सरकारमा बस्ने, गनगन गरिराख्ने ?
अन्तरपार्टी प्रतिस्पर्धामा नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाको विरोध यात्राले छलाङ्ग मारेको छ । खासगरी पार्टी सभापति शेरबहादुर देउवा र गठबन्धनका प्रधानमन्त्री केपी शर्मा ओलीप्रति उनको प्रहार तिक्षण बन्दै गएको छ । यसले मेरो मनमा केही जिज्ञासा उत्पन्न भएको छ ।
तर, पहिले यस यथार्थलाई स्मरण गरौं कि काँग्रेस वस्तुतः सत्तासँग नजिक रहने पार्टी हो । वि.सं. २००७ सालताका गोरखा दलका एकाध अपवादका कुरालाई नजरअन्दाज गर्ने हो भने राणा ‘काँग्रेस संयुक्त सरकारबाट बिपी कोइराला बाहिरिनुको सर्वाधिक मुख्य कारण सत्ताको सञ्चालनमा निर्वाध सुविधाको उपयोग गर्न नपाउनु हो ।’ यसरी नै पछिल्लो समय अर्थात वि.सं. २०५१ पश्चातको संसदमा कुनै एक दलको बहुमत नरहेको अवस्थाको अस्थिरतामा काँग्रेसको भूमिकाबाट पनि सत्ता र प्रेम बुझ्न सकिन्छ । डा. कोइरालाले यसलाई नदेख्नुको कुनै आधार छैन ।
अब अगाडि बढौं
संसदमा काँग्रेसको संख्यात्मक स्थितिले एकल सरकारको कुनै सम्भावना छैन, कुनै पनि हालतमा । यदि, काँग्रेसलाई सत्तामा रहनु छ भने पर्याप्त विकल्प छन् :
पहिलो, माओवादी र काँग्रेसको गठबन्धन सरकार । यसको नेतृत्व जसले गर्दा पनि हुन्छ । यसअघि यी दुई पार्टीको सरकार बनिसकेको छ । माओवादीले काँग्रेसको नेतृत्व मानेन । काँग्रेसले माओवादीको नेतृत्व सहेन । यसमा भारत र चीनको इच्छाले पनि उत्तिकै प्रभाव पारेको छ ।
दोस्रो, माओवादी वा एमालेको नेतृत्वमा सरकार । यस्तो सरकार बनेकै हो । यस अवस्थामा काँग्रेसको भूमिका प्रतिपक्षको थियो, जुन काँग्रेसका लागि सह्य थिएन । अन्ततः काँग्रेस त्यस गठबन्धनमा विभाजनको लोभीपापी खेलबाट आफूलाई राजनीतिक ब्रम्हाचार्यको अनुशासनमा बाँध्न सकेन ।
वामपन्थीसँग सत्ता सहकार्यका बारेमा डा.कोइरालाको विचार स्थिर देखिएन । माओवादी नेतृत्वको बेला माओवादीको काँधमा बन्दुक राखेर काँग्रेसउपर प्रहार, एमाले नेतृत्वको बेला तिनको आलोचना गरेर देउवालाई तारो बनाउन खोजेजस्तो देखियो । फेरि केन्द्रमा एमालेको विरोध र प्रदेशमा उनै एमालेको सहयोगमा आफ्ना सहकर्मीको सरकार बनाउनेजस्तो विरोधाभास पनि देखिएकै हो ।
तेस्रो, अब एमाले र काँग्रेसको गठबन्धन । जुन अहिले कायम छ, चल्दैछ । सरकारको नेतृत्व अहिले एमालेसँग छ, प्रधानमन्त्री केपी शर्मा ओलीको अद्यावधिक भनाइअनुसार केही समयपछि काँग्रेसको सभापतिमा नेतृत्व जानेछ । काँग्रेसभित्र सरकारको नेतृत्व यही संसदमा वा पार्टीको यही अवस्थामा डा. कोइराला कहाँ जाने कहीँ–कतै कुनै सम्भावना देखिँदैन ।
यस सन्दर्भमा मेरो जिज्ञासा छ, डा.कोइराला के चाहन्छन् ? उनको कित्ता के हो ? उनले काँग्रेसको भूमिका सत्तापक्ष–प्रतिपक्ष के रहोस् भन्ने चाहेको हो ? उनले सरकारमा आफ्ना नेताहरुलाई नपठाएर व्यवहारतः देखाउन सकेका छैनन । यदि उनले सरकारमा नेतृत्व एमालेको र हैकम वा हालिमुहाली काँग्रेसको खोजेको हो भने त्यो किमार्थ पनि सम्भव छैन । स्वयम्, उनको काँग्रेसले पनि आफ्नो पालोपैँचोमा यसो हुन दिने छैन । यो अभ्यास पुरानै हो ।
वामपन्थीसँग सत्ता सहकार्यका बारेमा डा.कोइरालाको विचार स्थिर देखिएन । माओवादी नेतृत्वको बेला माओवादीको काँधमा बन्दुक राखेर काँग्रेसउपर प्रहार, एमाले नेतृत्वको बेला तिनको आलोचना गरेर देउवालाई तारो बनाउन खोजेजस्तो देखियो । फेरि केन्द्रमा एमालेको विरोध र प्रदेशमा उनै एमालेको सहयोगमा आफ्ना सहकर्मीको सरकार बनाउनेजस्तो विरोधाभास पनि देखिएकै हो ।
भ्रष्टाचारको बारेमा उनको विचारमा पनि अलमल देखिन्छ । व्यक्तिहरूका आधारमा कमानबाट बाण तान्ने शक्तिको फरक–फरक प्रयोग गर्ने गरिएको बुझिन्छ । पूर्वगृहमन्त्री बालकृष्ण खाँण मुछिएको भुटानी शरणार्थी प्रकरणमा उनी पहिले मौन थिए । जब देउवाले खाँणलाई जोगाएनन्, स्वयं खाँण पनि देउवाको विरोध गर्न थाले । उनको खाँणसँग सम्पर्क बढ्दै गयो । आजकल कोइराला र खाँण एकसाथ रहेको सुनिन्छ ।
हालै मुद्दामा परेका अर्का एक प्रमुख नेता मोहनबहादुर बस्नेत पनि यसअघि देउवासँगै थिए । यतिखेर उनको पनि देउवासँग दूरी बढ्दै गएको छ । बस्नेतको हकमा पनि कोइराला चुईंक्क बोलेका छैनन् । अहिलेसम्म उनले कुनै प्रतिक्रिया दिएका छैनन् । वर्तमान गृहमन्त्री रमेश लेखकको हकमा भने उनको प्रतिक्रिया निकै कठोर छ ।
जसका कारण उनी पार्टीभित्रै विवादमा तानिएका छन् । उनले लेखकको राजीनामा मागेका छन् । यसै विषयले उनीसँग स्पष्टीकरण सोधिने देखिएको छ । लेखकको राजीनामा माग्दा बाहिर चर्चामा आएका कोइरालाको पार्टीभित्रको अवस्था भने कमजोर छ ।
अनि यसलाई पनि जोडेर हेरौं, लेखकको मानव तस्करी तथा इमिग्रेशन प्रकरणमा जुन तह तथा जस्तो सदृश्य तथ्यहरूको आधारमा संलग्नता देखिन्छ, देउवाकी श्रीमती तथा वर्तमान परराष्ट्रमन्त्री डा. आरजू राणा देउवाको नाम मुछिएको भुटानी शरणार्थी मुद्दामा के–कति फरक तथ्यहरू थियो ?
लेखकको संलग्नताजस्तो बलियो मसिनो आधारहरू चर्चामा आएको छ ? यसभन्दा आरजु म्याडमको त्यस मुद्दामा संलग्नताका आधार के कम थियो ? यसमा उनले देउवालाई पछार्न अपेक्षाकृत कमजोर नेता लेखकलाई ठूलो अचानोमा लडाउन रणनीतिक रूपमा ठीक ठानेका छन् ।
पार्टी सभापति देउवाका विपक्ष उनको एउटा भरपर्दो विकल्प–आफू अनुकूल उपयुक्त वातावरण बनाउनु हो । आफ्नो पक्षलाई पर जानबाट रोकेर थप शक्तिको आर्जन तथा सुरक्षणको रणनीति तर्जुमा गर्नु नै उनको लागि बुद्धिमानी साबित हुनेछ ।
यद्यपि, यसका निम्ति केही लेख्नु मेरो काम तथा उद्देश्य होइन । मैले त यति नै भन्न चाहेको हुँ कि उनको कुराभन्दा पनि बढी ‘गनगन’ हुन लागेको हो ? सरकारदेखि लिएर सबै पार्टीको विषयमा उनका असन्तुष्टि छन् । सरकार पनि चाहिने, गनगन पनि गरिराख्ने कर्णप्रिय भयो र डा.साहेब ?
टिप्पणीहरू