नागढुंगा—नौबिसे सडक १० दिन बन्द

नागढुंगा—नौबिसे सडक १० दिन बन्द

त्रिभुवन राजपथअन्तर्गत धादिङको नागढुंगा—नौबिसे सडकखण्ड केही दिनका लागि बन्द हुने भएको छ । 

सडक निर्माणलाई तीब्रता दिन भोलिदेखि वैशाख ३१ गतेसम्म राति ११ देखि बिहान ३ बजेसम्म सवारीसाधन आवतजावत रोकेर काम गर्न लागिएको हो । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना जारी गर्दै सोबारे जानकारी गराएको छ । 

काठमाडौँबाट नौबिसेतर्फ जाने हलुका तथा भारी सवारीसाधनलाई राति नागढुङ्गा चेकपोष्टमा र नौबिसेबाट काठमाडौँतर्फ आउनेलाई खत्रीपौवा पुलमा रोकिने सूचनामा उल्लेख छ । अत्यावश्यकीय सवारी साधनबाहेक अन्य गाडी चलाउन नदिइने भएकाले वैकल्पिक मार्गको प्रयोग गर्न पनि सिडिओ कार्यालयले सुझाएको छ ।

‘त्रिभुवन राजपथको नागढुंगा—नौबिसे सडकखण्डको नागढुंगा—पिप्लामोड सडक निर्माण सुधार गर्नुपर्ने भएकोले मिति २०८१—०१—२२ गतेदेखि २०८१—०१—३१ ग्तेसम्म राति ११ बजेदेखि बिहान ३ बजेसम्म् सवारी साधन आंशिक रुपमा रोकी निर्माण कार्य गर्नुपर्ने भएकोले उक्त अवधिभर अन्य वैकल्पिक मार्गको प्रयोग गर्नुहुन अनुरोध छ’,  सूचनामा भनिएको छ । 

यो सडक संघीय राजधानी काठमाडौँ आवतजावत गर्ने मुख्य मार्ग हो ।
 

टिप्पणीहरू