यी खेलाडीलाई भारतमै रुवाइराख्ने ?

खेलकुद मुलुकको पहिचान र खेलाडी गहना हुन् । सरकारले खेलाडीलाई राष्ट्रको शान भन्दै आएको छ । तर, सरकारले खेलाडीलाई गर्ने व्यवहार भने ठ्याक्कै उल्टो छ । जसकारण मुलुक खेलकुदमा पिछडिएको छ । खेल क्षेत्रको विकास गर्न र खेलाडीलाई आवश्यक सेवा–सुविधा दिन सरकार चुकेको छ । खेलमार्फत मुलुकलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने रहर बोकेर आएका खेलाडी सेवा–सुविधाको अभावले बिदेसिइरहेका छन् । यतिसम्म कि, तिनको बिमासमेत गरिएको छैन ।
खेलकुद प्रवद्र्धनका लागि छुट्याइएको रकम खेलसम्बद्ध निकायका पदाधिकारीको वैदेशिक भ्रमणमै सकिने गरेको छ । खेलाडीले भने खेल्ने क्रममा चोटपटक लागे उपचार खर्चसमेत नपाउने विडम्बनापूर्ण अवस्था छ । जसकारण खेलकुद क्षेत्रप्रति खेलाडीको नैराश्यता बढ्दै गएको छ ।
‘हेलिकप्टर सट’ हानेर चर्चामा आएका क्रिकेटर सिद्धान्त लोहनीलाई नचिन्ने कमै छन् । कोशी प्रदेश क्रिकेट टिमका कप्तान उनी दुई वर्षअगाडि जनकपुरमा भएको महेन्द्र निधि टी–२० नेशनल क्रिकेट टुर्नामेण्टमा घाइते भए । लामो समयदेखि राष्ट्रियस्तरको प्रतिस्पर्धामा भाग लिँदै आएका उनको नेपाल क्रिकेट संघ (क्यान) र प्रदेश क्रिकेट संघले आयोजना गरेको प्रतियोगितामा घुँडामा गम्भीर चोट लागेको हो । हाल भारतमा उपचाररत छन् । तर, सरोकारवालाले बेवास्ता गर्दा उपचार खर्चमा समस्या छ । अहिलेसम्म व्यक्तिगत खर्चमै उपचार गराइरहेका उनको २० लाख रुपैयाँभन्दा माथि सकिइसकेको छ । अझै पनि शल्यक्रिया बाँकी छ ।
जो आयोजक, उसैद्वारा बेवास्ता
०८० जेठ १५ देखि २६ गतेसम्म सात प्रदेशबीच प्रतियोगिता भएकोमा कर्णालीले उपाधि हात पा¥यो । जेठ १९ गते कोशी प्रदेशले गण्डकी प्रदेशसँग प्रतिस्पर्धा गर्दै थियो । सोही दौरान राष्ट्रियस्तरका खेलाडी सिद्धान्त घाइते हुन पुगे । दोस्रो इनिङको १६.३ ओभरमा लङ अफ फिल्डिङ गर्ने क्रममा लिगामेण्ट च्यातियो ।
ललितपुरको ग्वार्कोस्थित बिएण्डबी अस्पतालमा उपचार गराउन गए । छोराको उपचारका लागि परिवार काठमाडौं आएर भाडामा बसेको थियो । त्यसपछि घर गएका उनको घुँडा खुम्चिनै छाड्यो । घाउ पूरै इन्फेक्सन भएपछि ६ महिनामा पाँचपटक शल्यक्रिया गर्नुपरेको थियो । उपचार खर्चका लागि क्यानलाई बारम्बार गुहारे । असार १५ गते क्यानका अध्यक्ष चतुरबहादुर चन्दलाई पत्र लेखे ।
तर, सो पत्रमाथि कुनै सुनुवाइ भएन । आफूलाई निको भएर पुनः मैदानमा फर्किन मन लागेको उल्लेख गर्दै फेरि पनि निवेदन दिए । त्यतिबेला पनि वास्ता गरिएन । क्यानका क्रिकेट म्यानेजर विनोद दासलाई पनि पत्र नपठाएका होइनन् । यता, वर्तमान सचिव पारस खड्कालाई बारम्बार जानकारी गराए ।
पारसले आफूसँग अधिकार नभएको भन्दै टारे । हाल सचिव पदमा पुगे पनि उनले सिद्धान्तको उपचार खर्चमा कुनै पहल गरेनन् । उनको अवस्थाबारे क्यानका सबै पदाधिकारी जानकार भए पनि कसैले चासो देखाएनन् ।
सबैतिर गुहार गरेपछि क्यानले उनलाई बल्लतल्ल एक लाख रुपैयाँ दिएको छ । ६ महिनाअगाडि विराटनगरमा भएको यु–१९ राष्ट्रिय प्रतियोगितामा अध्यक्ष चन्द पनि सहभागी थिए । उनले त्यहाँ आफ्नो अवस्थाबारे जानकारी गराए । ‘उहाँसँग प्रतियोगितामा भेट भएको थियो । मैले समस्या सुनाएँ । उहाँले हामी यसपालि जसरी पनि उपचार गराएरै छाड्छौं भन्ने आश्वासन दिनुभयो । क्यानको बैठकमा पनि बारम्बार मेरो उपचारको विषयमा कुरा उठाइयो तर कसैले वास्ता गर्नुभएन’, उनले गुनासो पोखे ।
दिनहुँ दुई हजार रुपैयाँ तिरेर फिजियोथेरापी गराउँदै आएका सिद्धान्त अवस्था गम्भीर भएपछि उपचारका लागि भारत पुगेका छन् । तीन साताअघि शल्यक्रिया भएको छ । अझै एउटा शल्यक्रिया बाँकी रहेको सिद्धान्त बताउँछन् । ६ पटक शल्यक्रिया भइसक्दा पनि क्यानले आफ्ना खेलाडीप्रति कुनै जिम्मेवारी नदेखाउँदा चित्त दुखाएका छन् । क्यानले हालचालसमेत नसोधेको उनी दुःखेसो पोख्छन् ।
‘एउटा खेलाडीप्रति क्यानले गरेको व्यवहार देख्दा साह्रै चित्त दुख्छ । भारतमा हालै शल्यक्रिया भएको छ । तर, उताबाट कसैको कुनै रेस्पोन्स आएन । इन्फेक्सनले गर्दा अत्यन्तै जटिल अवस्था बनिसकेको थियो । रुनुबाहेक केही विकल्प नै थिएन । अहिलेको सर्जरी घुँडा खुम्च्याउनका लागि मात्र थियो । अब लिगामेण्ट हाल्नुपर्छ’, उनले भने । उनको गुडगाउँस्थित अरटेमिस हस्पिटलमा शल्यक्रिया भएको हो ।
हाल त्यहाँ फ्ल्याट लिएर बसेका छन् । मासिक भाडा ४३ हजार पाँच सय भारतीय रुपैयाँ बुझाउनुपर्ने उनी बताउँछन् । उनका अनुसार फिजियोथेरापी गर्न दिनहुँ एक हजार दुई सय आइसी लाग्छ । खर्च धान्न गाह्रो परेकाले सस्तो फ्ल्याट खोजिरहेको उनले जानकारी दिए । क्यानसँग कन्ट्रयाक्ट नभएकाले सिद्धान्तले तलब पनि पाउँदैनन् ।
बिमा पनि गरिएको छैन । राष्ट्रका लागि केही गर्ने सपना भए पनि वातावरण नभएको गुनासो छ । भन्छन्, ‘कन्ट्रीलाई प्रतिनिधित्व गर्ने हरेक खेलाडीको सपना हुन्छ । तर, यस्तो वातावरणले खेलाडी आफैं डिमोटिभेट भइरहेका छन् । राष्ट्रियस्तरको प्रतियोगिता खेल्ने खेलाडीलाई पनि कुनै सुविधा छैन । अनि अभिभावकले कसरी आफ्ना सन्तानलाई खेल्न पठाउँछन् ? घाइते भयो भने उपचार पाउन गाह्रो छ । आफ्नै खर्चले गरिरहनुपरेको छ । कन्ट्रयाक्ट नहुनेलाई तलब पनि दिइँदैन ।’
के भन्छ क्यान ?
क्यानका अध्यक्ष चन्द उनीसहित अन्य घाइतेलाई उपचार खर्च दिने निर्णय भएको बताउँछन् । फागुन १६ गतेको बैठकले अति आवश्यक खर्च सम्बन्धमा निर्णय गरेको उनको भनाइ छ । क्यानको प्रतियोगितामा सहभागी भएकाले उपचार खर्च पाउने र बीमा पनि गरिने उनले बताए ।
भने, ‘सिद्धान्तसहित अन्य जोजो घाइते हुनुभएको छ, उहाँहरूले उपचार खर्च पाउनुहुन्छ । बिमाबाट कभरेज हुनेको भइहाल्यो, नहुनेका लागि अति आवश्यक खर्च भनेर छुट्याएका छौं । त्यसबाट उपचार खर्च दिन्छौं । पहिले पनि कार्यविधिअनुसार केही रकम दिएको थिएँ । कार्यविधिबाहिर जाने कुरा हुँदैन ।’
टिप्पणीहरू