‘गृहमन्त्रीले जवाफ होइन, राजीनामापछि बयान दिने’
प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र)ले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकले संसदमा बोल्न पाउने अधिकार गुमाइसकेको बताएको छ । सांसद राजन दाहालले अब गृहमन्त्रीले भाषणभन्दा पनि बयान दिनुपर्ने बताएका हुन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले आरोपीले भाषण गर्छ कि बयान दिन्छु ? भनेर प्रश्न समेत गरे । ‘गृहमन्त्रीज्यूले अब जवाफ दिने होइन क्या, राजीनामा दिएर बयान दिने हो’, उनले भने, ‘आरोपीले कानुनी कठघरामा गएर, अख्तियारले बोलाएको बेलामा खुरुखुरु बयान दिने हो नि, संसदमा भाषण गर्ने होइन ।’
गृहमन्त्री लेखकले राजीनामा नदिँदासम्म संसद बैठक अघि बढ्न नदिने उनको अडान छ । ‘उहाँले राजीनामा दिनुपर्छ, यो हाम्रो स्पष्ट माग हो, यो भन्दा दायाँबायाँ हुँदैन’, उनले थपे ।
राष्ट्रिय स्वतन्त्र पार्टीले पनि गृहमन्त्री लेखकको राजीनामा माग गर्दै उच्चस्तरीय छानविन समितिको अडान दोहोर्याएको छ । सांसद शिशिर खनालले गृहमन्त्रीलाई औपचारिक जवाफ दिएर पन्छिने प्रयास नगर्न चेतावनी समेत दिएका छन् । केहेबेर अघि बैठकमा बोलेको कुरा दोहोर्याउँदै भने, ‘गृहमन्त्रीले अब जवाफ दिने होइन, राजीनामा दिएर छानबिनमा सघाउने हो । उच्चस्तरीय छानबिन समिति बनाएर यो प्रकरणमाथि गम्भीर अनुसन्धान हुनुपर्छ ।’
आजको बैठकको शुरुमै प्रतिपक्षी दलका सांसदहरुले गृहमन्त्रीको राजीनामा माग गर्दै नाराबाजी गरेपछि सभामुख देवराज घिमिरले आधा घण्टाको लागि स्थगित गर्नुभएको बैठक सूचारु हुन सकेको छैन ।
टिप्पणीहरू