सोमबार नियुक्त हुँदै नयाँ गभर्नर, निलमको प्रश्न प्रधानमन्त्रीलाई

सोमबार नियुक्त हुँदै नयाँ गभर्नर, निलमको प्रश्न प्रधानमन्त्रीलाई

सरकारले आगामी सोमबारको क्याबिनेट बैठकमा राष्ट्र बैंकको गभर्नर नियुक्त गर्ने तयारी थालेकोे छ । गभर्नर सिफारिस समितिमा रिक्त सदस्यमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई अस्तिको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको र आज अर्थ मन्त्रालयले पत्र हस्तान्तरण गरेको बताइन्छ । 

मन्त्रालय स्रोतका अनुसार आजै बिहान अर्थमन्त्री विष्णु पौडेलले समितिका सदस्यहरुलाई गभर्नर नियुक्तिबारे ब्रिफिङ गर्नुभएको छ । सदस्यमा अर्थविद् विश्व पौडेल पनि सदस्य छन् । 

आइतबार साँझ वा सोमबार बिहान बस्ने समितिको बैठकले तीन जनाको नाम सिफारिस गर्ने तयारी थालिएको स्रोतले बतायो । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका गुणाकर भट्टसहित अन्य दुई जनाको नाम सिफारिस गरिने बुझिएको छ । भट्टको नाममा यसअघि प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति भएको खबर बाहिरिएको थियो ।

सिफारिस हुने तीन जनामा कम्तीमा एक जना डेपुटी गभर्नरको नाम समावेश गर्ने तयारी छ । अर्थमन्त्री पौडेलेले भट्टको राजीनामा स्वीकृत गर्न कायम मुकायम गभर्नरको जिम्मेवारीमा रहेकी निलम ढुंगानालाई गरेको अनुरोध अस्वीकार गरेकाले उनको सट्टा डेपुटी बमबहादुर मिश्रको नाम सिफारिसमा पर्ने सम्भावना प्रबल छ । अन्यथा, दुवैजना डेपुटीको नामसहित सिफारिस गरेर क्याबिनेटले भट्टलाई गभर्नर नियुक्त गर्ने अर्को विकल्प पनि देखिन्छ । 

यसअघि सुशिल कोइराला नेतृत्वको सरकारले चिरञ्जीवी नेपाललाई गभर्नर नियुक्त गर्ने क्रममा तत्कालीन डेपुटी गोपाल काफ्ले र महाप्रसाद अधिकारीलाई पनि सिफारिस गरिएको थियो । अस्ति विराटनगर पुगेकी कायम मुकायम गभर्नर निलमले आफूलाई प्रधानमन्त्री केपी शर्मा ओलीले गभर्नरको वचन दिएकाले कुनै हालतमा कार्यकारी निर्देशकहरुको राजीनामा स्वीकृत नगर्ने उनी निकटस्थहरुले बताए ।

टिप्पणीहरू