श्रीमतीहरुमाथि निर्मम प्रहार

श्रीमतीहरुमाथि निर्मम प्रहार

चितवनको भरतपुरमा हिजो दुई ठाउँमा श्रीमानले श्रीमतीलाई कुटेर घाइते बनाएका छन् । भरतपुरको वडा नं. १८ र १९ मा छुट्टाछुट्टै घटना भएको हो ।

पहिलो घटना दिउँसो सवा १२ बजेतिर भएको थियो– भरतपुर–१८, जगतचोक बस्ने ४१ वर्षीय खेम ओझाले आफ्नै श्रीमती वर्ष ३० की शान्ति ओझालाई दाउराको चिर्पटले टाउकोमा हान्दा श्रीमती ओझा घाइते भएर गुन्जनगर स्वास्थ्य चौकी भुवनबस्तीमा उपचार भइरहेको बताइएको छ । उनको उपचारमा सासू दुर्गादेवी ओझा संलग्न रहेको र कुटपिट गर्ने श्रीमान प्रहरी नियन्त्रणमा रहेको जनाइएको छ । श्रीमान् ओझाको विगत १० वर्षदेखि नै मानसिक सन्तुलन ठिक नभएकोसमेत बुझिएको छ ।    

यसपछि अर्काे घटना भरतपुर–१९ मा साढे पाँच बजेतिर भएको हो । चितवनकै माडी–६ घर भई यहाँको हेल्थपोष्ट बजारमा डेरा गरी बस्ने वर्ष ५० को सुब्बे कामीले घरायसी विवादको क्रममा श्रीमती लक्ष्मी बिकलाई ढुंगाले टाउकोमा प्रहार गरेका थिए । यसबाट घाइते भएकी ४८ वर्षीया लक्ष्मीको सरकारी अस्पताल भरतपुरमा उपचार भइरहेको र घाइते अवस्था मध्यम रहेको प्रहरीले बताएको छ । उनको उपचारमा कुटपिट गर्ने श्रीमान नै संलग्न रहेको पनि जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी गराएको छ ।

टिप्पणीहरू