‘स्वास्थ्यमन्त्री व्लुम्वर्ग पुरस्कार’ अर्को महिना
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूर्तीजन्य पदार्थको प्रयोग नियन्त्रणमा योगदान गर्ने व्यक्ति तथा संस्थालाई सम्मान गर्ने भएको छ ।
मन्त्रालयअन्तर्गत स्वास्थ्य कर कोषको सचिवालयले विश्व धुम्रपानरहित दिवसको अवसरमा आउँदो मे ३१ तारिखका दिन सम्मानस्वरूप ‘स्वास्थ्यमन्त्री व्लुम्वर्ग जनस्वास्थ्य पुरस्कार’ दिन लागेको हो । सचिवालयले आज सार्वजनिक सूचना निकालेर पुरस्कारका लागि आवेदन मागेको छ ।
सूर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्ने कार्यमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति, पत्रकार, संघसंस्था, कानून कार्यान्वयन गर्ने निकाय र त्यस्तो निकायमा कार्यरत कर्मचारीले आवेदन दिन सक्नेछन् । सचिवालयका अनुसार उत्कृष्ट ६ जनालाई पुरस्कार प्रदान गरिनेछ ।
सूचनामा भनिएको छ, ‘सूर्तीजन्य पदार्थको आयात, उत्पादन, बिक्रीवितरण तथा सेवन गर्ने कार्यलाई न्यूनीकरण, नियन्त्रण तथा नियमन गर्न वा धुम्रपान, सूर्ती सेवन गर्ने कार्यविरुद्ध जनचेतना फैलाउने कार्यमा वा सूर्तीजन्य पदार्थ नियन्त्रण र नियमनसम्बन्धी प्रचलित कानून कार्यान्वयनमा उल्लेखनीय योगदान पुर्याएका व्यक्ति, पत्रकार, संघसंस्था, कानून कार्यान्वयन गर्ने निकाय र त्यस्तो निकायमा कार्यरत कर्मचारीले आफूले पुर्याएको योगदानको विवरणसहित मिति २०८२–०१–३० गतेभित्र यस सचिवालयको इमेलमा आवेदन पेश गर्न अनुरोध छ ।’
टिप्पणीहरू