राजावादीतिर किन नरम हुँदै गए देउवा ?
‘राजाले समेत उदार भएर जेलमा रहेका बिपीलाई उपचार गर्न अमेरिका पठाएका थिए, तपाईंहरूलाई चाहिँ के भएको यस्तो ?’ तीनकुने हिंसामा पक्राउ परेका रवीन्द्र मिश्र र धवलसमशेर राणालाई छुटाउन सहयोग माग्दै शेरबहादुर देउवाको दैलोमा पुगेका १४ सिटे राप्रपाका नेताहरूले यस्तो गुनासो गरे । क्यान्सरपीडित भएका कारण राजाले बिपीलाई जेलबाट निकालेर उपचार गर्न पठाएको सन्दर्भ उठेपछि देउवाले पनि गिजाको क्यान्सरसँग लडिरहेका धवलको रिहाइका लागि सक्दो पहल गर्ने विश्वास दिलाए । समाचार स्रोतका अनुसार बूढानीलकण्ठमा भएको शुक्रबारको उक्त भेटघाटमा छुटाउने उपायबारे पनि चर्चा भएको थियो ।
सरकारको भविष्यबारे प्रचण्डको तर¨ जगाउने वक्तव्य र कांग्रेस नेतृत्वमा बढ्दो असन्तुष्टिबीच अदालतमा मुद्दा कमजोर बनाएर लैजान सकिने विकल्प स्वयं देउवाले सुझाएको बताइन्छ । ‘हामीले कुरा उठायौं, उहाँले ठीक छ, हुन्छ भन्नुभएको छ’, स्रोतले खुलाउँदै भन्यो, ‘बिपीको प्रसंगले उहाँ अलि गम्भीर हुनुभयो जस्तो लाग्छ !’
चैत १४ गते बिहान ११ बजेदेखि ज्ञानेन्द्र शाहसँग निर्मल निवासमा डेढ घण्टा छलफल गरेपछि राजा फर्काउने आन्दोलनको कमाण्डर तोकिएका दुर्गा प्रसाईंको अराजक हर्कतका कारण भोलिपल्ट तीनकुनेमा हिंसा भड्किएर तोडफोड, आगजनी र लुटपाट मच्चिएको थियो । दुई जनाको ज्यान जानेगरी भएको उक्त विध्वंसमा दर्जनौं घाइते हुनुका साथै करोडौंको भौतिक संरचना ध्वस्त भएको छ । राजेन्द्र लिङदेनको असहमतिका बाबजुद त्यहाँ सहभागी भएका मिश्र र राणा सोही दिन पक्राउ परेकोमा प्रहरी हिरासतमा राखेर मुद्दाको अनुसन्धान भैरहेको छ । उनीहरूलाई राज्यद्रोहको मुद्दा चलाउने तयारी भैरहँदा राप्रपाले भने औपचारिक निर्णय गरेर तत्काल छाड्न सरकारसँग माग गरिसकेको छ । घाँटीको क्यान्सर देखाएर न्यायाधीशहरुबाट सहानुभूति बटुल्दै आएका दुर्गा प्रसाइँका हकमा भने राप्रपा धवललाई जसरी छुटाउन कस्सिएको छैन ।
यही सन्दर्भमा शुक्रबार बिहान राप्रपाका केन्द्रीय सदस्यहरूको एउटा टोली पशुपतिसमशेर जबराकहाँ डेलिगेसन गएको थियो । त्यहाँ केहीबेर सल्लाह गरेर अध्यक्ष लिङदेन, पशुपति र विक्रम पाण्डे बूढानीलकण्ठ पुगेका हुन् । त्यसअघि नै डाक्टर प्रकाशचन्द्र लोहनीको पनि देउवासँग छुट्टै भेट भैसकेको थियो । राजतन्त्रप्रति कम कठोर र राप्रपा पूर्व केन्द्रीय सदस्य प्रतिभा राणाका ज्वाइँ देउवामार्फत आफ्ना नेता छुटाउन सरकारमाथि दबाब बढाउने रणनीतिका रुपमा यसलाई हेरिएको छ । त्यसो त, तीनकुने काण्डका मुख्य अभियुक्त दुर्गा प्रसाईं पक्राउ परिसकेकाले राणा र मिश्रलाई प्रक्रिया पु¥याएर छुटाउन सरकारसमेत तयार भइसकेको र भित्रभित्र गृहकार्य चलिरहेको भनिएको छ । तर, देउवा निवासमा भएको छलफलबारे जानकार राप्रपासम्वद्ध स्रोतले भने भीडलाई उराल्ने भूमिका खेलेका कारण मिश्रको हकमा सरकार लचिलो भैसकेको छैन । सामाजिक सञ्जालमा आएका भिडिओ फुटेज हेर्दा पनि नवराजावादी उनले आन्दोलनकारीलाई निषेधित क्षेत्र तोड्न उक्साएको देखिन्छ । धवलको हकमा भने मुद्दा स्थापित हुने बलियो प्रमाण फेला नपरेकाले छुट्ने सम्भावना बलियो छ ।
‘उसको (धवल) खासै प्रमाण पनि आएको छैन । केस कमजोर बनाएर लैजाने र धरौटी वा हाजिर जमानीमा छुट्ने कुरा चलिरहेको छ तर म एक्लै छुट्दिनँ, यो आन्दोलनका सबै छुट्नुपर्छ भन्ने उनको कुरा छ केरे, के हुन्छ थाहा छैन’, स्रोतले सुनायो ।
लिङदेनलाई निरन्तर बाइपास
चैत १५ को हिंसात्मक प्रदर्शनपछि रक्षात्मक बनेको राजावादी आन्दोलनलाई अघि बढाउन चैत २७ गते पूर्वपञ्चहरूले एउटा भेला गरे । संयुक्त जनआन्दोलन समितिको अगुवाइमा शंखपार्क छेउ स्मार्ट दरबारमा बसेको भेलामा कमल थापा, केशरबहादुर बिष्ट, डा. लोहनीलगायत विभिन्न समूहमा छरिएर रहेका राजावादीहरू सहभागी थिए । नवराज सुवेदी नजरबन्दमा परेपछि कार्यवाहक संयोजक तोकिएका प्राडा जगमान गुरुङले डाकेको पहिलो औपचारिक कार्यक्रम थियो त्यो । जहाँ पुराना पञ्चदेखि शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका बागी कांग्रेस कर्ण मल्ल र प्रतिनिधिसभाको अघिल्लो कार्यकालमा एमालेबाट समानुपातिक सांसद बनेकी गङ्गा चौधरीजस्ता नवराजावादी उपस्थित थिए । कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओलीको अघिल्लो प्रधानमन्त्रीत्वकालमा प्रज्ञा प्रतिष्ठानको उपकुलपति बनेका गुरुङ पुराना राजावादी होइनन् । चुनावमा टिकट नपाएपछि लफडा गर्दै बिपी कांग्रेसतिर लागेका मल्ल पनि राजावादी अभियानमा जोडिएको भर्खर, भर्खर हो । नवराजावादीको बाक्लो उपस्थिति रहेको भेलामा राजसंस्थाको वकालत गर्ने वैधानिक र सबैभन्दा ठूलो शक्ति राप्रपाका अध्यक्ष लिङदेनलाई भने निम्तो थिएन ।
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउने रणनीति बनाउन बोलाइएको भेलामा पूर्वपञ्चहरू आफैँ घोचपेचमा उत्रिए । केशरबहादुरले राप्रपालाई गाली गर्दा फ्लोरबाट समर्थनमा हुटिङ भयो र लोहनीले चित्त दुखाए । जवाफ दिँदै भने, ‘कमल थापाजी असाध्यै राम्रो बोल्नुहुन्छ । उहाँको कुरा सुनौँ सुनौँ लाग्छ, समय गएको पत्तै हुँदैन । केशरजी पनि मीठो बोल्नुहुन्छ तर आफूले आफूलाई गाली गरेको थाहै पाउनुहुन्न ।’ बिहान–बेलुका आन्दोलनको कुरा गर्ने अनि मासुभातचाहिँ प्रदेशको खाने भन्दै राप्रपाबाट निर्वाचित प्रदेश सभा सांसदहरूको पनि त्यहाँ हुर्मत लिने काम भयो ।
धवल र लिङदेनको लडाइँमा राप्रपालाई धक्का
गिजाको क्यान्सर पीडित धवलले भारतको दिल्ली र मुम्बईको अस्पतालमा उपचार गराउँदै आएका छन् । यसअघि उपचारमा रहेकै बेला संगठन विभागको जिम्मेवारी खोसेपछि रुष्ट भएका उनको त्यसयता लिङदेनसँग सम्बन्ध त्यति राम्रो छैन । यसबीच पार्टीसँग सल्लाह नै नगरी पूर्वराजाको इच्छामा बनेको नवराज सुवेदी नेतृत्वको ‘राजसंस्था पुनस्र्थापनाका लागि जनान्दोलन समिति’ मा मिसिएपछि यी दुईको सम्बन्धमा थप दरार आएको राप्रपाका नेताहरू स्वीकार गर्छन् ।
वैधानिक शक्तिलाई बाइपास गर्ने र आफू वरपरका मान्छेलाई सिंगारपटार गरेर अघि सार्ने ज्ञानेन्द्रको कुटिल चाल धवलहरूले नबुझेको वा बुझेर पनि बेवास्ता गरेको लिङ्ग्देन पक्षधरहरूको बुझाइ हो । ‘ज्ञानेन्द्रले बनाउन खोजेको भजनमण्डली हो, पहिला कमल थापाले जुन रोगबाट गुज्रिन परेको थियो, अहिले त्यो अवस्था लिङदेनतिर सरेको छ’, राप्रपा स्रोत भन्छ, ‘पार्टीको झण्डासमेत लैजान नदिएर समाप्त पार्ने खेल धवलहरूले बुझेनन् ।’
राजनीतिक सुझबुझ नभएका दुर्गा प्रसाईंजस्ता अराजक व्यक्तिलाई बोकेर निर्मल निवासले राजावादी आन्दोलनलाई धरापमा पारेको निचोड राप्रपाको छ । ‘दुर्गा प्रसाईं विभिन्न शक्ति केन्द्रको अनुकूलतामा प्रयोग भैरहेका पात्र हुन् । योगीको समर्थन छ भन्ने ठानेर ज्ञानेन्द्रले विश्वास गरे तर यो सबै राजसंस्था पुनस्र्थापनाको मुद्दा सदाका लागि सिध्याउने चालअन्तर्गत भएको थियो,’ लिङदेननिकट स्रोतको ठम्याइ छ ।
कांग्रेस–एमाले गठबन्धन सरकारसँग असन्तुष्ट रहेको भारतीय आड भरोशामा पूर्वराजा ज्ञानेन्द्रमा एकाएक शक्तिको भोक पलाएको भन्ने दावी घटनाक्रमले खण्डित हुँदै गएको छ । भारतमा शरण लिन पुगेका प्रसाईंलाई समातेर नेपाल फर्काइएकाले राजसंस्था पुनस्र्थापनाको आन्दोलनमा उसको समर्थन नरहेको प्रष्टै बुझिन्छ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको नाम भजाएर तीनकुनेमा वितण्डा मच्चाएका प्रसाइँ शरण लिन उतै पुगेका थिए । पूर्वीनाका काकडभिट्टा हुँदै भारत छिरेका र आसामदेखि दिल्लीसम्म भौतिक र फोनमार्फत धपेडी गरेका उनले ‘हात लाग्यो शून्य’ भएपछि आत्मसमर्पणको नौटंकीसमेत गर्न भ्याए । तर, आसाममा समातिएका उनलाई रातभर कुदाएर भारतीय प्रहरीले मेची पुलसम्म ल्याई नेपाललाई बुझाइदियो ।
जबकि ठुल्ठूला राजनीतिक घटनामा भारतले आन्दोलनकारी शक्तिलाई ‘शरण दिएको’ इतिहास छ । पहिलो गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहदेखि बिपी कोइराला हुँदै पछिल्लो कालखण्डमा प्रचण्ड–बाबुरामहरूले उतैबाट आन्दोलन अघि बढाएका हुन् । तराई–मधेसमा हिंसात्मक आन्दोलन चलाउने ज्वाला र गोइतहरूले समेत कुनै न कुनै रुपमा संरक्षण पाएकै थिए । तर, ज्ञानेन्द्र शाहको प्रत्यक्ष चासोमा जनकमाण्डर बनाइएका प्रसाईंको हकमा त्यसो नहुनुले नेपालमा अहिले चलिरहेको राजावादी आन्दोलनमा साउथ ब्लकको समर्थन नरहेको अर्थ लाग्छ ।
नेपालमा राजतन्त्र होइन हिन्दुराष्ट्र फर्काउने भारतको योजना छ, भनिन्छ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हालै भएको बैंकक–वार्तामा यसबारे कुरा भएको राप्रपा निकट सम्पर्क सूत्रले सूचनाको हवाला दिँदै दावी गरेको छ । सुरक्षा निकायको उच्च तहमा काम गरिसकेका एक जना केन्द्रीय सदस्यलाई उद्धृत गर्दै भनिएको छ, ‘मोदीले प्रमलाई हिन्दु राष्ट्रमा कांग्रेस सकारात्मक छ, तपाईंहरू पनि सहमत भैदिनुप¥यो भनेको सूचना हामीले पाएका छौँ ।’
टिप्पणीहरू