छिमेकीहरु लड्न थालेपछि सगरमाथा संवाद ‘अनिश्चित’
आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा आयोजना गर्न लागिएको सगरमाथा संवाद नयाँ भुमरीमा पर्न लागेको छ । भारत र पाकिस्तानबीच आक्रमण बढेपछि उक्त अन्तर्राष्ट्रिय कार्यक्रम सञ्चालनमा पर्नसक्ने असरबारे छलफल गर्न लागिएको छ ।
सगरमाथा संवाद आयोजनाका लागि हालसम्म भएका प्रगतिको जानकारी लिन र छिमेकमा उत्पन्न विशेष परिस्थितिका कारण कार्यक्रम आयोजना गर्न सकिने वा नसकिने, हुने वा नहुने भन्नेबारे मध्यान्ह १२ बजे सिंहदरबारमा छलफल गरिँदै छ । आजको बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा राखिएको छ ।
नेपालले सगरमाथा संवाद चार वर्षअघि नै आयोजना गर्न लागेको थियो । विश्वव्यापी कोभिड–१९ महामारीका कारण रोकिएको उक्त कार्यक्रम जेठमा गर्नुअघि भारत र पाकिस्तानबीच युध्दको सम्भावना बढेको छ । जलवायु परिवर्तनले पारेको विश्वव्यापी र क्षेत्रीय असरको बारेमा छलफल गर्दै समस्या समाधानको उपाय निकाल्ने उक्त संवादको मुख्य लक्ष्य छ ।
कार्यक्रममा पहिले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सहभागिता हुने अपेक्षा गरिएको थियो । तर,भारतले वन मन्त्रीसहितको उच्चस्तरीय टोली पठाउने संकेत दिएको थियो । पाकिस्तान पनि हिमालय क्षेत्रको एक मुलुक भएकाले उसकोसमेत उच्चस्तरीय सहभागिता आवश्यक ठानिन्छ । तर,ती मुलुकबाट सहभागिता जनाउने सम्भावना क्षीण हुँदै गएको र भारतका केही तथा पाकिस्तानको अधिकांश आकाशमाथि हवाई उडान प्रतिबन्ध लागेको अवस्थामा विदेशी पाहुना नेपाल आउँदा पर्नसक्ने असरबारे पनि आजको बैठकमा छलफल हुने बुझिएको छ ।
भारतको उत्तर पश्चिमका २५ वटा विमानस्थल बन्द गरिएका छन् । पाकिस्तानमाथिको आकाशमा प्रतिबन्ध लगाइएका कारण नेपाल आउने र यहाँबाट मध्यपूर्व तथा युरोपमा हुने उडानहरु प्रभावित भएका छन् । यसबाट सगरमाथा संवादका पाहुनाको आगमनमा पर्नसक्ने सम्भावनालाई ध्यानमा राखेर कार्यक्रम केही समय पछाडि धकेलिने सम्भावना बढी रहेको बताइन्छ ।
टिप्पणीहरू