महिला इन्सपेक्टरहरुमाथि अनेक आरोप, एक जना निलम्बित
नेपालीमा एउटा उखान छ, ‘पैसा देखेपछि महादेवको पनि तीन नेत्र । अर्थात् पैसा देखेपछि धेरैले मन थाम्न सक्दैनन् ।’ सत्य र निष्ठाको कुरा गर्ने कतिपय मानिस पनि पैसा देखेपछि ती सबै कुरा भुल्छन् । अहिले त्यस्तै भनेर चिनिएकी एउटी महिला फन्दामा परेकी छन् ।
आफूसँग कुस्त सम्पत्ति रहेको धाक लगाउने प्रहरी निरीक्षक बिनुकुमारी शाही ठकुरी ३० लाख घुस लिएको आरोपमा निलम्बनमा परेपछि उक्त उखानको चर्चा गर्न थालिएको छ । ठ्याक्कै त्यस्तै आरोप त होइन तर प्रहरीले निरीक्षक चोनु कुमारी गुरुङमाथि पनि प्रश्न उठाएको छ । अवकाशपछि घर जाने बेलामा उनीमाथि आरोपका स्वरहरु सुनिन थालेका हुन् ।
माइतीगाउँको ईलाका प्रहरी कार्यालय भोटेओडार लमजुङको इञ्चार्ज चोनु गुरुङले अस्ति जिल्ला प्रहरी कार्यालय लमजुङका प्रमुख डिएसपी रेशम बोहराको हातबाट प्रहरी हातामा निर्मित प्रतीक्षालयको उद्घाटन गराइन् । आन्तरिक स्रोत, प्रहरीकै श्रमदान भन्दा सर्वसाधारणको धेरै लगानीमा निर्माण समिति बिना प्रतीक्षालय बनाएपछि लाखौं घोटालाको जनगुनासो सुनिन थाल्यो ।
एकवर्षे आफ्नो अवधि पूरा गरेर हिँड्न लाग्दा प्रतीक्षालय निर्माणमा विभिन्न संघ संस्था र स्थानीयले मन फुकाएर सहयोग गरेका हुन् । तर सहयोगी मनहरुले जसरी मन फुकाएर धन दिएका थिए, चोनुले भने नफुकाएको गाईंगुईं शुरुदेखि नै चल्यो । शीलालेखमा केही दाताहरूको नाम लेखिएको छ, तर दाताले उपलब्ध गराएको रकम उल्लेख छैन ।
समुता गुरुङ समाज सुनपा–८ भोटेओडारबाट ७५ हजार, सुनपा–९ सिर्जनशील समाज पैरे, ७१ हजार संकल्प समाजबाट २० हजार, बुद्धकुमारी गुरुङ, सोमलाल गुरुङ, कृष्णबहादुर गुरुङ, सन्त गुरुङ, नवीन गुरुङलगायतले जनही ५–५ हजार दिएका छन् । प्रेम जिसी (लसुने खोला खानेपानी उपभोक्ता समिति) ले छ थान मोटो फलाम पाइप उपलब्ध गराएका छन् भने लिलामान श्रेष्ठ तनहुँ बाइसजागरकाले आठ सय थान मार्बल ढुङ्गा दिएको बताइन्छ ।
उता मस्र्याङ्दी गाउँपालिका खुदीका प्रेम गुरुङले मार्बल कटिङ ढुङ्गा दिए । भोटेओडारकै थापा कान्छाले इट्टा बालुवा, तीन ट्रिपर ढुंगा उपलब्ध गराएकोबारे कुनै लेखाजोखा नै नभएपछि अनेक आशंका गरिएको हो । कतिपयले प्रहरी निरीक्षकका पिएसओले फलाम बेचिएको हल्लै गरेका छन् । प्रतीक्षालय निर्माण अभियानलाई डिभिजन वन कार्यालय लमजुङले १० थान चाँपको थाम उपलब्ध गराएको थियो तर ती दाताहरुलाई सम्झेको देखिँदैन ।
समुदाय प्रहरी साझेदार भनिए पनि उद्घाटन समारोहमा कुनै जनप्रतिनिधिलाई बोलाइएन । विगतका प्रहरी प्रमुखहरूले समन्वय गरेका सोही स्थानका वडाध्यक्ष बिजेन्द्र थापा, मनराज गुरुङले सुइँको समेत पाएनन् । सोही विषयलाई लिएर सुनपा–८ वडाध्यक्ष बिजेन्द्र थापाले फेसबुकवालमा लेख्दै चोनुले आर्थिक अनियमितता गरेको आरोप लगाएका छन् ।
प्रहरीको आडमा ठेकेदारहरुले नदीजन्य खनिज पदार्थमा आँखा लगाएर राम्रै आम्दानी गरेको भन्नेहरु पनि भेटिएका छन् । तर आरोप लगाउनेहरुले दसी प्रमाण दिन सकेका छैनन् ।
टिप्पणीहरू