जहाँबाट अझै धेरै मौरी निकाल्ने मेयरको ध्याउन्न छ

जहाँबाट अझै धेरै मौरी निकाल्ने मेयरको ध्याउन्न छ

चितवनको कालिका नगरपालिकाले मौरीपालक किसानहरुलाई विभिन्न सामग्री वितरण गरेको छ । व्यवसायिक मौरी पालन प्रवर्द्धन गर्ने उद्देश्यका साथ नगरपालिकाले स्थानीय किसानलाई सामग्री वितरण गरेको हो । 

कालिका व्यवसायिक मौरी कृषक समूहद्वारा आज आयोजित एक कार्यक्रममा मेयर विनोद रेग्मीले उक्त सामग्री किसानहरुलाई हस्तान्तरण गरेका हुन् । नगरपालिकाका अनुसार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत आर्थिक वर्ष २०८१–०८२ मा सञ्चालित नयाँ मौरी पकेट विकास कार्यक्रमका लागि २४ लाख रुपैयाँ बराबरको उपकरण वितरण गरिएको छ । 

यसमा व्यवसायीसँग ५०–५० प्रतिशत साझेदारी हुने नगरपालिकाले जनाएको छ । कार्यक्रममा नगर प्रमुख रेग्मीले कालिका मुलुककै सबैभन्दा बढी मह उत्पादन गर्ने पालिका रहेको भन्दै मौरी पालक कृषकको स्तरोन्नति तथा व्यवसाय वृद्धिका निम्ति नगरपालिका सधैं तयारी अवस्थामा रहेको बताए । 

मह निर्यातका निम्ति विभिन्न क्षेत्रका व्यक्ति तथा विदेशमा रहेकासँग समेत सहकार्य गरिरहेको उनको भनाइ छ । मेयर रेग्मीले भने, ‘विदेशमा मह पठाउने कार्यमा हामी तयारी अवस्थामा छौं । मैले व्यक्तिगत रुपमा कुराकानी गरेको छु,संस्थागत रुपमा पनि समन्वय अघि बढिरहेको छ ।’

मह व्यवसायलाई अझ व्यवसायिक बनाउनुपर्नेमा जोड दिँदै उनले थपे, ‘यो व्यवसाय तपाईंले मात्र होइन,तपाईंको छोराछोरीले समेत गर्ने गरी अघि बढाउनुपर्छ । यो पुस्ता हस्तान्तरण हुन जरुरी छ ।’ 

कालिकालाई नेपालभर महको लागि चिनाउन आवश्यक रहेको उल्लेख गर्दै मेयर रेग्मीले यसका लागि सूचना प्रविधि तथा आधुनिक उपकरणको उपलब्धतामा नगरपालिकाले सहयोग गर्ने र कृषकलाई दिइँदै आएको अनुदान बढाउने प्रतिबद्धतासमेत जनाए ।

टिप्पणीहरू