गृहमन्त्रीलाई राजीनामा गराएरै छाड्ने प्रचण्डको जिकिर
प्रमुख प्रतिपक्ष नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले राजीनामा दिने विश्वास व्यक्त गर्नुभएको छ ।
त्यसका लागि प्रतिपक्षका सांसदले वातावरण बनाउने उहाँको भनाई छ । गृह जिल्ला चितवन पुग्नुभएका प्रचण्डले सञ्चारकर्मीसँग कुराकानी गर्दै कर्मचारीमाथि दोष थुपारेर गृहमन्त्री लेखक आरोपबाट पन्छिन नमिल्ने बताउनुभयो ।
‘यो गृहमन्त्रीसँग मात्रै जोडिएको विषय होइन, सिंगो सरकारसँग पनि सम्बन्धित छ’, उहाँले भन्नुभयो, ‘प्रतिपक्ष दलहरूले एकजुट भएर यो विषयलाई गम्भीर रूपले उठाइन्छ, यो सामान्य र चानचुने विषय छैन ।’
गृहमन्त्रीको कारण सरकार ढल्ने अवस्था आउँछ त ? भन्ने सञ्चारकर्मीको प्रश्नमा उहाँले त्यो सत्ता गठबन्धन दलहरुको हातमा रहेको बताउनुभयो । ‘त्यो त अहिले भन्न सक्दिनँ, तर तत्कालको लागि कम्तीमा प्रतिपक्ष दलहरूले गृहमन्त्रीको राजीनामा गराउने स्थितिसम्म चाहिँ बनाउँछौ ।’
यता, बिहान ११ बजे शुरु भएको प्रतिनिधि सभामा प्रतिपक्षका सांसदले गृहमन्त्रीको राजीनामा माग माग्दै बैठक अवरुद्ध पारेका छन् । गृहमन्त्री लेखकले राजीनामा दिएर मार्गप्रशस्त नगर्दासम्म र छानविनको लागि उच्चस्तरीय आयोग नबनेसम्म संसदको नियमित प्रक्रिया अघि बढ्न नदिने उनीहरुको अडान छ ।
टिप्पणीहरू