जन्मथलोमा प्रथम सशस्त्र प्रमुखको शालिक

जन्मथलोमा प्रथम सशस्त्र प्रमुखको शालिक

सशस्त्र प्रहरी बल, नेपालका संस्थापक महानिरीक्षक स्व. कृष्णमोहन श्रेष्ठ र उनकी धर्मपत्नी स्व.नुडुप श्रेष्ठको अर्धकदको शालिक अनावरण गरिएको छ । सशस्त्र प्रहरी बल र संखुवासभा चैनपुर नगरपालिकाको संयुक्त पहलमा निर्माण गरिएको शालिक महानिरीक्षक राजु अर्यालले एक समारोहका बीच आज बिहान अनावरण गरेका हुन् । 

समारोहलाई सम्बोधन गर्दै महानिरीक्षक अर्यालले श्रेष्ठको योगदानबारे चर्चा गरे । श्रेष्ठले देखेको सपनालाई साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरुलाई इमानदारीपूर्वक पूरा गर्न संगठन अहोरात्र खटिँदै आएको उनले बताए । महानिरीक्षक अर्यालले भने,‘उहाँले देखाएकै बाटो पछ्याएर संगठन अघि बढिरहेको छ । उहाँको सपना साकार पार्न र सरकारले सुम्पिएको दायित्वहरु पूरा गर्न हामी प्रतिबद्ध भएर लागिपरेका छौं ।’ 

चैनपुर नगरपालिकाका मेयर कृष्णकुमार तामाङ्ग,उपमेयर एलिना श्रेष्ठ, पूर्वसशस्त्र महानिरीक्षक दुर्जकुमार राई, नेपाल पूर्व सशस्त्र प्रहरी संघका अध्यक्ष नारायणबाबु थापालगायतले उनीप्रति श्रद्धासुमन अर्पण गर्दै सम्मान व्यक्त गरेका छन् । कार्यक्रम सञ्चालन श्रेष्ठ प्रधानाध्यापक हुँदाका विद्यार्थी तथा हालका प्रधानाध्यापक गोविन्दमान तामाङ्गले गरेका हुन् । 

चैनपुरमा जन्मिएका श्रेष्ठको शालिक अनावरण कार्यक्रममा चैनपुर पुगेका महानिरीक्षक अर्यालले उनको जन्मघर, पढेको र पढाएको विद्यालय, बहालवाला र पूर्व सशस्त्र प्रहरी अधिकारीहरुको घर अवलोकन गरेका थिए । त्यसैगरी, श्रेष्ठको परिवारका सदस्य, आफन्तजनसँग घरमै पुगेर भेटघाट गरेका हुन् ।

समारोहमा स्थानीय तहका जनप्रतिनिधि, श्रेष्ठकी बहिनी तथा प्रतिष्ठानकी अध्यक्ष निर्मला प्रधान, परिवारका सदस्य, प्रमुख जिल्ला अधिकारी दिव्यराज पोखरेल, जिल्ला सुरक्षा समितिका पदाधिकारी, पूर्वप्रहरी महानिरीक्षक कुबेरसिंह राना, सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी पूर्व संघका अध्यक्ष पूर्वअतिरिक्त महानिरीक्षक नारायणबाबु थापा, नम्बर १ बाहिनीका बाहिनीपति कुमार न्यौपाने, पूर्व नायव महानिरीक्षक दिलीपकुमार श्रेष्ठ, खड्गबहादुर राईलगायतको उपस्थिति थियो ।

माओवादी द्धन्द्धकालको बेला २०५९ माघ ११ गते मर्निङ्ग वाकका दौरान श्रेष्ठ दम्पत्तिलाई ललितपुर, एकान्तकुनाको रिङ्गरोड खण्डमा लडाकुहरुले गोली हानेर मारेका थिए । त्यसपछि सरकार र माओवादीवीच केही समय युध्दविराम भयो ।

टिप्पणीहरू