोकियो, दुईजना ओर्लिए । आफ्नी सानी छोरीलाई पनि लिएर युवा व्यवसायी चन्दन अग्रवाल आश्रममा आएका थिए । चितवनको भरतपुर–१ स्थित बागीश्वरी आध्यात्मिक परिषद् योगी नरहरिनाथ आश्रमको गौशालामा पालिएका गाईलाई खुवाउन भनी ल्याएको एकबोरा बन्दागोभी डिक्की खोलेर चन्दन आफैंले सकीनसकी निकाले । प्लाष्टिकको ठूलै झोलाभरि टन्न गाजर पनि ल्याएका थिए । त्यहाँ भेटिएका एक युवकको सहयोगमा दुईजना भएर बन्दाको बोरा बोकी गाईहरु भएको नजिक पुर्याए । गाजर पनि लगे । अनि बाबुछोरी भएर ती बन्दागोभी र गाजर गाईलाई खुवाउन थाले । चन्दनले आफ्नै हातले गाईहरुलाई खुवाउँदै गाईलाई खान दिन छोरीलाई पनि सिकाउँदै थिए । बन्दा काटेर टुक्राउन आश्रमका मान्छेले सहयोग गरे ।
भरतपुर–१ निवासी चन्दन यहाँ सधैंजसो हरेक बिहान पशुपक्षीका लागि खानेकुरा बोकेर आइरहने रहेछन् । बागीश्वरीको गौशालामा पालिएका गाई अनि जङ्गलमा रहेका बाँदर र परेवाहरुलाई खुवाउन बजारबाट किनेर खानेकुरा लगिदिँदा रहेछन् । कहिले यस्तै सिजनल तरकारीहरु त कहिले चोकर दाना आदि टन्न ल्याएर गाईबस्तुलाई खान दिँदा रहेछन् । यसरी परिवारसहित आएर नियमित पुण्यकर्ममा लाग्दै आएका उनले भने, ‘४–५ वर्ष भइसक्यो यहाँ यी गाई, बाँदर र परेवाहरुलाई खुवाउन थालेको ।’
परिवारिक पृष्ठभूमिकै कुरा गर्दा पिता उमाशंकर अग्रवाल स्वयम् यहाँका गन्यमान्य प्रतिष्ठित व्यवसायी तथा समाजसेवी हुन् । यहाँ गाईहरुलाई राख्न गौशाला समेत उमाशंकर ट्रष्टले नै बनाइदिएको हो । यो गौशाला पहिला अलि जटिल अवस्थामा थियो । गौशालाहरु निर्माण र गाईको व्यवस्थापनमा उनीहरुको महत्वपूर्ण योगदान रहेको बुझिन्छ । अन्य मानवीय सेवाको क्षेत्रमा पनि अग्रवाल परिवारको भूमिका उल्लेखनीय रहँदै आएको छ । दानधर्मको पुण्य कर्ममा मारवाडी समुदायको उदारता र अग्रसरता विशेष नै देखिन्छ । मारवाडीहरु प्रायः भेजिटेरियन हुन्छन् । ३७ वर्षीय चन्दनको परिवार पनि शाकाहारी नै हो ।
‘प्रकृतिसँग हाम्रो सम्बन्ध पनि भयो, मनको सन्तुष्टि र आत्माको लागि आनन्द ¤ यति गर्दा रमाइलो पनि लाग्छ’, शनिबार गाईलाई भोजन गराउँदै उनले भने, ‘अवोध, निमुखा यी प्राणीहरुलाई जंगलमा केही पनि छैन खानको लागि ।’ अहिले झन् डढेलोले वन खाएर उत्पात छ यता । बजारतिरसमेत धुँवाले आँखा पोलेर मानिसहरुलाई सकस भइरहेछ । वनडढेलोले जङ्गलका पशुपन्छीलाई कति आहत भएको होला ?
हिन्दू धर्मावलम्बीहरुले गाईलाई गौमाता भनेर आमाकै रुपमा पुज्दै आएको जनावर हो । यसमा ३३ कोटी देवीदेवताको बास हुन्छ भन्ने एकखाले धार्मिक विश्वास छ । ‘एउटा आस्था हो’, चन्दनले भने, ‘गौसेवा गर्नु हाम्रो पहिल्यैदेखिको संस्कार हो । गाईलाई भोजन गराउँदा पितृहरुलाई खुवाए सरोबर हुन्छ भन्ने मानिन्छ ।’ यिनीहरुलाई अन्न र दानापानी दिँदा उन्नति–प्रगति हुन्छ, रोग संकट आउँदैन भन्ने मान्यतासमेत छ । आफ्नो स्वास्थ्य तथा पारिवारिक प्रगति र आर्थिक समृद्धिले त्यो महसुस र अनुभव पनि गराएको उनी बताउँछन् । महिनाको ३०–३५ हजार रुपैयाँ खर्च गरेर यी पशुपन्छीलाई भोजन गराउँदै आएको उनले बताए । भने, ‘महिनैभरि पुग्ने एकैचोटि किनेर राख्ने गर्छु । दिनको हजार जति खर्च हुन्छ ।’
‘उहाँ काम प¥या बेला मात्र नआउने हो, अरुबेला सधैं आइरहनु हुन्छ’ आश्रमका मठाधीश योगी निरन्जननाथले भने, ‘गाईलाई चना, केराउ, सिजनअनुसार काँक्रो, बन्दा, काउली, टमाटर, केरा र गाजरको सिजनमा गाजर टन्न ल्याउनुहुन्छ, खुवाउनु हुन्छ । उहाँ जस्तै अरुपनि आउनुहुन्छ । गाईलाई जंगलमा चराउन त लानुपर्छ । तर यतिखेर घाँस पनि छैन ।’ अहिले डेढ सय जति लोकल जातिका परम्परागत गाईहरु यस गौसंरक्षण केन्द्रमा रहेको र दाताहरुबाटै धानिएको आश्रमका अध्यक्ष शैलेन्द्र पिया बताउँछन् ।
‘चन्दन अग्रवालजी यो ठाउँमा विगत लामो समयदेखि सेवामा हुनुहुन्छ’, गाई संरक्षण केन्द्रका संयोजक नवराज ढकालले भने, ‘विशेषतः उहाँको पिताजी उमाशंकर अग्रवाल यस गौसंरक्षण केन्द्रको सल्लाहकार नै हुनुहुन्छ । अक्षयकोषको संयोजक भएर पनि लामो समय काम गर्नुभयो । सेवालाई पुस्तान्तरण गर्न उमाशंकर दाजु सफल हुनुभयो’, उनले थपे, ‘त्यही पुस्तान्तरणको एउटा उदाहरण चन्दन अग्रवालजी हो । पिता उमाशंकर अग्रवालबाट प्रेरित हुनुहुन्छ । उहाँ प्रतिदिनको तरिकाले आउनुहुन्छ । आफ्नो बच्चाबच्चीहरुसित आउनुहुन्छ । यहाँ केही असहज पर्यो भने ल है आज हामीलाई खाद्यान्न छैन नि चन्दनजी भनेर भन्दा उहाँले सहज रुपमा उपलब्ध गराइदिनु हुन्छ । उहाँ एक दाता हुनुहुन्छ । गौसेवक, गौभक्तको रुपमा आउनुहुन्छ र एउटा भावसहित उहाँले सेवा गर्नुहुन्छ ।’
गाईलाई खुवाएपछि उनी छोरीसहित गाडी लिएर आश्रमभन्दा अलिकति पर रहेको बाँदरपार्क पुगे । बाँदरहरुको बाक्लै बस्ती रहेछ त्यहाँ । चन्दनले बाँदरका लागि गेडागुडी, मकै, चनाहरु राति नै भिजाएर दुईवटा बाल्टीमा लगेका थिए । बाँदरलाई खाना दिन बनाइएको काठको टाँडमा लगेर दुईठाउँ छुट्टाछुट्टै खन्याइदिए । बाँदरहरु रुखका हाँगा–हाँगाबाट हामफाल्दै आएर झुम्मिँदै रमाउँदै ती खानेकुरा खान थाले । यहाँ आएर सधैं खाना दिइरहने मान्छेलाई बाँदरहरुले किन नचिन्नु ? ती बाँदरले अरुभन्दा आफूलाई राम्रो व्यवहार गर्ने गरेको चन्दनको अनुभव छ । हिन्दू धर्मले बाँदरलाई पनि भगवानकै रुपमा हनुमानको अवतार मान्दै आएको छ । हनुमान मारवाडी समुदायको इष्ट देव नै हुन् । चन्दन भन्छन्, ‘जे भएपनि प्राणी हो, विचरा खान पाएको छैन, जंगलमा केही पनि छैन । खान दिएन भने यिनीहरुले मानवलाई नै डिस्टर्ब गर्ने हो । दिँदा फेरि आनन्द लाग्न लायो । सुरु एक दर्जन केरा, एक पाकेट बिस्कुट ल्याएर दिन ला’को । गर्दा गर्दै बानी बस्यो । आफूलाई आनन्द अनि रमाइलो लाग्न थाल्यो । व्यक्तिगत आत्मसन्तुष्टि भइरहेछ ।
हाम्रो हिन्दूधर्ममा प्राणीको सेवा गर्नु भन्ने आशय छ’, उनले भने । बजारतिरका कुकुरहरुलाई पनि खुवाउन गाडीमा बिस्कुट लिएर हिँड्दा रहेछन् । बाटोमा भेटिने भोका, असहाय तथा सहयोगापेक्षी मानिसहरुलाई दिन राखेको खुद्रा पैसाको गड्डी पनि उनको गाडीमा थियो । मानवसेवातर्फ अनाथ एवम् असहाय बालबालिकाहरुको पालनपोषणमा समेत उनीहरुले विभिन्न सहयोग गर्दै आएको पाइन्छ । उमाशंकर ट्रष्टले जानकी बालिका आश्रमलाई कोठाहरु निर्माण गरिदिएको छ भने देवघाटकै गार्गी कन्या स्कूलमा पनि नियमित रासन पठाउने गरेको चन्दनले बताए । ‘नारायणी माविमा अनाथ दीनदुःखी विद्यार्थीहरुलाई हाम्रो छात्रवृत्ति पनि चलिराछ’, उनले भने ।
शनिबार भरतपुर–१० का काशीराम आचार्य पनि श्रीमतीसहित गाईहरुलाई खुवाउन बोरामा ढुटो लिएका आएका भेटिए । ‘समय समयमा आइरहन्छौं हामी । गाई भएको ठाउँमा आउँदा खालि हात के आउनु भन्ने हुन्छ’, काशीले भने, ‘धर्म परम्परा अनुसार बाउबाजेकै पालादेखि गाईलाई माताको रुपमा पूज्दै आएका छौं । कहिले बटुकहरुका लागि चामल अनि यस्तै परेवा र बाँदरलाई पनि खानेकुरा ल्याइदिने गरेको उनले बताए । चन्दन र उनकी छोरीले गाईलाई सागसब्जी खुवाउँदै गर्दा सँगै अरु दुईजना महिलाहरुले पनि आफूले ल्याएको भेली गाईलाई खुवाउँदै थिए ।
केन्द्रले यी गाईहरुको गहुँत सँगाली औषधिको रुपमा अर्क बनाएर बिक्रीवितरण पनि गर्न थालेको छ । ‘गोबरको पनि धुप, साबुन र पेष्ट बनाउन सकिन्छ’, आश्रमका अध्यक्ष शैलेन्द्र भन्छन्, ‘गाईको दूध र दहीमहीमा पनि औषधिय गुण हुन्छ ।’ सुगर भएकालाई गाईको महीले राम्रो हुने आफ्नै अनुभव सुनाउँदै उनले भने, ‘गाईको घिउले दुखेको ठाउँमा मालिस गर्दा ठिक हुन्छ, घिउको धुँवाले पनि उपचारको काम गर्छ भन्ने छ ।’
टिप्पणीहरू