प्रचण्डको एकल बर्चस्वमा जनार्दनको धावा

प्रचण्डको एकल बर्चस्वमा जनार्दनको धावा

नेकपा (माओवादी केन्द्र)मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को एकल वर्चस्व क्रमशः कमजोर बन्दै गएको छ । झण्डै साढे तीन दशकदेखि निरन्तर नेतृत्वमा रहेका प्रचण्डलाई पछिल्लो समय पार्टी र विभिन्न मोर्चामा दोस्रो तहका नेताले चुनौती दिन थालेका छन् । यसले पार्टीमा उनको एकल वर्चस्व कमजोर हुँदै गएको देखाउँछ । चुनौती दिने नेताले नै पार्टी छोड्दा निर्विकल्प जस्तै बनेका प्रचण्डले यसअघि आफ्नो चाहनाअनुसार पार्टी चलाउँदै आएका थिए ।

उनको कारबाही भोग्नेहरूलाई टिकट मिल्दैनथ्यो भने समानुपातिक सांसदमा पनि तानिँदैनथ्यो । त्यस्तालाई राज्यका विभिन्न निकायमा गरिने नियुक्ति, राजदूत आदिमा पद मिल्दैनथ्यो । हरेक पटक बस्ने केन्द्रीय समिति बैठकमा प्रचण्डले आफू बिग्रिएको हुँदा सुध्रिने बाचा गर्थे । 

तर, पछिल्लो समय महाधिवेशनदेखि पार्टीका बैठकमा समेत उनको नेतृत्वप्रति गम्भीर प्रश्न उठ्ने गरेको छ । कतिसम्म भने स्थायी कमिटी बैठकमै प्रचण्डलाई सम्मानजनक बहिर्गमनको आग्रहसहित लिखित दस्तावेज पेश गरिएको थियो । उपमहासचिव जनार्दन शर्माले गत महाधिवेशनमा केही गम्भीर प्रश्न उठाएका थिए । चुनौती दिने डा. बाबुराम भट्टराई, मोहन वैद्य किरणलगायतका केही नेता बाहिरिएपछि कही समय निर्विकल्प बनेका प्रचण्डलाई पछिल्लो समय शर्माले निरन्तर चुनौती दिइरहेका छन् ।

यसैको पछिल्लो कडीका रुपमा माओवादी केन्द्रको पोलिट्ब्युरो सदस्य तथा पूर्वआपूर्ति मन्त्री शिवकुमार मण्डलले विराटनगर महानगर समितिको निर्वाचनमा प्रचण्ड पक्षधरलाई ठूलै झड्का दिएका छन् । त्यहाँ गत शनिबार अध्यक्षमा दिनेशकुमार राजवंशी (देव) ४६ मतसहित विजयी भएका छन् उपाध्यक्षमा चन्द्रबहादुर वन (३६ मत), धर्मलाल माझी (५८ मत) र सनोजकुमार यादव (४५ मत) सहित निर्वाचित भएका छन् । 

त्यसोत अखिल (क्रान्तिकारी)को चुनाव पनि सोचेअनुसार भएन । प्रचण्डको चाहना सकेसम्म निर्विरोध गर्ने थियो । तर, चुनाव भयो र नतिजा पनि फरक आयो । विद्यार्थीको निर्वाचनमा प्रचण्डको घोषित प्यानल थिएन । तर, केही उम्मेदवारलाई ‘हेडक्वार्टर’को साथ थियो । जनार्दन समूह बाहेककाले आफूहरूलाई संस्थापनको उम्मेदवार भनेर प्रचार गरेका थिए । तर, परिणाम इतर समूहका उम्मेदवारको पक्षमा बढी आयो । महासचिवसहित उपमहासचिवमा शर्मा समूहका सात उम्मेदवार विजयी भए । उपमहासचिवमा संस्थापन पक्षका विपिन पोखरेल र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ समूहका निरज श्रेष्ठ मात्रै विजयी भए । यसैगरी, कोषाध्यक्षमा फूलमाया रानामगर (खुशी) निर्वाचित भइन् । उनी पनि शर्मा समूहकै थिइन् । 

यसैगरी गत चैत १५ गते अर्को भातृ संस्था प्रेस सेन्टरको महाधिवेशन भयो । प्रचण्ड पक्षधरहरू टिका लगाउन चाहन्थे । तर त्यसो हुन सकेन । सहमति हुँदा अध्यक्षमा दोहोरिन चाहन्थे विष्णु सापकोटा जुगल । नभए निर्मल ज्ञवाली वा सन्तोष पौडेललाई उपाध्यक्ष बनाउने अन्तिम प्रयास थियो । संगठनको इतिहासमै पहिलो पटक निर्वाचन भयो । अध्यक्षमा नारायणकाजी श्रेष्ठ निकट कमल गिरीले बाजी मारे । कमललाई निर्विरोध हुनबाट रोक्न दिपेन्द्र रावल अघि सरे । उनले सम्मानजनक मत प्राप्त गरे । उनी जनार्दन शर्मा निकट भनेर ट्याग लगाइन्छ । 

जनयुद्धका सुप्रिम कामाण्डर प्रचण्डले आन्तरिक शक्तिमा आफू मजबुत हुनकै लागि डेपुटी कमाण्डर एवम् पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनलाई वरिष्ठ उपाध्यक्ष बनाएर भिœयाएका छन् । यसो गर्दा जनार्दन शर्माहरूलाई क्रस गर्न सकिने भित्री योजना रहेको बुझिएको छ । 
 

टिप्पणीहरू