उपकुलपति बरालले त्यसपछि मुख खोल्ने

उपकुलपति बरालले त्यसपछि मुख खोल्ने

त्रिभुवन विश्वविद्यालय (त्रिवि)का उपकुलपति प्रा.डा. केशरजंग बरालले राजीनामा दिएको दुई हप्ता भैसकेको छ, तर कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकृत गरेका छैनन् । 

गत चैत १४ गते पिएसओ, गाडीलगायतका सेवासुविधा फिर्ता गरेका बरालले भोलिपल्ट (चैत १५) सचिवालयमार्फत् प्रधानमन्त्री कार्यालयमा राजीनामा पत्र बुझाएका थिए । अहिले उपकुलपति निवास छोडेर पोखरास्थित निजि निवासमा रहेका उनले स्वास्थ्य समस्याको कारण राजीनामा दिएको बताए पनि भित्रि कुरा अर्कै छ भनिन्छ । 

त्रिविका एक पदाधिकारीका अनुसार बरालको व्यक्तित्व शालिन र भद्र छ, उनी कसैसँग बद्ला र रिसरागको भावना राख्दैनन् । ‘कसैले एक झापड हान्दा उहाँ अर्को गाला पनि थापिदिने टाइपको मान्छे हो’, ती पदाधिकारी भन्छन्, ‘कुलपति (प्रधानमन्त्री)ज्यूले अमापनजनक ढंगको व्यवहार देखाएपछि उहाँ (बराल) अलि खिन्न हुनुभएको हो, केही महिनाअघि नै यसरी काम गर्न सक्दिनँ भन्नुभएको थियो ।’ 

कतिसम्म भने बराललाई प्रधानमन्त्री ओली अध्यक्ष रहेको पार्टी नेकपा (एमाले)का केही सांसदहरुले समेत विभिन्न नियुक्तिमा दबाबपूर्ण धम्कीको भाषा बोलेको ती पदाधिकारीको दावी छ । ‘विश्वविद्यालय सुधार अभियानमा सरकारको असहयोग त थियोे नै, तर बराल सरले गरिरहेको काममा समेत अवरोध सिर्जना गरियो’, उनले थपे । 

त्यसो त, बराल स्वंयले राजीनामापछि ठोस कारणबारे मुख खालेका छैनन् । अहिले दैनिक उनलाई ५० भन्दा बढी फोनकल आउने गरेको बताइन्छ । बरालले राजीनामा स्वीकृत भएपछि मात्र मुख खोल्ने बताएका छन् । 

प्रधानमन्त्रीज्यूको कुनै दबाब हो कि अपामान ? भन्ने जनआस्थाको प्रश्नमा उनले हार्दिकताका साथ भने, ‘मेरो राजीनामा स्वीकृत भएको छैन, स्वीकृत भएपछि मलाई कुनै जानकारी आउँला । त्यसपछि म सबै खुलाउनेछु ।’

बरालको राजीनामा पत्र भने उता प्रधानमन्त्री ओलीको सचिवालयमा थन्किएको बताइएको छ । प्रधानमन्त्री कार्यालयमा पुगेको पत्र ओलीको निर्देशनमा सचिवालयमा लगेर राखिएको बताइन्छ ।
 

टिप्पणीहरू