धाँधलीपछि युवा संघको नेतृत्वमाथि प्रश्न : ‘हारको डरले यति गम्भीर बेइमानी ? कि लोभ ?’
नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघको मतदानमा धाँधली भएको खबर बाहिरिएको छ । बन्दसत्रमा सहभागी नभएका महाधिवेशन प्रतिनिधिको नाम र फोटो दुरुपयोग गरेर दोस्रो व्यक्तिलाई मतदात गर्न लगाएको आरोप छ ।
नयाँ नेतृत्वको लागि निवर्तमान अध्यक्ष क्षितिज थेवे र निवर्तमान महासचिव सुमन पुरी प्यानल नै बनाएर प्रतिस्पर्धामा उत्रिएका छन् । बिहानदेखि शुरु भएको मतदानमा थेवे समूहले महाधिवेशनमै सहभागी नभएका शेख जैद आलम (रौतहट)को नाम र फोटो प्रयोग गरेर अर्कै मान्छेलाई मत हाल्न लगाएको पुरी समूहको दावी छ ।
अध्यक्षका उम्मेद्वार पुरीले मतदानमा बेइमानी भएको बताएका छन् । थेवे समूहले तयार पारेको फर्जी प्रतिनिधि कार्ड सार्वजनिक गर्दै उनले भनेका छन्, ‘एक जना मान्छे उपस्थित छैन, उसको नाममा कार्ड बनाइन्छ, कार्डमा फोटो टाँसिन्छ, त्यही कार्ड लिएर अर्का मान्छे मतदान गर्न आउँछ, फर्काइन्छ, त्यसपछि प्रतिनिधि व्यवस्थापनले फेरि अर्को कार्ड बनाएर पठाउँछ, यो के हो ?’
स्वस्थ प्रतिस्पर्धाको नाममा थेवे समूहले धाँधली गरेको पुरीको दाबी छ । ‘हारको डरले ? यति गम्भीर बेइमानी, अनि पनि जित्नुपर्छ भन्ने लोभ ?’, उनले थपेका छन् ।
फर्जी कार्ड भेटिएसँगै अहिले मतदान रोकिएको बताइएको छ ।
टिप्पणीहरू