मान्छेहरु बिहे गरेर कसरी बस्न सकेका होलान् !
सोच्दा पनि अचम्म अनि अत्यास लाग्छ । अरुलाई आफ्नो भनेर बस्नुपर्ने ! आफू पनि अर्काको हुन कसरी सकिन्छ ? मैले त जान्दै जानिनँ । सक्दै सकिनँ । आफ्नै मन त बहकिन्छ मान्छेको, अरुको मन कसरी बाँध्न सकिएला ? वैवाहिक बन्धन जो भनिन्छ । ल तन त जोडियो, मन गाँसिएको यकिन केगरी होला ? न देख्न सकिन्छ, न छुन सकिन्छ अनि कसरी मनमा निश्चित हुन सकिन्छ ?
अदृश्य मनमा भावनाहरु अथाह हुन्छन्, असीम चाहना छन्, मान्छे आफैंमा रनभुल्ल छ, कतिपय कुरा हो, होइन ? छ, छैन ? थाहै छैन । मानौं, कुखुरा पहिला जन्मिएको हो कि अण्डा ? वा ईश्वर छ कि छैन ? यस्तै अनुत्तरित प्रश्नहरुको जालोमा जेलिएका छन् जीवनका कैयौं यथार्थहरु । मान्छेको मनै त अन्जान छ । कहाँ छ ? कस्तो छ ? कसैलाई थाहा छैन । छाती वा मुटुमा छ कि टाउको वा निधारमा ? विचारमा छ वा भावनामा ? कुन विचार हो ? कुन भावना ? तैपनि आउँछन् सोचहरु अनेक तरहका । कताबाट आउँछन्, कसरी आउँछन्, किन आउँछन् ? त्यो पनि थाहा छैन तर हरेक मान्छे आफ्नै दिमागको दुनियाँमा बाँचिरहेछ । बुद्धि हो या विवेक ! आवेग हो कि संवेग ! हामी बहिरहेछौं या यो हामीमा बहिरहेछ ? हामीभित्रै छ वा यतै कतै हाम्रो वरिपरि छ ? तर छ न चाहिँ छ जीवनको यो सत्य !
जब सीमाहीन छ मन अनि एउटा विवाहको घेरो वा सातफेरोमा कसरी रमाउन सक्छ हँ ? नयाँ नयाँ र अझ बढी पाउने लालसामा अतृप्त भएरै मान्छेको जीवन सकिन्छ सायद । आफैं असन्तोषी मन लिएर अरुलाई पो कसरी सन्तोक दिन सकिएला र ? दिलहरु सबै प्यासी–प्यासी छन् । पाएर पनि नपाएजस्तो ! जतिपटक खाएर अघाएपनि फेरि पछि नयाँ भोक जागिहाल्ने संसारको रीत छ ! चरमचुलीको सन्तुष्टि पनि यहाँ क्षणिक भइदिने ! जे छ त्यसैमा स्थिर आनन्द खै ? मान्छेको असन्तोकी स्वभावले नै नयाँ–नयाँ आविष्कारहरु त भएको हो तर ध्वशं पनि त्यही असन्तुष्ट मनले नै गरिराछ । यो ढुलमुले मनको चरित्र के जानुँ ? कहाँ कतिखेर चुहिन्छ, पोखिन्छ । सम्बन्ध जोगाउनै गाह्रो । विश्वास जगाउनै मुस्किल छ ।
त्यसैले फिकाफिका देख्छु सम्बन्धहरु । प्रेमको प्रगाढता पनि स्खलित भएपछि जति नै गरेपनि के भो र ? आफैंभित्रको ‘म’लाई मनाउन असमर्थ छ मान्छे । तैपनि अरुलाई मनाउने निरर्थक प्रयत्नमा जीवन गुजार्छ । आफ्नै मन बेकाबु छ अनि कसरी सम्बन्धहरु काबुमा रहोस् ! शरीर अँगाल्दैमा दोस्रो व्यक्ति आफ्नै बाहुपासमा छ भन्ने हुन्न रहेछ । व्यक्ति त मन हो, शरीर त उसको आवरणमात्रै । आवरणमा अपनत्व पनि त हुँदैन । फलको पनि आफ्नोपन त उसको भित्रको गुदी वा गुणमा नै हुन्छ । तर बाहिरी रुपरंगमै अल्झिराछौं हामी, झुक्किइराछौं अनौठो भूलभुलैयामा । आफैं दुरुस्त छैनौं झैं लाग्छ । आफूलाई ऐनामा हेर्दा पनि कहिले कस्तो कहिले कस्तो देखिन्छौं नि ! त्यसैले मान्छे आफूमै अनभिज्ञ छ, अरुलाई बुझ्दै बुझाउँदै नाता निभाउन कसरी सकेका होलान् कुन्नि ?
बिहे गरेपछि अरुको खुशी अर्थात् श्रीमान्-श्रीमती वा बालबच्चाको सुखको खातिर बाँच्नुपर्छ भन्नेहरु छन् । तर उसको वा उनीहरुको खुसी ममा नै छ भन्ने निश्चित के त ? खान–लाउन दिएर मात्रै पनि नहुने वा खाना पकाइदिएर, कपडा धोइदिएर, घरबार र सन्तानको रेखदेख गरिदिएर मात्रै नपुग्ने । यी त मान्छेका प्राथमिक आधारभूत आवश्यकता न हो । त्यो भन्दा पनि मध्यम र उच्चस्तरका इच्छा–आंकाक्षा हुन्छन् मान्छेका, जसका लागि सम्बन्धहरु पनि गौण भइदिन्छ र विच्छेदमा पुग्छन् मान्छे । पैसा गहना तथा भौतिक सम्पत्ति भन्दा पनि पर मान्छेका अनगिन्ती रहरहरु हुँदो रहेछ । ‘पातलाई कोपिलाको रहर, कोपिलालाई फूलको । फूललाई मालाको रहर, मालालाई मायाको । दिनलाई सपनाको रहर, रातलाई दिनको । मेटिएन कहिल्यै पनि यो तिर्खा रहरको...।’ नेपाली फिल्म रहरको यो गीत त्यसै लेखिएन ।
हरेकको आ–आफ्नै सोचाइ र बुझाइहरु छन् । निजी जीवन छ । वैवाहिक सम्बन्धमा त झन् हकको कुरा हुन्छ । विश्वास र भरोसा महत्वपूर्ण मानिन्छ । तर श्रीमान् वा श्रीमतीले भनेका सारा कुरा र उसका व्यवहारहरु सबै मनैदेखि हो भनी कसरी पत्याउने ? मन त्यसै छद्म छ । फेरि आफ्नो मनको सबै कुरा अरुलाई भन्न पनि त सकिन्न । अनि तनमन सम्पूर्ण समर्पण नभई सम्बन्ध कसरी पूर्ण हुन सक्छ ?
मान्छे मन नपरेपनि यहाँ कतिपयसामु हाँसेर प्रस्तुत भइदिनु पर्छ, ठिक्क पारेर बोलिदिनु पर्छ केवल सम्बन्ध ठिकठाक राख्न । नजिककै सम्बन्धहरुमा अक्सर यस्तो हुन्छ । अर्थात् मान्छेले झुटो नाता पनि निभाउन जानेको छ । यो संसार नै एउटा नाटकमञ्च हो र हामी नाटककार हौं भनेर त जमानादेखि भनिँदै आएको कुरा हो । अभिनय गर्न सीपालु नै त यहाँ हिरो हुन्छ । आफ्नो त फिल्म हेर्दाहेर्दै अभिनयलाई नै साँचोझैं ठानेर भावुक हुँदै रुने मन छ । अरुको पनि त मनै हो, उसलाई पनि त ऊभित्रकै नजानिँदो मनले चलाउने हो ।
शरीर त एउटा पुत्ला न हो । नाटक मञ्चन गराउने त मनै छ । वास्तवमै मनको दासी छ देह । मनैमा राज सधैंभर हुन सके पो मजा ¤ सँगै जिउने सँगै मर्ने अनि सात जुनी नछुट्टिने कसम खाएर प्रेम तथा विवाह गर्नेहरु लौ त पति मर्दा कुनचाहिँ पत्नीले (हिजोको बाध्यकारी सतीप्रथाबाहेक) सँगै मृत्युवरण गरिन् ? श्रीमतीको अवसानसँगै आजसम्म कति पुरुषले मृत्यु अँगाल्यो ? श्रीमान् वा श्रीमती विदेश वा केही पर हुँदा मात्र होइन, सँगै हुँदा त अर्काेसँग मायाजालमा पर्छ मान्छे । बाउआमा मर्दा सन्तानले त संसार त्याग्न सक्दैन । श्रीमान् श्रीमती वा छोराछोरी भएपनि, नभएपनि बाँच्ने त आफैं हो । तैपनि निरीह प्राणी झैं वैवाहिक सम्बन्धमा कैद भएर बाँच्नुपर्ने सांसारिक विवशता देखिन्छ ।
कसैकी श्रीमतीको झल्को अर्काेको मनमा हुनसक्छ । कसैको श्रीमान्लाई सम्झेर अर्की महिला आनन्दित हुन सक्छे वा मेरी पत्नीको मनमा पनि अरुकै बास हुन सक्छ । त्यसैले झुटो छ यो संसार । यौन त झन् पापी छ, बूढो बच्चा तन्नेरी, नातागोता वा आफ्नोपराइ सबै भुलिदिन्छ एकैछिनको वासना र तृप्तिको लागि । पुगेपछि फेरि मिच्छिने वा सन्तुष्टि घट्ने चक्र चलिनैरहने उपयोगिता ह्रास नियम जो छ हामीकहाँ । उही अनुहार, उही स्वभाव र व्यवहारबाट मान्छे दिक्क किन नहोस् ? पुरानो हुँदै गएपछि आकर्षण पनि घट्छ सायद । मान्छेहरु वंश धान्न पनि बिहे गर्नुपर्छ भन्छन् । जब जीवन नै अनित्य छ अनि आफ्नै हंश उडेर गएपछि बाँकी अंश के गर्नु ?
टिप्पणीहरू