५० लाखको कोषलाई बढाएर लिम्बुवान केन्द्रले एक करोड पुर्यायो

५० लाखको कोषलाई बढाएर लिम्बुवान केन्द्रले एक करोड पुर्यायो

लिम्बुवान अध्ययन केन्द्र किरात याक्थुङ चुम्लुङले एक करोड रुपैयाँको प्राज्ञिक कोष खडा गर्ने भएको छ । यसअघिको ५० लाख अपर्याप्त भएपछि दोब्बर गरेर एक करोड पुर्याउन लागिएको बताइएको छ । 

लिम्बुवानसम्बन्धी सबै क्षेत्र र विषयहरुमा सम्बन्धित पक्ष, व्यक्ति वा निकायसँग सहकार्यसँगै साझेदारीमा अध्ययन, अनुसन्धान र प्रकाशन गर्ने उद्देश्यअनुरुप ताप्लेजुङ घर भई हाल क्यानडामा रहेका विष्णुदत्त आङ्बुआङ परिवारको सहकार्यमा २०७३ सालमा ५० लाख रुपैयाँको ‘विष्णुत्त–सरस्वती आङ्बुआङ प्राज्ञिक कोष’ खडा गरिएको थियो । 

कोषबाट वर्षेनी दुई जना महिला र पुरुष अध्येतालाई अनुसन्धानवृत्ति, एक अध्येतालाई विद्धतवृत्ति र प्रत्येक दुई–दुई वर्षमा एक प्रकाशित कृतिलाई प्राज्ञिक पुरस्कार प्रदान गरिँदै आएको छ । यस क्रममा ५० लाख रुपैयाँको कोष रकम अपर्याप्त देखिएपछि बढाउन लागिएको लिम्बुवान अध्ययन केन्दले जनाएको छ । 

केन्द्रका अध्यक्ष भगिराज इङ्नामले कोषदाता आङ्बुआङ परिवारबाटै थप ५० लाख रुपैयाँ बढाएर एक करोडको कोष खडा गर्न थालिएको जानकारी दिए । उनका अनुसार भोलि ललितपुरमा एक कार्यक्रममार्फत गरी सोबारे घोषणा गरिनेछ । 

साथै, ‘विष्णुदत्त–सरस्वती आङ्बुआङ प्राज्ञिक पुरस्कार, २०८१’ स्वर्गीय.कृष्णविक्रम नेम्बाङको लिखित तथा मुन्धुम एकाडेमीबाट प्रकाशित ‘लिम्बु इतिहासः तिब्बती, लेप्चा, कोच, सेन र राय सम्बन्ध (२०८०)’ लाई नियमानुसार एक लाख रुपैयाँ प्रदान गरिने पनि केन्द्रले बताएको छ ।

टिप्पणीहरू