सिन्धुपाल्चोकमा इ–सेवाबाटै जुवाको खाल

सिन्धुपाल्चोकमा इ–सेवाबाटै जुवाको खाल

नेपालको कानूनले सट्टेबाजीलाई बर्जित गरे पनि सिन्धुपाल्चोकमा भने खुलेआम हुँदै आएको छ । सदरमुकाम चौतारा, मुख्य व्यापारिक केन्द्र बाह्रबिसे र मेलम्चीका युवापुस्ता अनलाइन जुवाको कुलतमा फस्दै गएका छन् ।

यो खेल खेल्नका लागि पैसा लोड र विथड्र दुबै मोबाइल बैंकिङ वा इ–सेवा सेवाजस्ता वालेटबाट सजिलै हुने भएपछि उनीहरु अनलाइन क्यासिनो, वान एक्स बेटमा फस्न थालेका हुन् । सदरमुकाम चौताराका कतिपय युवा २४ सै घण्टा यो खेलमा झुम्मिरहेका देखिन्छन् । खेलबाट कतिपयले घरबार नै सकाएको उनीहरु आफैँ बताउछन् ।

आफ्नै मोबाइल सेटको क्रोम ब्राउजरमा ओपन गरेर ’वान एक्स बेट’ एप्लिकेसन डाउनलोड गरेपछि यो खेल सहजै खेल्न सकिने भएर पनि खेलप्रति युवाको आकर्षण बढेको हो । त्यसमाथि यो खेल खेलाएर कमिसन खान पल्केका एजेण्टहरुले उक्सालउने गर्दा पनि कुलतमा फस्ने गरेको बताइन्छ । 

खासगरी यो खेल खेल्ने अधिकांशले हार्ने र एकाउन्ट खोलिदिएबापत वा पैसा लोड गरिदिएबापत एजेन्टले राम्रै कमिसन बुझ्ने गरेका छन् । एक एजेन्टले मासिक एक लाखभन्दा माथि कमिशन बुझ्ने गरेको जानकारहरु बताउँछन् । चौतारामा मात्र मासिक पचास लाख भन्दामाथिको चलखेल हुने गरेको अनुमान छ ।

सरकारद्वारा प्रतिबन्धित यो खेल खेलाएको आरोपमा अन्यत्र केही व्यक्तिलाई प्रहरीले पक्राउ गरी अनुसन्धान थाले पनि सिन्धुपाल्चोकमा भने स्थानीय प्रशासनले खासै चासो दिएको देखिँदैन ।
 

टिप्पणीहरू