आफैंले हटाएको हाकिमद्वारा बालेनको विदेश यात्रा तय

आफैंले हटाएको हाकिमद्वारा बालेनको विदेश यात्रा तय

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साह जापान जाने भएका छन् । उनी केही दिनभित्रै टोक्यो जान लागेका हुन् । शहरी विकास योजनासम्बन्धी कार्यक्रममा सहभागी हुन जान लागेको अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीले बताए । जनआस्थासँग उनले भने,‘अर्बन प्लानिङ्ग कार्यक्रममा सहभागी हुन मेमा जापान जान लाग्नुभएको हो ।’ 

उनको भ्रमणका लागि अनुमति माग्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा निवेदन पठाइएको त्रिपाठीले जानकारी दिए । तर,निवेदन स्वीकृत भइनसकेकाले जाने मिति तय हुन बाँकी रहेको उनको भनाइ छ । कुनै पनि जनप्रतिनिधि विदेश जाँदाखेरि प्रमुख प्रशासकीय अधिकृतको भूमिका निकै महत्वपूर्ण हुन्छ ।

प्रमुख त्रिपाठीका अनुसार भ्रमणमा जाने निर्णय भएपछि प्रमुख प्रशासकीय अधिकृतले त्यसैअनुरुप पत्र बनाएर मन्त्रालय पठाउँछन् । यता,कार्यपालिका बैठकले पनि मेयरको भ्रमण अनुमोदन गर्नुपर्ने हुन्छ । प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले भ्रमणका लागि केही दिनअगावै सिफारिस गरिदिएको जानकारी दिए । उनले जनआस्थासँग भने,‘सबै निर्णय भएपछि मकहाँ पत्र आएको थियो । मैले निर्णयानुसार भनी मन्त्रालयमा सिफारिस गरिदिएको छु ।

अचम्म मान्दै भने,‘हो र ? मलाई त केही थाहा छैन ।’

गुरागाईँ तिनै कर्मचारी हुन्,जसलाई हटाउन मेयर बालेनले सक्दो प्रयास गरेका थिए । अहिले तिनै गुरागाईँबाट उनले भ्रमणको सिफारिस बनाउनुपरेको छ । कार्यालय घुस्नसमेत नदिने अडान लिएका बालेनले उनैले निकासा गरेको तलब लिइरहेका छन् भने भ्रमण सिफारिसको लागि पनि उनकै आवश्यकता परेको छ ।

पुरानाे बसपार्कस्थित निर्माणाधीन काठमाडौं टावरको १२ तल्ले नक्सा पास प्रक्रिया अगाडि बढाउनुपर्नेमा प्रक्रिया नै पूरा नगरी १९ तल्लाको नक्सा स्वीकृति दिएको आरोप लगाउँदै बालेनले उनीमाथि कारबाही गरेका थिए । 

उनको कार्यकक्षमा ताला लगाएर कार्यालय आउन रोक लगाउनुका अलावा बालेनले छानबिनका लागि समितिसमेत गठन गरेका थिए । तर, उनलाई दोषी करार गर्ने ठाउँ नभेटेपछि तर्सिएका बालेनले समिति नै ‘डिसमिस’ गरिदिए । आफ्नो अधिकारबाहिर गएर समिति गठन गरेका मेयरले अहिलेसम्म प्रतिवेदन सार्वजनिक गरेका छैनन् । 

प्रमुख प्रशासकीय अधिकृत नहुँदा महिनौंदेखि तलब नपाएका कर्मचारीहरुले ध्यानाकर्षण गराए । यद्यपि,उनी समस्या समाधानभन्दा पनि सामाजिक सञ्जालबाट सरकारलाई तुच्छ गाली गर्नतर्फ उत्रिए । उनले एक साताभित्र प्रमुख प्रशासकीय अधिकृत नपठाए सबैलाई टुकुचामा लगेर गाड्ने चेतावनी दिए ।

तर,अन्ततः उही गुरागाईँकै ‘ईन्ट्री’ भयो । उनले गुरागाईँलाई रोक्नका लागि अनेकौं प्रयास गरे । महानगर कार्यालयबाहिर ठूलो संख्यामा नगर प्रहरी खटाए । ढोकामा तालाबन्दी गरे । तैपनि उपमेयर सुनिता डंगोल,वडाध्यक्ष र कर्मचारीहरुको बलमा प्रवेश गराइएका गुरागाईँबाटै काम गराउनुपर्दा बालेनको हालत ‘हिस्स बूढीको खिस्स दाँत’ जस्तै भएको स्रोत बताउँछ ।

‘पहिले कार्यालय छिर्न दिएनन्,अहिले उनैबाट भ्रमण निर्णय प्रमाणित गराउनुपरेको छ । योभन्दा लाजमर्दो कुरा अरु के होला ?’,स्रोतले भन्यो ।

कार्यपालिका सदस्य बेखबर 

मेयर वैदेशिक भ्रमणमा जाँदा कार्यपालिका बैठकबाट अनुमोदन गराउनुपर्छ । तर,लामो समयदेखि महानगरको कार्यपालिका बैठक बस्न सकेको छैन । वडाध्यक्षहरुले बैठक बोलाउन मेयरको ध्यानाकर्षण गराए पनि उनले सुन्या नसुन्यै गरिरहेका छन् । बैठक बोलाउन आनाकानी गरिरहेका मेयरको वैदेशिक भ्रमणबारे कार्यपालिका सदस्यहरु बेखबर छन् । 

महानगरका सहायक प्रवक्तालाई नै यसवारे कुनै अत्तोपत्तो छैन । ध्रुवकुमार काफ्लेले मेयरको भ्रमणबारे कुनै जानकारी नभएको बताए । जनआस्थासँग अचम्म मान्दै भने,‘हो र ? मलाई त केही थाहा छैन ।’ वडा नम्बर २२ का वडाध्यक्ष चिनीकाजी महर्जनले मेयरको वैदेशिक भ्रमणबारे कुनै जानकारी नगराइएको बताए ।

भन्छन्,‘मेयर के गर्नुहुन्छ,कहाँ जानुहुन्छ ? हामीलाई केही थाहा हुँदैन । यो विषयमा पनि केही जानकारी भएन । हुन त कार्यपालिका बैठकबाट अनुमोदन गर्नुपर्ने हो । तर,बैठक नै बसेको छैन ।’

टिप्पणीहरू