भरतपुरमा एशियाली मापदण्डको राजमार्ग: कतै सुकेको,कतै फुकेको

भरतपुरमा एशियाली मापदण्डको राजमार्ग: कतै सुकेको,कतै फुकेको

नेपालको कानुन दैव नै जानुन् त्यसै भनिएको होइन । ‘सानालाई ऐन,ठूलालाई चैन’ भनिएझैं चितवनको भरतपुर महानगरपालिका कार्यालय अगाडि र नजिकै वरपर भएका गतिविधिले पहुँचवाला धनाढ्यहरुलाई कानुनले पनि छुन नसक्ने प्रमाणित गरिरहेछ । डलर अर्बपति विनोद चौधरीले विमानस्थलकै छेउमा कानुन मिचेर बडेमानको बिल्डिङ ठड्याएकै छन् ।

निर्माणका बेला लिएको नक्सापास सिफारिसभन्दा ठूलो अग्लो भवन बनाइएको हुँदा अहिलेसम्म निर्माण सम्पन्न प्रमाणपत्र पाउन नसकेको उक्त अवैधानिक भवनबाट सिजी ल्याण्डमार्कको नाममा निर्वाध व्यवसाय सञ्चालन गरिँदैछ । भवनको कूल उचाइ ३० मीटरसम्म राखेर बनाउन इजाजत दिइएकोमा १० तलाकै बनाए पनि चलाखी गर्दै प्रत्येक तलाको हाइट ४–५ मीटर जति बेसी अग्लो बनाएको महानगरका कर्मचारी बताउँछन् । वायुसेवाजस्तो संवेदनशील उड्डयन क्षेत्रलाई चुनौती दिँदै व्यापारीले बढी अग्लो बनाएको भवनको संरचनालाई त्यसै छोडिएको छ । 

महानगरपालिकाले यसमा अरु केही गर्न सकेको छैन । विमानस्थल क्षेत्र वरपर कहाँ, कतिसम्म उचाइ राखेर भौतिक संरचना ठड्याउन पाउने भनी निर्क्यौल गर्ने यहाँको नागरिक उड्डयन कार्यालय नै यससम्बन्धमा चुपचाप छ । भरतपुर नागरिक उड्डयन कार्यालयका प्रमुख दिपक बिक यो मामिला माथि डिजी प्रदिप अधिकारीले नै हेर्ने,आफू यसमा बोल्न नमिल्ने भन्दै सर्लक्कै पन्छिए । अर्का एक कर्मचारीसँग सामान्य जिज्ञासा राख्दा बढी बनाएको उचाइ भत्काउन भनेर विमानस्थल कार्यालयबाट सिजी ल्याण्डमार्कलाई पटकपटक भनिएको बताए । तर विमानस्थलले सिजीलाई बढी भएको हाइट भत्काउन पत्राचार गरेको भए महानगरपालिका कार्यालयमा पनि त्यसको बोधार्थ आउनुपर्ने तर अहिलेसम्म त्यस्तो नआएको महानगरपालिकाको भवन तथा भवन संहिता एवम् निर्माण इजाजत शाखाका कर्मचारीहरु बताउँछन् । 

यता हिजोमात्र निर्माण सम्पन्न भनी प्रधानमन्त्रीबाट उद्घाटन गरिएको भरतपुरको सिक्स लेन सडकमा पनि अन्तिममा पहुँचवाला धनीमानीलाई गज्जबकै छुट दिइएको छ । चितवन मेडिकल कलेज हस्पिटलअगाडि जबरजस्ती खोलिएको इन्टरसेक्सन आखिर बन्द नगरी छोडियो । एशियाली मापदण्डअनुरुप विस्तारित उक्त सडक विस्तारको योजनाअनुसार बनाइएको रोड सुरुमै बलपूर्वक भत्काएर यहाँ ओपनिङ खोलिएको थियो । सडक डिभिजन कार्यालय भरतपुरमा रमेशप्रसाद पौडेल प्रमुख हुँदा मेडियन भत्काउने जेसिबीलाई नियन्त्रणमा पनि लिइएको थियो ।     

अहिलेका हाकिम नारायणप्रसाद लामिछाने पनि पहिले–पहिले त यहाँ दुर्घटनाको जोखिम बढेको भन्दै जबरजस्ती खोलिएको यो इन्टरसेक्सन जसरी पनि बन्द गरिने भन्दै थिए । केही हप्तापछि उनैले सर्भिसलेनतर्फको ओपनिङ खुलै छोडिएपनि एक्सप्रेस लेनमा बीचको इन्टरसेक्सनचाहिँ बन्द गर्छाैं भने । तर तल नारायणगढको लायन्सचोकमा जबरजस्ती खोलेको भन्दै शुभ पेट्रोल्याण्डनिर सर्भिसलेनको ओपनिङसमेत बन्द गराएको र छ लेन तथा अर्काे बाइपास सडकमा समेत अन्यत्र पनि केही ओपनिङहरु बन्द गर्न लागिपरेको सडक डिभिजन कार्यालय सिएमसीअगाडि चाहिँ आखिर पूरै पछि हट्यो किन ? हरिश्चन्द्रहरुको पैसा र पावरले पेलेको हो ? अहिले लास्टमा आएर इमर्जेन्सीलाई आवश्यक भन्दै मेडिकल भेहिकलका लागि भनेर इन्टरसेक्सन खुलै छोडिएको छ । यहाँ उहिल्यै जेब्राक्रसिङसमेत बनाइसकिएको थियो । 

चितवनमा सबैभन्दा धेरै बिरामी ओइरिने सरकारी अस्पताल र अर्काे पुरानो मेडिकल कजेलमा समेत एम्बुलेन्सलगायतका मेडिकल भेहिकलहरु चौबिसकोठी वा अन्यत्रबाट घुमेर जान हुँदा सिएमसीमा किन नहुने ? जबकि चौबिसकोठी चोकबाट भरतपुर अस्पतालभन्दा पनि सिएमसी नै नजिक पर्छ भने छेउमै अर्काे वीरेन्द्र क्याम्पसचोकमा पनि फराकिलो इन्टरसेक्सन नभएको होइन । तैपनि बाटोबाट सीधै ग्राहक तान्न चितवन माविको जग्गा भाडामा ओगटेर पसल थापेजसरी सडकछेउमै सञ्चालित चितवन मेडिकल कलेज अस्पतालले बाहिरबाट आउने बिरामीहरु मेडिकल हबमा अन्यत्र मोडिने चिन्ताले बनिसकेको रोड मेडियन जबरजस्ती फुटालेको भन्दै शुरुमा झगडामै उत्रेको सडक कार्यालय अन्तिममा सिएमसीसामु पूरै नतमस्तक, निरीह र लाचार भएको हो । माथि मन्त्रालयबाट नै सिएमसीलाई सहजीकरण गरिदिनु भनी सडक डिभिजनलाई पत्र आएको थियो । 

‘रोयल सेन्चुरीले फेरि नापौं भनेको छ । पर्खाल भत्काउनु पर्दैन । सडक सीमा पुग्छ भन्नेछ ।’ ख्यालरहोस्, रोयल सेन्चुरी होटलका मालिक सुभाष प्रधान नेपाली कांग्रेसका ठुल्ठूला प्रभावशाली नेताहरुसँग राम्रै उठबस भएका व्यवसायी हुन् ।

महानगरपालिका कार्यालय अगाडिपट्टि होटल रोयल सेन्चुरीको ढुंगाको पर्खाल पनि अन्तिममा नभत्की फुटपाथको काम खत्तम भएको छ । सिक्सलेनको सडकमा अन्यत्र सबैतिर सडकपेटी बनिसक्दा पनि रोयल सेन्चुरी अगाडि भने अलपत्र नै छोडिराखिएको थियो । सिएमसी अगाडि पनि ट्राफिक सुरक्षाको दृष्टिले आफूहरुले ओपनिङ नदिएको र बन्द गरिने बताउँदै आएकी सिक्सलेनकी जिम्मेवार कर्मचारी सडक डिभिजन कार्यालय भरतपुरकी इन्जिनियर शिला न्यौपाने दुई–तीन महिना अघिसम्म उक्त पर्खाल पनि ‘भत्काउँछौं’ भन्दै थिइन् । 

सडकका हाकिम नारायणप्रसाद लामिछानेले चाहिँ ‘आधा–एक मीटरको कुरा हो,अब त्यत्रो ढुंगाको पर्खाल भत्काउनुभन्दा छेउको स्ल्याबमात्रै फुटालेर यत्तिकैमा काम सक्ने कि ! भन्ने मनसाय व्यक्त गरेका थिए । नभन्दै अन्तिममा पर्खाल नफुटाली फुटपाथ बिच्छाइएको छ । जबकि शुरुमा दायाँ बायाँका घरहरु भत्काउने बेलामै आफ्नो पनि पर्खाल जान्छ भनेर रोयल सेन्चुरी त्यसको तयारीमै थियो भन्छन् वरवरका स्थानीय । अहिले यहाँ होटलअगाडि पर्खाल नभत्काई टायल बिच्छाउने काम अगाडि बढाउँदै गर्दा सडकका हाकिमले भने, ‘रोयल सेन्चुरीले फेरि नापौं भनेको छ । पर्खाल भत्काउनु पर्दैन । सडक सीमा पुग्छ भन्नेछ ।’ ख्यालरहोस्, रोयल सेन्चुरी होटलका मालिक सुभाष प्रधान नेपाली कांग्रेसका ठुल्ठूला प्रभावशाली नेताहरुसँग राम्रै उठबस भएका व्यवसायी हुन् ।  

इ.शिलाले सिक्सलेनमा सडकपेटीको चौडाइ साढे तीन मीटर राखेर बनाएको बताए पनि दायाँबायाँ एकनासको छैन । कतै फराकिलो त कतै साँघुरो बनेको छ । चौबिसकोठीबाट नारायणगढतर्फ आउँदा बायाँतिर फुटपाथ डेढ–दुई मीटरसम्म खुम्चिएको छ । दायाँतर्फको फुटपाथमा भने चार–पाँच मीटरसम्म सडक सीमा रहन गएको देखिन्छ । चितवन मेडिकल कलेज,चितवन मावि रहेको साइडतर्फ चार–साढे चार मीटरसम्मको फुटपाथ बनेर पनि अलिकति सडकको जग्गा खालि रहन पुगेको छ भने पारिपट्टि निको अस्पतालनिरबाट तल होटल रोयल सेन्चुरी भन्दा पनि मुनि कुमारी बैंकसम्म फुटपाथको चौडाइ जम्मा डेढ–दुई मीटर मात्रै बनेको छ । कतैकतै बीचमा अलिकति फराकिलो देखिन्छ । 
निर्माण कम्पनी इण्डो–सगुन जेभीले बाटो बनाउन भत्काउने क्रममा शुरुमै सिएमसी अगाडि सडकको मिड पिल्लर गायब हुन पुगेको जानकार बताउँछन् । यो गल्ती कमजोरी लुकाउन ठेकेदारले पछि सडक किनारमा रहेका सीमापिल्लर पनि उखेलेर फ्याँकेको स्थानीयको आरोप छ ।

टिप्पणीहरू