राजदूतकै मुखबाट प्रधानमन्त्रीलाई  एमसिसी सहिद भएको सूचना

राजदूतकै मुखबाट प्रधानमन्त्रीलाई  एमसिसी सहिद भएको सूचना

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनले हिजो बिहान भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० देखि १२ बजेसम्म भएको भेटमा राजदूत थम्पसनले अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) सँग भएको मिलेनियम च्यालेञ्ज सम्झौता (कम्प्याक्ट) सदाको लागि अन्त्य गरिएको जानकारी गराउनुभएको बताइन्छ । 

भेटका लागि राजदूत थम्पसन बिहान १० बजे बालुवाटार छिरेर १२ बजे निस्कनुभएको थियो । एक घण्टाको वार्तालापमा उहाँले एमसिसी र युएसएआईडी सहयोग परियोजना बन्द भएको जानकारी दिनुुभएको हो ।

नेपालमा वर्षौंको रस्साकस्सीपछि थालिएको एमसिसी परियोजना बन्द गर्ने निर्णय अमेरिकी सरकारले गरिसकेको छ । विश्वका धनाढ्य एलन मस्क नेतृत्वको अमेरिकी सरकारी दक्षता विभाग (डज)ले एमसिसी रोक्ने निर्णय गरेको हो । नेपालमा यो परियोजना सडक र जलविद्युत प्रसारण लाइनको काममा संलग्न थियो ।

एमसिसी बन्द गर्ने निर्णयपछि त्यहाँ कार्यरत कर्मचारीलाई अवकाशका लागि इमेल पठाइएको छ । यो परियोजना सन् २००४ मा तत्कालीन रिपब्लिकन पार्टीकै राष्ट्रपति जर्ज डब्लु बुशको कार्यकालमा स्थापना गरिएको थियो । 

अमेरिकाले नेपालमा एमसिसी लागु गर्नुपर्ने भन्दै दिएको चर्को दबाबका कारण राजनीतिक दलहरुबीच फाटो नै आएको थियो । २०७८ फागुन १५ गते व्याख्यात्मक टिप्पणीसहित संसदबाट एमसिसी सम्झौता कार्यान्वयनको बाटो खुल्यो । यसअघि अमेरिकाले यस्तै विकास सहयोग परियोजना युएसएआइडी पनि बन्द गराइसकेको छ ।

टिप्पणीहरू