भारतीय जासुसहरूको आगमन भरमार
क्यानाडामा खालिस्तानी नेता हरदिपसिंह निज्जरलाई गोली हानी मार्न लगाएको संगीन अभियोगसहित देश निकाला गरिएका भारतीय जासुसी कमाण्डर पवनकुमार राय आजकल काठमाडौं–दिल्ली किन आतेजाते गर्दैछन् कुन्नि ? वैशाख ४ गते राति ८ बजे तीन दिनका लागि काठमाडौं आएका उनी भारतीय वैदेशिक खुफिया संस्था रिसर्च एण्ड एनालाइसिस विङ् (रअ) को क्यानाडाका निम्ति स्टेशन म्यानेजर थिए ।
पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा उपचारका लागि बैंकक गएकै दिन वैशाख ६ गते दिल्ली फिर्ता भएका उनी नेपालस्थित भारतीय दूतावासको मिनिष्टर कन्सुलर दर्जामा कार्यरत रअ स्टेशन प्रमुख अन्सुल शर्मासँगै ४ गते नेपाल आउनुको खास कारण स्पष्ट हुन सकेको छैन ।
सुटुक्क आई ३ दिन बसेर दिल्ली फर्किंदा उनीसँगै दूतावासका सहायक सुरक्षा अधिकारी अनुरागकुमार सिंह पनि गएको राई स्कूलका प्रिन्सिपल कृति पाण्डे बताउँछन् । जुनियर अधिकृत स्तर (एएसओ) अनुराग प्रायः भुइँ तहमा काम गर्ने र विशेष समयमा मात्रै दिल्ली आवतजावत गर्ने भनी चिनिन्छन् ।
पञ्जाब प्रहरी सेवाको सन् १९९७ देखि एसएसपी दर्जाबाट प्रधानमन्त्रीको सचिवालयअन्तर्गत सहसचिव दर्जामा सरुवा भएका उनीसँग क्यानाडाबाट निश्कासित हुनुअघि खाडीको दुबईमा पनि काम गरेको अनुभव छ । रायलाई सिख पृथकतावादी आन्दोलनका अगुवा निज्जरलाई २०२३ जुन १८ तारिखका दिन गोली हानी मार्न मान्छे खटाएको आरोप लागेको थियो । निज्जरको हत्याका कारण क्यानाडा र भारतबीच सम्बन्धमा देखिएको दरार अहिलेसम्म कायमै छ ।
यसैबीच रअको नेपाल स्टेशनमा सेकेण्ड म्यान भएर फष्र्ट सेक्रेटरी अनिलकुमार गिरीको बदलीमा उपेन्द्रकुमार शर्मा आएको अनुमान गरिएको छ । उनी एयर इण्डियाको बैशाख १० गतेको उडानबाट काठमाडौं आएका हुन् । उपेन्द्रलाई कार्यभार हस्तान्तरण गर्ने गिरीले भने असोजमै नेपाल छाडेका थिए । भारत बिहारको रतौली स्थायी घर भएका ४२ वर्षीय उपेन्द्रको हालै मात्र खुफिया एजेन्सी रअमा पोस्टिङ भएको हो । उनले बिहारको राजधानी पटना र झारखण्ड राज्यमा वरिष्ठ उपरिक्षक (एसएसपी) भएर राम्रैसँग काम देखाएका थिए ।
टिप्पणीहरू