रिसोर्टमा अध्यक्ष कमरेड ढलेको रात

रिसोर्टमा अध्यक्ष कमरेड ढलेको रात

‘कमरेड’ वामपन्थीहरूको प्रिय शब्द हो । ‘कमरेड’ को सामान्य अर्थ साथी, दाैँतरी वा मित्र हो । विकासका क्रममा यस शब्दले विशिष्ट अर्थ वहन गरेकाले पछि आएर यो शब्द एउटै उद्देश्य र लक्ष्य बोकी हिँडेका र कम्युनिष्ट पार्टीमा लागेका व्यक्तिलाई सम्बोधनमा प्रयोग गर्न थालियो । 

कम्युनिष्ट पार्टीमा केन्द्रीय अध्यक्षदेखि तल्लो कमिटीका सदस्यसम्म सबैलाई ‘कमरेड’ भनेर सम्बोधन गरिन्छ । ‘कमरेड’ शब्दले समानता र सम्मान दुवै जनाउँछ । कम्युनिज्मको अनुयायीलाई कम्युनिष्ट भनिन्छ । ‘कम्युन’ बाट कम्युनिज्म र कम्युनिष्ट बनेको हो ।

‘कम्युन’ भनेको साझा खेतीपाती, साझा उत्पादन, समान वितरण र उत्पादित वस्तुमा साझा स्वामित्व रहेको समुदाय वा जनपद हो । उत्पादनका साधनमाथि सार्वजनिक स्वामित्व रहने हुँदा यस व्यवस्थामा प्रत्येक व्यक्तिले क्षमताअनुसारको काम र आवश्यकताअनुसारको दाम पाउँछन् र त्यहाँ सबै खालको शोषण समाप्त भई साम्य स्थिति रहन्छ ।

कमरेडहरुले रेस्टुराँ, रिसोर्ट र भट्टी जानै हुँदैन ? मसिनो खानै हुँदैन ? खान त खाउ तर बर्को ओढेर (लुकाए) ध्यू नाखा

तर आजकल यो शब्दलाई कम्युनिष्ट भन्नेहरूले नै दुरुपयोग गरिरहेका छन् । अझ भनौँ, नेपालमा आफूलाई सच्चा कम्युनिष्ट हुँ भनेर दावी गर्ने नेकपा माओवादी केन्द्रका नेता, त्यसमा पनि पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यक्तिगत जीवनमा यो लागू भएको पाइँदैन । दिनभरि कम्युनिष्ट र कमरेडका थेगो कहने प्रचण्ड साँझ परेपछि झम्केझोलमा झुम्ने गरेको तथ्य केही दिनअघि ललितपुरको लाँकुरीभञ्ज्याङस्थित महंगो टेरेस रिसोर्टको शौचालयमा ढलेपछि सबैतिर छताछुल्ल भयो । त्यति व्यस्त कमरेड ढलेको तीन दिनसम्म त कुनै सार्वजनिक कार्यक्रममा उपस्थित हुन पनि सकेनन् । कमरेडलाई साँझ परेपछि रक्सी नभई नहुने कुरा उनकै जनयुद्धका सहयोद्धा डा. बाबुराम भट्टराईबारे पत्रकार अनिल थापाद्वारा लिखित पुस्तक ‘अविराम बाबुराम’मा उल्लेख नैं छ ।

अहिलेका कम्युनिष्टहरू ‘अर्गानिक कम्युनिष्ट’ छैनन् । उनीहरू कहिले सिद्धान्तमा च्यूत भएर ढल्छन्, कहिले व्यवहारमा ढल्छन् त कहिले साँझ परेपछि रिसोर्ट, रेस्टुराँ र भट्टीमा ढल्छन्, कहिले स्वार्थका पोका खोसाखोस गर्दा भागबण्डा नमिलेर ढल्छन् र कहिले भाषण गर्दा जिब्रो चिप्लिएर ढल्छन् । त्यसैले उनीहरूको मुखले जतिसुकै आदर्शका भाषण ठोकेपछि ‘कम्युन’ चलाउनै सकेका छैनन् ।

आफू प्रधानमन्त्री छँदा सचिवालयमा कार्यरत एक आईटी विभागका ‘कमरेड’ प्रकाश रायमाझीले यही २३ वैशाखमा कृति कार्कीसँग एकदमै सादगी तवरबाट ‘जनवादी विवाह’ गरेका थिए । उक्त विवाह पार्टी हेडक्वार्टर पेरिसडाँडामा कमरेड प्रचण्डकै प्रमुख आतिथ्यतामा भएको थियो । लाखौँ–करोडौँ खर्च गरेर भड्किलो विवाह गर्ने प्रवृत्तिबीच यो जोडीले एउटा उदाहरण कायम गरेको भन्दै ‘सुप्रिमो कमरेड’बाट खुब प्रशंसा भयो । तर, त्यही जोडीले राति टेरेस होटलमा दिएको विवाह पार्टीले कमरेडलाई ढलायो, त्यो पनि शौचालयमा ! सो पार्टीमा मद्यपानको यथेष्ट व्यवस्था थियो । प्रचण्डले पनि चुस्की लिँदै खुबै रमाइलो गरेका थिए ।

यसबारे धेरै टिका टिप्पणी भए । तर कमरेडको सचिवालयमा रहेकी छोरी कमरेडबाट बुवा कमरेड बाथरुममा लडेर सामान्य घाइते हुनुभएको हो भन्ने फेसबुक स्टेटश जारी भयो । तर स्टेटशमा कहाँको शौचालय हो भन्ने उल्लेख थिएन । ‘क्ल्यु’ पाएपछि पत्रकारहरूले किन सत्यतथ्य खोज्न बाँकी राख्थे र ? कमरेडलाई ढाल्ने खुमलटारको शौचालय होइन रहेछ, त्यो त टेरेश रिसोर्टको रहेछ । तर त्यो ‘(बे)इमानी झम्केझोल’ कुन ब्राण्डको थियो ? यो भने सर्वत्र चासो र चर्चाको विषय बनेको छ । यसअघि संघीय संसदका सभामुख कृष्णबहादुर महरालाई ढालेर कारागारसम्म पुर्‍याउने ब्राण्डको नाम त सबैले चिने नैं । 

कमरेडका केही समर्थकहरू प्रतिप्रश्न गर्छन्, के कमरेडहरूले रक्सी खानै हुँदैन ? के कमरेडहरूले रेस्टुराँ, रिसोर्ट र भट्टी जानै हुँदैन ? के कमरेडहरूले मीठो–मसिनो खानै हुँदैन ? के कमरेडहरूले राम्रो घरमा बस्नै हुँदैन, राम्रा लुगा लगाउनै हुँदैन ? उत्तर यत्ति हो, खान त खाऊ तर बर्को ओढेर (लुकाए) घ्यू नखाऊ । लोकलाई चित्त बुझाएर, देखाएर खाऊ । नीति, विधि, पद्धति, कानुनअनुकूल खाऊ । हुन त कमरेडहरूले खान पो के बाँकी राखेका छन् र ? सुन खाए, घुस खाए, रक्तचन्दन खाए, ठगेर खाए, सिद्धान्त खाए, अझै के–के खानै बाँकी नै होला त्यो भने समयक्रमले देखाउँदै जाला ! 
 

टिप्पणीहरू