मध्यरातको सहमति अस्वीकार गर्दै सडक नछोड्ने घोषणा

मध्यरातको सहमति अस्वीकार गर्दै सडक नछोड्ने घोषणा

सरकार र नेपाल शिक्षक महासंघबीच हिजो भएको ९ बुँदे सहमतिप्रति असन्तुष्ट विद्यालय कर्मचारी परिषद्ले आन्दोलन जारी राख्ने भएको छ । 

हिजो रातिको सहमतिपछि शिक्षक महासंघले आन्दोलन स्थगित गरे पनि कर्मचारी परिषद्ले भने सडक नछोड्ने प्रष्ट पारेको हो । आजै केही बेरमा अन्दोलनको कार्यक्रम घोषणा गर्ने जनाइएको छ । 

बताइएअनुसार आज साँझ ७ बजेसम्म परिषद्ले आन्दोलनको कार्यक्रम सार्वजनिक गर्दैछ । २९ दिनसम्म चलेको आन्दोलनको समीक्षा र सरकारसँग भएका सहमतिबारे जानकारी दिन महासंघले आज मध्यान्न १२ बजे रत्नराज्य माध्यमिक विद्यालयमा बैठक बोलाएको थियो । 

केही ढिला गरी शुरु भएको बैठकमा महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले बोलिरहँदा विद्यालय कर्मचारीले आक्रोश पोखेका थिए । त्यसपछि बैठकस्थलमा होहल्ला मच्चिएको थियो । 

शिक्षक र विद्यालय कर्मचारीबीच धकेलाधकेलसमेत भएपछि प्रहरी बोलाएर शान्त पारिएको थियो । बैठक निष्कर्षमा नपुग्दै महासंघका अध्यक्ष सुवेदी प्रसुरक्षा घेरामा बाहिर निस्किएका थिए । 

आजको घटनाको सम्पूर्ण जिम्मा अध्यक्ष सुवेदीले नै लिनुपर्ने परिषद्का अध्यक्ष गंगाराम तिवारी बताउँछन् । 

सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने, ‘यसको मुख्य जिम्मेवार त्यही लक्ष्मीकिशोर सुवेदी, नानुमाया पराजुली, मदनराज जोशीहरु हुन्, उनीहरुले राति गोप्य सहमति गरेर शिक्षकहरुलाई भ्रम फैलाएका छन् । हामीलाई उनीहरुको स्वार्थ पूरा गर्नको लागि मात्र प्रयोग गरियो ।’

टिप्पणीहरू