कृष्णनगरको सडकमा कालोपत्रे र आरसीसी ढलान
कपिलवस्तुको कृष्णनगर नगरपालिका–८ स्थित चेकप्वाइन्टदेखि पश्चिम बजारतर्फ जाने सडकको कालोपत्रे तथा आरसीसी निर्माण कार्य शुरु भएको छ । सडक निर्माण कार्यको शिलान्यास नगरप्रमुख रजत प्रताप शाहले गरेका हुन् ।
सो अवसरमा बोल्दै नगरप्रमुख शाहले नगरको समग्र विकासमा पालिका सक्रिय रहेको जनाउँदै वर्षायाममा आवतजावतमा समस्या हुने स्थानीयको समस्या समाधान हुने विश्वास व्यक्त गरेका छन् ।
करिब ७८० मिटर लम्बाइको सडक निर्माणको क्रममा पक्की नालीसहितको आरसीसी तथा कालोपत्रे सडक निर्माण गरिँदै छ । परियोजनाको कुल अनुमानित लागत २ करोड ४३ लाख १३ हजार २ सय १४ रुपैयाँ रहेको छ । निर्माण सम्झौता रकम भने १ करोड ६२ लाख ८८ हजार ३ रुपैयाँ रहेको जानकारी दिइएको छ ।

उक्त परियोजनाका लागि स्थानीय तहको राजश्व बाँडफाँटबाट १२ लाख ४० हजार, समानीकरण अनुदानबाट ९२ लाख ६० हजार, र प्रदेश समपूरक अनुदानबाट १ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ ।
सडक निर्माण कार्य के.बी. इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट प्रा.लि. र एन.बी. कन्स्ट्रक्सन जे.भी. को संयुक्त साझेदारीमा सम्पन्न हुँदै छ । निर्माण कम्पनीका व्यवस्थापक मिलन बिकका अनुसार परियोजना तोकिएको समयभन्दा अगावै सम्पन्न गर्ने लक्ष्यसहित काम थालनी भएको हो ।
प्राविधिक इन्जिनियर विनय गुप्ताका अनुसार २६० मिटर आरसीसी सडक, ५२० मिटर कालोपत्रे सडक तथा दुबैतर्फ ढकनसहितको नाली निर्माण गरिनेछ ।

टिप्पणीहरू