रास्वपा सांसद संगठन बढाउँदै,विनिता म्याडम ज्यान बनाउँदै
सहकारी ठगी,संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा कारागारमा छन् । सभापति नै जेल गएपछि पार्टीको अवस्था भद्रगोल छ । पार्टी नेतृ तथा सांसद सुमना श्रेष्ठले सहमहामन्त्री पदबाट दिएको राजीनामा एक महिनादेखि अलपत्र छ ।
बारम्बारको विवादले पार्टीमाथि जनविश्वास घट्न थालेपछि कतिपय सांसद संगठन विस्तारमा लागेका छन् । उनीहरु विभिन्न जिल्ला पुगेर पार्टी निर्माणमा जुटिरहँदा कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने सांसद विनिता कठायत भने ‘बडी’ बनाउनमा व्यस्त छिन् । उनले ‘जिम’ गर्दै गरेको स्टोरी सामाजिक सञ्जालमा पोष्ट गरेकी छिन् ।
जुम्लाकी विनिता रास्वपाबाट कर्णाली प्रदेशको प्रतिनिधित्व गर्ने एक्ली सांसद हुन् । रास्वपाको सबैभन्दा बढी हरिबिजोग कर्णाली प्रदेशमै छ । रोचक पक्ष के भने,विनिता जुम्लाबाट भए पनि रास्वपाले अहिलेसम्म त्यहाँ जिल्ला समिति स्थापना गर्न सकेको छैन । स्पष्ट भाषामा भन्दा जुम्लामा रास्वपा शून्यबराबर छ ।
यस्तोमा कर्णालीमा रास्वपाको संगठन विस्तार गर्नुको साटो उनी जिम गएर फोटो खिच्नमै मस्त छिन् । रास्वपाबाट कर्णाली प्रदेशका एक नेताले पार्टीको प्रचारप्रसार गर्दै भूगोलमा भेटिनुपर्ने सांसद प्रायः ‘जिम’ मा अल्मलिएको गुनासो गरे । मन्त्रालय धाएर प्रदेश र आफ्नो जिल्लाका लागि बजेट माग्न उनलाई कुनै चासो नभएको ती पदाधिकारी बताउँछन् ।
जनआस्थासँग उनले भने,‘पार्टीको प्रचारप्रसार गर्दै भूगोलमा भेटिनुपर्ने जुम्ली सांसद जिममा भेटिन्छिन् । अहिले बजेट अधिवेशनको समय छ, जिल्ला,प्रदेशमा बजेटबारे छलफल गर्नुपर्थ्यों । बजेट माग्न मन्त्रालय धाउनुपर्थ्यों तर उनलाई बिहान–बेलुका फुर्सद नै छैन ।’ रास्वपाकी एक केन्द्रीय सदस्यले उनी पार्टीले भूगोलमा खटाउँदा पनि नजाने बताइन् ।
भन्छिन्,‘विनिताजीलाई ज्यानकै चिन्ता छ,पार्टी भनेको उहाँका लागि केही होइन । पार्टीले भूगोलमा खटाउँदा पनि खट्नुहुन्न उहाँ ।’
टिप्पणीहरू